तम्घास : गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घा टाहाटिमका मेघराज गिरीले दश रोपनी जग्गामा आलु लगाएका छन । आलु खेती उनको पुख्र्यौली पेशा हो । गतवर्ष उनले ६० क्विन्टल आलु बिक्री गरे । जसबाट डेढ लाख आम्दानी भयो ।
“उत्पादन भएको आलु पैँचो पसल, बुटबल र तराइका जिल्लामा बिक्री हुन्छ”, उनले भने, “यो वर्ष उत्पादन घटेर ४५ क्विन्टल हुने अनुमान छ ।” टाहाटिमको जग्गा पनि आलु खेतीलाई उपयुक्त भएकोले पुख्र्यौली पेशालाई निरन्तरता दिएको उनी बताउछन । अहिलेको मौसममा आलु लगाए पनि अरु बेला मौसम अनुसारका तरकारी खेती लगाउने उनले यसबाट वार्षिक ५० हजार आम्दानी गर्छन ।
त्यस्तै उनले गाईपालन पनि गरेका छन । जसबाट परिवारलाई पुग्ने आम्दानी गाउँमै भएको उनी बताउछन । “अहिले आलु, त्यसपछि तरकारी र १२ महिना दूध बिक्रीबाट आम्दानी भइरहेको छ”, उनले भने, “आफ्नै गाउँमा स्वरोजगार भएको छु ।” अहिले आलु खेतीको लागि स्मार्ट कृषि गाउँ आलुखेती कार्यक्रम सञ्चालन भएको छ । जसबाट बीउ तथा मेसिनमा अनुदान पाउँदा उनको हौसला बढेको छ ।
सोही ठाउँकै राधिका गिरीले पाँच रोपनी जग्गामा आलु लगाएर गत वर्ष १५ क्विन्टल बिक्री गरिन । उत्पादन भएको आलु पैँचो पसलमा प्रति किलो रु २० देखि ३७ सम्ममा बिक्री हुन्छ । अन्य समयमा सोही जग्गामा सिमी, गोलभेँडा, काउलीलगायतका मौसमअनुसारका तरकारी लगाइन्छ । यसले घरखर्च चलाउन सहयोग पुगेको उनको भनाइ छ ।
“आलु र तरकारी खेतीले घरखर्च चलेको छ”, उनले भनिन, “अहिले खनेको आलु सबै बीउको लागि प्रयोग हुन्छ ।” गतवर्ष आलुको बीउ प्रतिकिलो रु १८० परेकोमा अहिले स्मार्ट कृषि गाउँ लागू भएपछि अनुदानले गर्दा ७० देखि ८० मा पाइएको थियो ।
मूल्य र डढेलोको समस्या
मेघराज र राधिका त आलुखेती गर्ने यो गाउँका उदाहरणीय पात्र मात्रै हुन । उनीहरुजस्तै बम्घाको सिङ्गो गाउँ नै आलुखेतीमा सक्रिय छ । बम्घामा आलुखेतीको लागि उपयुक्त जग्गा रहेकोले पनि किसान यसतर्फ आकर्षित भएका हुन् । स्मार्ट कृषि गाउँअन्तर्गत ६० परिवार व्यावसायिक आलु खेतीमै जोडिएका छन् जसबाट उनीहरु मनग्य आम्दानीतर्फ उन्मुख भएको स्मार्ट कृषि गाउँका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।
व्यावसायिक आलु खेती गर्ने किसानमा आलुको मुख्य समस्या भनेको डढेलो रोगको हो । अनुदानले गर्दा आलुको बीउ कम मूल्यमा पाइए पनि खर्चअनुसारको उत्पादित आलुको मूल्य नपरेको कार्यक्रमका सचिव एवं किसान मेघराज गिरीले बताए । “बजारमा रु एक सयसम्म आलुको मूल्य पर्छ”, उनले भने, “यहाँबाट औसतमा ३० प्रतिकिलोमा बिक्री हुन्छ, बीचको मूल्य व्यापारीको हातमा पर्छ ।” त्यसका साथै डढेलोले आलुको उत्पादन घटेकोले सहयोग गरिदिन कार्यालयलाई अनुरोध गरे ।
रुरुक्षेत्र गाउँपालिकाको बम्घाबाट गत वर्ष मात्रै कूल ९८ मेट्रिक टन आलु बिक्री भएको छ । गत वर्षबाटै बम्घामा ६० लाखको लागतमा ‘स्मार्ट कृषि गाउँ बम्घा टाहाटिम आलु र तरकारी पकेट समूह’ कार्यक्रम लागू भएको छ । यस कार्यक्रममा ६० परिवारका चार सय नगारिक लाभान्वित छन् । जसमा गत वर्ष लुम्बिनी प्रदेश सरकारको ५० लाख र पालिकाको १० लाखमा आलु र तरकारी खेतीसम्बन्धी विभिन्न काम भएका छन् ।
यो वर्ष पनि कृषि ज्ञान केन्द्रमार्फत प्रदेश सरकारको ३७ लाख ५० हजार र पालिकाको ११ लाख २५ हजार विनियोजन भएको छ । विनियोजित रकमबाट किसानलाई बीउ, औजार, विषादी लगायतका सामग्रीमा ८५ प्रतिशतसम्म अनुदान दिइने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत हरि आचार्यले जानकारी दिए । त्यसका साथै बिक्री नभएको आलु सङ्कलनका लागि सङ्कलन केन्द्र पनि बनाइएको छ । जहाँ अहिले खनेको आलु असारसम्म भण्डारण गर्न सकिन्छ ।
‘बीउ मात्रै उत्पादन गर्नु’
कृषि अधिकृत आचार्यले किसानलाई आलुको बीउ मात्रै उत्पादन गर्न आग्रह गरिएको बताए । उनले भने, “बीउको लागि उत्पादित आलु ज्ञान केन्द्रले तोकेको मूल्यमा बिक्री हुन्छ ।” गतवर्ष सोही ठाउँबाटै ५५ क्विन्टल बीउ खरिद गरेको उनले सनाए । डढेलोको विषादीको लागि यो वर्ष कार्यक्रममा समेटिएको छ ।