सिमकोट : हुम्ला स्वास्थ्य सेवा कार्यालय अन्तर्गतका जिल्ला अस्पतालमा सात महिनादेखि स्वास्थ्यकर्मी र कार्यालय सहयोगी पारिश्रमिक विनै काम गर्दै आएका छन् । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयबाट करार सेवा दरबन्दी अनुसारको बजेटको ब्यवस्था नहुँदा स्वास्थ्यकर्मी पारिश्रमिक विनै काम गर्न बाध्य हुँदै आएका छन् ।
अस्पतालमा हाल दैनिक काममा खटिदै आएकी स्वास्थ्यकर्मी कुशुम रावतले गत साउन यता पारिश्रमिक विनै काम गर्नु परिरहेको बताइन् । उनले साउनबाट करार सेवा नाममा नियुक्त पनि नआएको र काम नगर्न समेत नभनेको कारण हाल पनि पारिश्रमिक विनै काम गर्नु परिरहेको जानकारी दिइन् ।
उनी जस्तै २१ जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगले अस्पतालमा दैनिक काम गरि रहेका छन् । उनले भोगो पेटले काम गर्न नसकिने बताउँदै जे गरेपनि छिटो निर्णय गर्नुपर्ने समेत बताइन् ।
यसमा चार जना एचए, स्टाप नर्स एक जना, ल्याव टेक्निसियन एक जना, एक्सरे एक, जना फार्मेसी एक जना आठ जना कार्यालय सहयोगीले पारिश्रमिक मात्र नभएर साउनयता म्याद थपको नियुक्ति पत्र समेत पाएका छैनन ।
अस्पतालमा कार्यरत पारिश्रमिक विनै काम गर्दै आएका २१ जना मध्ये पाँच जना ओटीमा काम गर्नेलाई भने केही समय अगाडी कार्यालयले नियुक्ति पत्र थमाएको अर्की स्वास्थ्यकर्मी निमा लामाले बताउँदै बाँकी अरुले भने हालसम्म नियुक्ति समेत नपाएको बताइन् । उनले पनि नियुक्ती विनै काम गर्दै आएकी छन् ।
हालसम्म काम गरेका स्वास्थ्यकर्मीहरुलाई पारिश्रमिकको व्यवस्था गरेर आगामी निर्णय समेत छिटो गर्नुपर्ने देखिएको हो । यस सम्बन्धमा कार्यालय प्रमुख प्रेम बहादुर सिंहले प्रदेशबाट स्वास्थ्य सेवा कार्यालयको करार सेवाको दरवन्दी अनुसार बजेटको व्यवस्था नभएको कारण सात महिनायता स्वास्थ्यकर्मीले पारिश्रमिक विनै काम गरिरहेको बताए ।
प्रदेशाबाट म्याद थपको परिपत्र समेत नआएको कारण हटाउन पनि नसकिएको र काम गरि रहेको कारण पारिश्रमिक शिर्षकमा बजेटको माग कार्यालयले गरेको छ ।
उनले हालसम्म पारिश्रमिक नपाएका स्वास्थ्यकर्मी मध्ये केहीले असोजबाट र केहीले पुसबाट काम गर्न छोडे पनि धेरैले भने हाल पनि अस्पतालमा आफ्नो सेवा दिइरहेको बताए ।