काठमाडौँ : नजिकिदो चुनावलाई केन्द्रित गरेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कर्णालीमा आफ्नै दोस्रो रुप भएका कालीबहादुर मल्ललाई इन्चार्जको जिम्मेवारी दिएका छन् । सोमबार बसेको केन्द्रीय कमिटी बैठकबाट माओवादीले सात प्रदेशका इन्चार्ज तोक्ने क्रममा कर्णालीमा कालीबहादुर मल्ललाई जिम्मेवारी सुम्पेको हो ।
मल्ल कर्णालीको इन्चार्ज बन्नुलाई कतिपयले आश्चर्य मानेका छन् । अनि कतिपयले चुनाव जित्ने रणनीति अन्तर्गतको इन्चार्ज तोक्ने नभइ प्रचण्डले पार्टीलाई कम्पनीकरण गरेको चर्चा छ । यस पछाडिका दुई वटा कारण हेर्नुपर्छ ।
पहिलो कारण हो, शक्ति बस्नेत र जनार्दन शर्माबीचको लडाइँ । यतिबेला शक्ति र जनार्दन माओवादीको महासचिव बन्ने दौडमा छन् । दुवै सम्भावना उत्तिकै छ । शक्तिभन्दा जनार्दन अगाडि देखिन्छन् । खासगरि गुट र प्रभावका हिसाबले ।
तर जनार्दनसँग कडा प्रतिष्पर्धा गर्न आइपुगेका वर्षमान पुनका कारण प्रचण्डलाई सकस भएको छ । त्यसको सही विकल्पका रुपमा प्रचण्डले शक्ति बस्नेतलाई चिठ्ठा पार्ने सम्भावना छ । सोही कारण केन्द्रीय महासचिवमा दाबी गरेका शक्ति र जनार्दनलाई छाडेर प्रचण्डले कालीबहादुरलाई रोजे ।
काली शक्ति निकट हुन् । जाजरकोट स्थायी घर भएका कालीबहादुर माओवादी शान्ति प्रक्रियामा आएदेखि नै शक्तिसँग नजिक छन् । तर नेताभन्दा कार्यकर्ताका हिसाबले मात्रै । रुप प्रचण्डकै जस्तो भएपनि उनको राजनीतिक स्वरुप भने सामान्य माओवादीको जस्तो छ ।
कर्णालीका अरु तमाम सम्भावना भएका, संगठन हाक्न सक्ने र नजिकिदो चुनावलाई लिएर केही गतिविधि बडाउन सक्नेलाई भन्दा एक भूमिगत कार्यकर्तालाई प्रचण्डले इन्चार्ज बनाउनु सामान्य सोचनीय विषय होइन । तर यसले माओवादी नेता कार्यकर्ताले सोचेको भन्दा फरक परिस्थिती निर्माण गरिदिएको छ ।
त्यो हो, प्रचण्डले आफुअनुकुल नेता कार्यकर्तालाई प्रयोग गरेर आफूलाई सर्वशक्तिमान मात्रै बनाइराख्ने । बाँकी सम्भावना भएका, संगठन हाँकेका र नयाँ नेतृत्वमा आउन चाहेकालाई पन्छाउँदै माओवादीलाई प्रचण्डको कम्पनीकरणमा गर्ने उद्देश्य हो ।
दोस्रो, शक्ति र जनार्दनलाई थ्रेट । यतिबेला माओवादीको महासचिव बन्न सबै किसीमका त्याग तपस्या गरिरहेका छन्, कर्णालीका टावर लिडर शक्ति र जनार्दन । तर दुवै नेताको हातमा लड्डु पर्ने सम्भावना भने कम छ । त्यसमाथि इन्चार्ज तोक्दा प्रचण्डले देखाएको संकेत निकै भिन्न छ ।
प्रचण्ड यतिबेला पार्टीमा आफुअनुकुलमा नेतालाई प्रयोग गरेर दोस्रो तहका सम्भावना भएका नेतालाई पनि पाखा लगाउने कसरतमा छन् । जुन जनार्दन र शक्तिमा पनि लागू हुन्छ । जाजरकोटकै भएकाले शक्ति निकट कालीबहादुर इन्चार्ज भएको सुनिएला ।
तर कालीबहादुर शक्ति र जनार्दनको बराबर पहुँच भएका नेता हुन् । खासगरी प्रचण्डकै अनुहार भएका नेतालाई अवसर दिलाउन चुकिरहेका कालीबहादुरका लागि यतिबेला राम्रो प्रयोग हो । त्यो कर्णालीका लागि भन्दा बढी प्रचण्डको लागि हो ।
कर्णालीको जिम्मेवारीबाट अलग गराएर विस्तारै कर्णालीको राजनीतिमा आफैँ खेल्ने प्रचण्डको योजना । आगामी दिनको यस्तसा धेरै असर हुनेछन् । त्यसैले प्रचण्डको दोस्रो रुपमा कर्णाली जिम्मेवारी पाएका नेता का कसरी कति गर्न सक्छन् हेर्न बाँकी छ ।