तनहुँ : व्यास नगरपालिका–२ निवासी विनोदकुमार विक विकासद्वारा लिखित दुई पुस्तक आज दमौलीमा विमोचन गरिएको छ । ‘जातीय प्रथाको मारमा दलित समुदाय’ र ‘लोकतन्त्रमा नेपाली जनता’ नामक पुस्तकको विमोचन गरिएको हो ।
प्रगतिशील लेखक सङ्घ तनहुँको चौथो सम्मेलनका अवसरमा सङ्घका केन्द्रीय सल्लाहकार डा कृष्णराज अधिकारी र सङ्घका केन्द्रीय सदस्य नारायण मरासिनीले उक्त पुस्तकको बिमोचन गरे ।
उक्त पुस्तकको समालोचना परशुराम कोइराला र वाम बुद्धिजीवी डम्बरदेव कैनीले गर्नुभयो । पुस्तकमा देशमा पटक–पटकको आन्दोलनपश्चात व्यवस्था फेरिए पनि नेपाली जनताको जीवनमा परिवर्तन आउन नसकेको चित्रण गर्न खोजिएको छ । देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भइसक्दा पनि दलित समुदायप्रति हेर्ने दृष्टिकोणमा अझै परिवर्तन आउन नसकेको भाव पुस्तकमा उल्लेख गरिएको छ ।
त्यसैगरी सर्वशक्तिमान चेतना प्राणीका रूपमा मानिस भएकाले जातीय, वर्गीय र लिङ्गीय आधारमा गरिने विभेदको अन्त्य गरिनुपर्ने लेखमार्फत जोड दिइएको छ । समालोचकद्वयले लेख समय सापेक्षित भएको र केही सुधार गर्नुपर्ने देखिएकाले सुधार गर्दै अघि बढ्न लेखकलाई सुझाव दिएका थिए ।
डा कृष्णराज अधिकारीले जुनसुकै विचार, पार्टी, समूहमा आवद्ध भए पनि गलत कुरालाई गलत हो भनेर प्रश्न उठाउन सक्ने हिक्मत लेखकमा हुनुपर्ने बताए । कलमका माध्यमबाट साहित्यकारले समाज परिवर्तनका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने समय आएको उनले जोड दिए ।
त्यसैगरी नारायण मरासिनीले लेखक विकले नेपाली साहित्य क्षेत्रमा नयाँ आयाम थप्ने कार्य गरेको बताए । जसले अनुभूति गरेको हुन्छ त्यसको यथार्थ चित्रण उसैले मात्रै गर्न सक्ने हुँदा लेख सान्दर्भिक रहेको उल्लेख गरे ।