काठमाडौं : जनयुद्धले कर्णालीलाई माओवादीको आधार बनायो । इलाका बनायो । त्यसकै बलमा टेकेर माओवादीका नेता सत्ता र शक्तिमा पुगे । ‘सुख, शान्ति र समृद्धि’का चर्को नारा बेच्ने अवसर पाए ।
फलतः कर्णालीमा माओवादीको आधार बनेको हो । इलाका बनेको हो । यसैका लागि कैयौँले रगत चढाए । कैयौँ घाइते छन् । कैयौँ बेपत्ता छन् । र, पनि उनीहरुका सपना ज्युँका त्युँ छन् । माओवादीबाट उनीहरुको विश्वास गुम्दै गएको छ ।
शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत पुगे । प्रचण्ड दशै जिल्लाबाट उपस्थिती हुने माओवादी केन्द्रका पदाधिकारीलाई प्रशिक्षण दिन सुर्खेत पुगेका हुन् । उनको त्यहाँ प्रशिक्षण मात्रै भएन - २९ मंसिरमा अध्यक्ष चयन गरिए पनि पदाधिकारीको टुंगो नलागेको प्रदेश समितिले पूर्णता पायो ।
विमला केसी मंसिरमै अध्यक्ष चयन भएकी हुन् । शुक्रबार उपाध्यक्षमा सल्यानका कर्णबहादुर बुढाथोकी, जाजरकोटका ढकवीर राना, सुर्खेतका कृष्ण जिसी चयन भए । सचिवमा कालिकोटका धनजित शाही भए । सह–सचिवमा जुम्लाका वीरबहादुर कुवँर, हुम्लाका लालकेश जैसी र मुगुबाट विर्खबहादुर थापा, कोषाध्यक्षमा डोल्पाका मालबहादुर रोका चयन गरिएको हो । तीन महिनासम्म टुंगोमा नपुगेको प्रदेशको पदाधिकारी प्रचण्ड नै गएर टुंगोमा पुर्याए ।
प्रचण्ड, कर्णालीमा भएकै बेला माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक समेत रहेको ठम्मर बिष्टले पार्टी छोडे । उनले माओवादी छोड्नुको कारण अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीलाई मात्रै बनाएनन माओवादी भित्र नातावाद, कृपावाद, आसेपासे प्रवृत्ति चलिरहेको आरोप लगाए । उनले उनले भने, ‘कर्णाली सरकारले नातावाद, कृपावाद, आसेपासेलाई मात्रै स्रोत–साधन र बजेटको दोहन गरिरहेको छ ।’
यतिमात्रै नभइ सत्ता सञ्चालनमा ‘चेन अफ कमाण्ड’को नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत केन्द्रबाट हस्तक्षप गर्ने, जनतामा नकारात्मक सन्देश जानेगरि पार्टीको बचेखुचेको स्थितीलाई समेत धूलिसाफ बनाएको बिष्टको आरोप छ ।
त्यसमाथि चुनाव नजिकिँदै गएको छ । यसलाई नै मध्यनजर गरेर नेता कार्यकर्तालाई प्रशिक्षण दिन, लामो समयदेखि अल्झिएको पदाधिकारीको टुंगो लगाउन, केही कार्यकर्ता प्रवेश गराउन सुर्खेत पुगेका प्रचण्डमाथि नै विष्टको प्रहार भयो ।
यसलाई प्रचण्ड पंक्तिले अनौंठो भने मान्दैनन । किन ? हिजोसँगै जनयुद्ध लडेका नेत्रविक्रम चन्द, बाबुरामदेखि बादलसम्मले माओवादी छोडेको उदाहरण छन् । यसकारण पनि प्रचण्ड पंक्तिले अनौठो मान्दैनन ।
तर, हिजो परिर्वतनका लागि बम र बारुदसँग भिडेका, चुलोचौको छोडेका, रगतको बलि चढाएका, घाइते भएका, बेपत्ता भएका जनयुद्धका असली कार्यकर्तालाई चोट भने पुगेकै छ ।
माओवादी नेतृत्वबाट बारम्बार सिकार बनेका ठम्मर बिष्ट होस् या नेतृत्वसम्म पुग्न चाकडी गरिरहेका अरु । कसैगरि माओवादीको नेतृत्व सुधार गर्न लागेकै हुन् ।
