काठमाडौं : ठम्मर बिष्टले नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक र सांसद पदबाट राजीनामा दिएका छन् । शुक्रबार काठमाण्डौँमा पत्रकारसँग भेटघाट गरेर विष्टले राजीनामा गरेको घोषणा गरेका हुन् । उनले भने, ‘कर्णालीका सभामुखलाई प्रदेशसभा सचिवालयमार्फत राजीनामा पत्र पठाइसकेको छ ।’
यस्तो छ – सचिवालयमार्फत पठाएको राजीनामा पत्र जस्ताको तस्तै :
मिती: २०७८ फाल्गुण २७
माननिय सभामुख ज्यु ।
कर्णाली प्रदेशसभा सचिवालय, बिरेन्द्रनगर सुर्खेत ।
बिषय : राजीनामा
बिगत केही वर्ष देखी नेपाली धर्तीमा बहसमा रहेको राष्ट्रघाती एमसीसी योजना अन्तत सदनबाट पासगर्ने नाटक मन्चन पुरा भैसकेको छ । यती मात्र नभई एकातिर यस्तो राष्ट्रघाती सम्झौता गर्ने, एकपक्षिय व्याख्यात्मक टिप्पणीका नाउमा संसोधन हुनै नसक्ने कथित व्याख्यात्मक टिप्पणीको ढ्वाङ रच्ने एवम् अर्कोतिर आफ्नो झुट र कर्तुतलाई ढाकछोप गर्न सयौं झुटका पुलीन्दा फयाँकेर जनतालाई अझै मुर्ख बनाउने काममा माओवादी पार्टी नेतृत्व तल्लीन भैरहेको अवस्था छ भने सडकमा निरन्तर खवरदारी गर्ने कर्ता, देशभक्त न्यायप्रेमी जनसमुदायमाथि चरम् दमन गर्ने र सत्यलाई हीटलरको ग्याँस चेम्बरमा झोसेर जनताको आवाजलाई दमन गरीरहेको परीप्रेक्षमा मेरो गम्भिर असहमती रहेको कुरा निवेदन गर्न चाहान्छु । यस गम्भिर स्थितीमा हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) र यसको मुल नेतृत्वले पार्टीलाई गुमराहामा राख्दै पर्दा पछाडी अनेक खालका चलखेल गर्ने, बाहीर आफु राष्ट्रभक्त रहेको नाटक मन्चन गर्ने, कार्यकर्तालाई भने अर्को कुरा गरेर सडकमा ओराल्ने एवम् कार्यकर्तालाई अङ्गभङ्ग गराउन उद्यत गराउने र बिगतमा कांग्रेस दक्षिणपंथी र मुख्य दुश्मन रहेको बर्ग बिस्लेषण गरेको, साम्राज्यवाद र बिस्तारबादको नाममा सुरुङ युद्धको नाउमा हजारौं इमान्दार कार्यकर्ता मारीएका र अङ्गभङ्ग भएका कुरा अब कांग्रेसलाई समेत उछिनेर एमसीसी सम्झौता पास गर्ने हर्कतले क्रान्तिकारीताको त्यो जलप केबल आफ्नो व्यक्तीगत स्वार्थ सिद्ध गर्ने ग्राण्ड डिजाइन मात्र थियो भन्ने कुरा बुझ्न अब गाह्रो भएन
यति मात्र नभई हजारौं कार्यकर्ता र जनताको बलीदानी भावनालाई तिलान्जली दिदै पार्टीलाई भद्धा संसदीय भासमा छिराउदै मुखमा क्रान्ति र व्यवहारमा पतनको दिशातिर उद्धत, सत्ताको लागी जे पनि गर्ने रणनितीले जनयुद्ध, जनआन्दोलन, शहीद, घाइते, बेपत्ता परीवार र आम जनतामा निरासा मात्र होइन परीणामत आम जनतामा कुठराघात समेत गरेको पुष्टि भैसकेको छ । यस्ता स्खलनका अनेक श्रृंखला मध्य एमसीसी यसैको निरन्तरताको अर्को श्रृंखला रहेको पुष्टि भैसकेको छ ।
संघीय गणतन्त्रको स्थापनासँगै सरकार बनेको पहिलो दिन देखीनै कर्णाली प्रदेशमा समेत हाम्रो पार्टीबाट जनताले ठूलो आसा र भरोसा गरीरहेको अवस्थामा नातावाद किर्पाबाद, आसेपासे र सरकारमा पहुंचको आधारमा साधनश्रोत र बजेट दोहन गर्ने परीपाटीको बिकास भैरहेको छ । सत्ता संचालनमा सरकार चुस्त दुरुस्त गरेर जनतामा म्यासेज दिनु पर्नेमा उल्टै पार्टी चेन अफ कमाण्डको नाउमा संसदीय दलको अधीकार क्षेत्रलाई समेत धोती लगाउँदै केन्द्रवाट हस्तक्षप गर्ने, जनतामा नकारात्मक संदेश जाने गरी पार्टीको बचेकुचेको स्थितीलाई समेत पुरै धुलीसाफ बनाउने काममा सिंगो केन्द्र पार्टी दक्षिणपंथी भासमा चुर्लुम्मै डुबीसकेको स्थिती हो ।
अन्तमा यस अवस्थामा पार्टी भित्र र बाहीर रचनात्मक आलोचना मार्फत पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दै आएको तर उल्टै पार्टी नेतृत्वले प्रतिसोध सांधने निती अबलम्बन गरेकोले अब यो दुर्दशाबाट पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेको छु । प्रदेश सरकारको गतिबिधी दिन प्रतिदिन जनतामाझ नांगीदै जानु, गठबन्धनको नाममा सत्ताको लागी जे पनि गर्ने परम्पराको दुष्परीणाम हो भन्ने बुझाइ रहेको छ भने अर्कोतिर आफु बसेको पार्टीले राष्ट्रघाती सम्झौता गरीरहँदा उही पार्टीमा बसेर बिरोध मात्रै गर्नुको कुनै तुक नहुने र अर्कोतिर यस्तो तरीका अवलम्बन गरीरहदा पार्टी बाहीर र भित्र पनि त्यसले झनै भ्रम पैदा हुन सक्ने भएकोले राष्ट्र, जनता, आदर्श मुल्य मान्यता एवं नैतिकता भन्दा पार्टी र जनप्रतिनिधीको भुमीका ठुलो नहुने निष्कर्ष निकाल्दै पार्टीमा प्राप्त सबै भुमीकावाट अलग रहने निष्कर्षमा पुगेको छु । कार्यकर्ता, समर्थक, शुभचिन्तक र आम जनतामाझ यसबाट हुन जाने असहजता प्रति माफी माग्दै जनता र राष्ट्रको सेवामा भने अझ शशक्त भै निरन्तर क्रियाशील रहने प्रतिबद्धता समेत व्यक्त गर्न चाहान्छु । सुरुवाती दिन देखीनै निरन्तर रुपमा प्रदेशसभभालाई प्रभावकारी बनाउन सभामुख ज्युले खेल्नु भएको शशक्त र सृजनात्मक भुमीका प्रति आफु साह्रै प्रभावित भएको र त्यसको लागी सभामुख ज्युलाई आभार सहीत धन्यवाद दिदै सांसद पदवाट आजकै दिन देखी माननिय सभामुख समक्ष राजीनामा दिएको व्यहोरा अनुरोध छ ।
ठम्मर बहादुर बिष्ट प्रदेश, बिरेन्द्रनगर सुर्खेत ।
प्रदेशसभा सदस्य, कर्णाली