सुर्खेत : सुर्खेतमा कोरोनाविरुद्धको खोप नलगाएकालाई लक्षित गरी खोप लगाउनका लागि ‘खोज अभियान’ चलाइने भएको छ । स्वास्थ्य सेवा कार्यालयले सुर्खेतको मापदण्ड पालना गरेर कोरोनाविरुद्धको खोप नलगाउने, अटेर गर्ने लगायतकालाई खोजी गरेर खोपमा सामेल बनाउनका लागि यो अभियान सुरु गर्न लागिएको हो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको संयोजकत्वमा रहेको जिल्ला कोभिड खोप अनुगमन तथा समन्वय समितिको बैठकमा जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख गणेशभक्त गौतमले सुर्खेतमा अझैपनि करिब १९ प्रतिशतले खोप नलगाएको बताए ।
उनले सुर्खेतमा हालसम्म ८१ प्रतिशतले कोरोनाविरुद्धको पहिलो मात्रा, ७३ प्रतिशतले दुबै मात्रा खोप लगाएको र आठ प्रतिशतले बुस्टर डोज लगाएको जानकारी दिए । उनले भने, ‘खोप लगाउने उमेर समूह १२ वर्षमाथि तोकिएको छ । खोप लगाउने उमेर समूहमा अझै पनि विभिन्न बहाना देखाएर १९ प्रतिशत छुटेकाले उनीहरुलाई खोजी गरी खोप लगाइने तयारी भइरहेको छ ।’
स्वास्थ्य कार्यालयकानुसार, सुर्खेतको जनसंख्या चार लाख २५ हजार ६१६ मध्ये दुई लाख ६५ हजार ३६६ जनाले पहिलो मात्रा, दुई लाख ४० हजार ३२३ जनाले दुबै मात्रा र २५ हजार ९९० जनाले थप मात्रा खोप लगाएका छन् । केही भारतबाट आएका, केही खोप केन्द्रबाट टाढा भएको र केही बहानाबाजी गरेर अझै पनि खोप नलगाउने गरेको पाइएकाले उनीहरुलाई ‘खोज अभियान’मार्फत खोप लगाइने निमित्त प्रमुख गौतम जानकारी दिए ।
यस्तै, भौगोलिक विकटता भएका स्थानमा घुम्ती खोप संचालन गर्ने र पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने कार्यक्रम पनि सो अभियानमा चलाउने भएको छ ।