रतः कर्णालीमा विचार बोकेका युवा पंक्तिको माओवादीमा आकर्षण बढेको थियो । जसलाई अहिले आकर्षण होइन वेवास्ता गर्न मन लागिरहेको छ ।
उदाहरण – शक्ति बस्नेत माओवादी केन्द्र कर्णालीको इन्चार्ज हुँदा उनकै गृहजिल्ला जाजरकोटका वाइसीएल अध्यक्ष भीमबहादुर जिसीदेखि अनेरास्ववियू क्रान्तिकारीका पूर्व केन्द्रीय सचिवालय सदस्य एवं पूर्व जाजरकोटका अध्यक्ष योगेन्द्र सिंह जलनसम्मले माओवादी छोडे । यो एउटा यस्तो प्रमाण हो – जसले पार्टीमा युवा पंक्तिको आकर्षण घटेको छ ।
होलान् ‘माओवादी भित्रै युवा नै छैनन’ भन्ने होइन । यद्यपी कस्ता खाल्का युवा छन् ? उनीहरुको राजनीति अवस्था कस्तो छ ? भन्ने विषय खोज्नैपर्छ ।
यतिसम्म भन्न सकिन्छ – ‘माओवादी भित्र रहेका युवाहरु कुनै नेताको चाकडी नगर्ने हो भने कहिल्यै माथिल्लो नेतृत्वमा पुग्दैन । त्यो युवामा होस् या विद्यार्थीमा । उनीहरुले माओवादीको विचारबाटो होइन नातावाद, कृपावाद, आसेपासे प्रवृत्तिलाई गोडमेल भने गर्नेपर्छ ।’
यस्ता थुप्रै घटनाहरु छन् जसकारण माओवादी भित्रैका नेताको मात्रै होइन कार्यकर्ताको समेत विश्वास गुम्ने स्थिती छ । त्यसमध्येको कर्णालीका एक पात्र हुन् हुम्लाका छिरीङ डम्डुल लामा कार्चेन ।
१२ जना सांसद हुँदाहुँदै प्रचण्डको आदेशबाट कर्णाली सरकारमा कार्चेन मन्त्री बनेपछि चारैतिर विवाद भयो । पार्टीका सांसदले समेत विरोध जनाए । रपनि कुनै सुनुवाइ भएन ।
कार्चेन मन्त्री हुँदा विरोध जनाउने केही सांसद, केही विद्यार्थी नेता, केही युवा नेता थिए । उनीहरुको सुनुवाइ नभएको हो । यस्तो प्रवृत्तिबाट माओवादी चल्दा तल्लोस्तरका कार्यकर्ताको समेत आशभरोस टुटेको अवस्था छ ।
एक साताअघि केन्द्रीय कमिटी बैठकबाट माओवादीले सात प्रदेशका इन्चार्ज तोक्यो । कर्णाली प्रदेशमा कालीबहादुर मल्ललाई जिम्मेवारी दिइयो ।
मल्ल कर्णालीको इन्चार्ज बन्नुलाई कतिपयले आश्चर्य मात्रै मानेनन चुनाव जित्ने रणनीति अन्तर्गतको इन्चार्ज नभइ प्रचण्ड कम्पनीको इन्चार्ज समेत भने । कर्णालीका अरु तमाम सम्भावना भएका, संगठन हाक्न सक्ने र नजिकिदो चुनावलाई लिएर केही गतिविधि बडाउन सक्नेलाई भन्दा एक भूमिगत कार्यकर्तालाई प्रचण्डले इन्चार्ज बनाए ।
जसकारण माओवादी पतनतिर गइरहेको अवस्था छ । त्यसो होइन भने माओवादी नेतृत्वबाट यस्तो प्रवृत्तिको ‘जवाफसहितको विकल्प’ असली कार्यकर्ताले खोजिरहेका छन् ।
गएको निर्वाचनमा पनि गठबन्धन नभएको भए कर्णालीको निर्णायक शक्तिमा कांग्रेस र एमाले आउँथे । माओवादी निर्णायक शक्तिमा पुग्ने स्थितीमा थिएन ।
त्यो निर्वाचनको मतपरिणामले मात्रै जनाउँदैन नेतृत्वले समेत जनाइरहेको अवस्था छ । बेला-बेला चुकिरहेको नेतृत्वलाई सुधारेर माओवादी पुरानै लयमा फर्किन्छ ? प्रश्न । हेर्ने बाँकी छ ।