काठमाडौँ : पेशागत महासङ्घ नेपालमा आवद्ध घटक राष्ट्रिय सहकारी कर्मचारी सङ्घ नेपालको अध्यक्षमा भरतकुमार श्रेष्ठ चयन भएका छन् । आज काठमाडौँमा सम्पन्न भएको सहकारी कर्मचारीको बृहत् भेलाले श्रेष्ठको अध्यक्षतामा ४१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा धनबहादुर खत्री, राधा कडरिया र प्रशान्त जिसी चयन हुनुभएको छ भने महासचिवमा गङ्गाप्रसाद रिजाल, उपमहासचिवमा पुरुषोत्तम श्रेष्ठ, सचिवमा मनिषा लम्साल र कोषाध्यक्षमा तुलसीराम थापा चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा पेशागत महासङ्घ नेपालका संयोजक प्रेमलकुमार खनालले सहकारीलाई सुशासनयुक्त संस्थाका रूपमा विकास गर्दै उत्पादनमुखी क्रियाकलापमा लैजानुपर्नेमा जोड दिए ।
देशमा ३४ हजारको हाराहारीमा रहेका सहकारीमा एक लाख ५० हजार कर्मचारी आवद्ध भएको प्रसङ्गमा उनले एकताले शक्ति निर्माण गर्ने भन्दै सहकारीले सामूहिक सोच र योगदानमा आधारित काममा जोड दिनुपर्ने बताए ।
एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य गोपाल बराल, केन्द्रीय सदस्य तथा जिल्ला कमिटी काठमाडौँका अध्यक्ष कुसुमकुमार कार्की, पेशागत महासङ्घका महासचिव रामप्रसाद रिमाल, सहकारीकर्मी राधा कडरिया, सेवानिवृत्त कर्मचारी सङ्गठनका बेधनिधि निरालालगायतले राष्ट्र निर्माणमा सहकारीले खेलेको भूमिकाबारेमा चर्चा गरेका थिए ।
पेशागत महासङ्घ नेपालका सचिवालय सदस्य तथा सहकारी इन्चार्ज धरणिधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमले तीन बुँदे प्रस्तावसमेत पारित गरेको नवगठित समितिका महासचिव गङ्गाप्रसाद रिजालले बताए ।
भेलाले सरकारलाई राष्ट्रिय श्रम आयोग गठन गर्न जोडदार माग गरेको छ । यस्तै सहकारी क्षेत्रका श्रमिकका आर्थिक तथा समाजिक सवालको सम्बोधन गर्न छ महिनाभित्र प्रदेश तथा जिल्ला समिति गठन गरी राष्ट्रिय भेला गर्नसमेत प्रस्ताव पारित गरेको छ ।