नवलपुर : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा जारी राष्ट्रियस्तरको ‘प्रथम गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिता’ मा चितवन क्रिकेट सङ्घ विजयी भएको छ ।
प्रतियोगिताअन्तर्गत आज भएको खेलमा चितवन क्रिकेट सङ्घले कास्की क्रिकेट सङ्घलाई ११ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १३१ रन जोडेको थियो । चितवनको जितका लागि दीपेश श्रेष्ठले ११ बलमा तीन छक्का र एक चौका प्रहार गर्दै २५ रनको योगदान दिए ।
सुजन चापागाईंले १९ बलमा एक छक्का र दुई चौका प्रहार गर्दै २४ रनको योगदान तथा साकार ढकालले १७ रनको योगदान दिए । चितवनका अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । बलिङतर्फ कास्कीका सुवाष भण्डारीले चार ओभरमा २२ रन खर्चिदै तीन विकेट लिए । कास्कीका कृष्ण पौडेलले चार ओभरमा २२ रन खर्चिदै दुई विकेट लिए ।
एक सय ३२ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कास्की २० ओभर खेल्दै सबै विकेट गुमाएर १२० रनमा समेटिन पुग्यो । कास्कीका मुस्कान थापाले ४३ बलमा एक छक्का र चार चौकासहित ३५ रन तथा अनिल गुरुङले २१ बलमा एक छक्का र दुई चौकासहित २६ रनको योगदान दिए । कास्कीका थापा र गुरुङबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क नजोडी पभेलियन फर्किन बाध्य भएका थिए ।
बलिङतर्फ चितवनका गौतम केसीले चार ओभरमा १४ रन खर्चिंदै तीन विकेट, दीपेश श्रेष्ठले चार ओभरमा २१ रन खर्चिंदै दुई विकेट तथा क्रिजन गुरुङले चार ओभरमा २४ रन खर्चिंदै दुई विकेट लिए । आजको खेलमा चितवन क्रिकेट सङ्घका दीपेश श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोटको आयोजनामा सुरु भएको प्रतियोगितामा नवलपुर, बागलुङ, पर्वत, नवलपरासी, तनहुँ, स्याङ्जा, कास्की र चितवनका आठ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद रु दुई लाखसहित कप, मेडल र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख ५० हजारसहित कप मेडल र प्रमाणपत्र पाउनेछ । सो प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई नगदसहित कप, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गरिने केन्द्रका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल यही फागुन २५ गते हुनेछ ।