सुर्खेत : प्रदेश अधिवेशन भएको तीन महिनापछि नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश समिति पुर्ण बनेको छ । २९ मंसिरमा अध्यक्ष चयन गरिएपनि अन्य पदाधिकारीको टुंगो लाग्न सकेको थिएन । शुक्रबार सुर्खेतमा जारी प्रदेश समिति बैठकले अन्य पदाधिकारीको टुंगो लगाएपछि प्रदेश समिति पूर्ण बनेको हो ।
विमला केसी मंसिरमै अध्यक्षमा चयन भएकी थिइन् भने शुक्रबार उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट) र कृष्ण जिसी (सुर्खेत) चयन भएका छन् । सचिवमा कालिकोटका धनजित शाही चयन भएका छन् । सहसचिव वीरबहादुर कुवँर (जुम्ला), लालकेश जैसी (हुम्ला) र मुगुबाट विर्खबहादुर थापा चयन भएका छन् भने कोषाध्यक्षमा डोल्पाका मालबहादुर रोका चयन भएका हुन् ।
त्यसैगरी, प्रेम कटुवाल र रातो कामी कार्यालय टिमका लागि छनोट गरिएको छ । नौ जना पदाधिकारी र दुई जना कार्यालय गरी ११ सदस्यीय कार्यालयले पूर्णता पाएको छ।
त्यसैगरी, जिल्ला हेर्ने गरी कमाण्ड इन्चार्ज पनि छनोट गरिएको छ। जसमा रुकुम र डोल्पाका लागि राजकुमार शर्मा, जाजरकोट र दैलेखका लागि रामदीप आचार्य, सल्यान सुर्खेतका लागि टेकबहादुर बस्नेत र जुम्ला कालिकोट, मुगु र हुम्लाका लागि निवर्तमान कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्र कर्णाली प्रदेशले जनाएको छ।
माओवादी अध्यक्ष प्रचण्डको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा उक्त घोषणा गरिएको हो। यद्यपि, सो पार्टीले बाँकी मनोनीत गर्नुपर्ने ३२ जना प्रदेश समिति सदस्य भने छनोट गर्न सकेको छैन।