तम्घास : ‘दोस्रो पटक पुल बगाउँदा त हामी रोएका थियौँ, अब त बन्ने आश पनि हराइसक्यो ।’ गुल्मीको मुसिकोट नगरपालिका–३ का खिमलाल अधिकारीले भने, “पुलमा यात्रा गर्ने आशमा जीवन कट्ने भयो ।”
खिमलाल मात्र होइन, अहिले मुसिकोट नगरपालिका–३ र ७ का नागरिकले यस्तै गुनासो गर्छन् । कारण हो, नजिकैको खोलामा बन्न लागेको पुल दुई पटकसम्म बाढीले बगाउनु र तेस्रो पटकको काम सुरु नगर्नु । दुई पटकसम्म बाढीले बगाएको पुल अब फेरि बन्छ भन्नेमा स्थानीयवासी विश्वस्त छैनन् । किनकी पुलको विषयमा अहिलेसम्म कोही पनि छलफल वा अनुगमन गर्न उक्त ठाउँमा पुगेका छैनन् ।
मुसिकोट नगरपालिका–३ र ७ जोड्नका लागि बडिगाढ खोलाको फेदीमा २०७३ सालमा पक्की पुल बनाउने सम्झौता भयो । कुल ५८ मिटरको पुल २०७५ असार मसान्तसम्म सकिसक्नुपर्ने थियो । तर काम गर्दा खोलामा बाढी आउनेलगायत कारणले निर्माण सामग्री नै बगाउन थाले । अनि काठमाडौँबाट इञ्जिनीयरको समूह आएर पुलको डिजाईन नै परिवर्तन गरी फेरि बनाउँदा ढिलाइ भएको थियो । बन्दै गरेको भेरी पुल पहिलो पटक २०७६ वैशाख १ गते आइतबार साँझ भत्किएको थियो ।
त्यसपछि पुलको अनुगमन र अध्ययन गर्न वैशाख ३ गते मङ्गलबार काठमाडौँबाट विज्ञ समूह गुल्मी आएको थियो । पुलको वाइटी जयबुद्ध कन्ट्रक्सन प्रालीले निर्माणको जिम्मा लिएको थियो । विज्ञ समूहको सल्लाहानुसार नै बन्न सुरु गरेको पुल दोस्रो पटक २०७७ वैशाख ३ गते बाढीले बगायो । उक्त दिन साँझदेखि नै मुसिकोटलगायतका क्षेत्रमा आएको बाढीका कारण खोलामा पानीको बहाव बढ्न गई पुल बगाएको स्थानीयवासी मदन घिमिरेले जानकारी दिए ।
पुलको तल्लो भागसम्म ढलान भएको थियो । पुल पूर्ण निर्माण हुन आवश्यक अधिकाशं काम सकिन लागेको बेला बाढीले बगाएको उनको भनाइ छ । पुस महिनाबाट निर्माण सुरु भएको पक्की पुलको काम जेठको अन्तिम हप्तासम्म सक्ने योजना रहेको थियो । स्वीस सरकारको सहयोगमा स्थानीय सडक पुल कार्यक्रमअन्तर्गत कुल रु पाँच करोड १७ लाखको लागतमा पुल बन्न लागेको हो । तीमध्ये दुई करोड ७३ लाखभन्दा बढी पुल भत्कनुभन्दा पहिले नै भुक्तान भइसकेको छ ।
स्थानीय तुल्सा खत्रीले दोस्रो पटक पुल भत्किएदेखि हालसम्म कोही पनि छलफलको लागि नआएको गुनासो गरे । पहिलो पटक भत्किँदा केही समूह आएर अनुगमन गरेपनि दोस्रो पटक भत्किँदा कसैले ध्यान नदिएको गुनासो गरे । स्थानीय लक्ष्मी कार्कीले दोस्रो पटकमा पुल बन्ने कुरामा विश्वस्त भए पनि अब भने पुल बन्ने आशा हराएको प्रतिक्रिया दिए । “पुल बनेपछि हामीलाई धेरै कुरामा सहजता हुन्थ्यो”, उनले भने, “पुलमा यात्रा गर्ने हाम्रो सपना अधुरै रहने भयो ।”
असार मसान्तसम्म पुल बन्छ : नगरप्रमुख सापकोटा
मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले यसै आर्थिक वर्षको असार मसान्तसम्म पुल बन्ने बताए । कम्पनीसँगको ठेक्का प्रक्रिया तोडेर कार्यालयले आफै पुल बनाउन लागेको उनको भनाइ छ । तर अहिले पहिलेजस्तो ढलान नभएर फलामको बीम राखेर बनाउन लागेको उनले बताए । त्यसका लागि कार्यालयले आवश्यक सामग्रीसमेत अर्डर गरेको प्रमुख सापकोटाले जानकारी दिए ।
१० किलोमिटर दूरी छोटिनेछ
पुल निर्माण सकिएसँगै साविकको मुसिकोटदेखि वामीसम्म आवाजजवतमा निकै सहज हुनेछ । अहिले नगरपालिकाको केन्द्र वामिदेखि जिल्ला सदरमुकाम तम्घाससम्म पुग्न ३४ किलोमिटर यात्रा गर्नुपर्छ । तर पुल बनेसँगै उक्त यात्रामा १० किलोमिटर छोटिन्छ अर्थात २४ किलोमिटरको दूरीमा तम्घास पुगिनेछ । त्यसका साथै मुसिकोट नगरपालिका–१, २, ३ र ४ तथा ५, ६, ७, ८ र ९ का नागरिकलाई जोड्ने मार्गको रुपमा बडिगाढ खोलाको पुल रहेको नगरप्रमुख सापकोटाले बताए । तीमध्ये वडा नं १ देखि ४ सम्मका नागरिकलाई नगरपालिका केन्द्रसम्म यसै पुलले जोड्ने गर्दछ ।