फाइल फोटो
रुकुम : रुकुम पश्चिमको एक विद्यालयका दर्जनौं विद्यार्थी साता दिनदेखि विरामी अवस्थामा रहेका छन् । त्रिवेणी गाउँपालिका – ७ कुरलमा रहेको बालकल्याण आधारभूत विद्यालयका दर्जनौं विद्यार्थी विरामी परेका हुन् ।
विद्यार्थीमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने जस्ता लक्षण देखिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक झुपलाल ओलीले विरामी परेपछि विद्यार्थीहरु विद्यालय आउन छोडेको बताए । उनले एक हप्ता यता विद्यार्थीमा यस्तो समस्या देखिएको जानकारी दिए ।
केही विद्यार्थीहरु स्थानीय सिम्रुतुस्थित मेडिकलमा उपचार गरेर घरमै रहेको र केही घरायसी उपचार गरेर बसेको उनले बताए । उनका अनुसार २० जना विद्यार्थी एक सातादेखि बिरामी छन् । विद्यालयमा आउने विद्यार्थीहरु पनि ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने समस्याबाट ग्रसित रहेको प्रधानाध्यपक ओलीले जनाए ।
विरामी भएकै कारण अहिले विद्यालयमा पठनपाठन बन्द हुने अवस्था रहेको उनको भनाइ छ । स्वास्थ्य समस्या आएपछि स्थानीय मेडिकल तथा स्वास्थ्य संस्थामा उपचार गराईरहेका बिद्यार्थीमा भाइरल ज्वरोको समस्या रहेको बताइएको छ ।
विद्यालयमा विद्यार्थीहरु बिरामी हुन थालेको खबर आज प्राप्त भएकोले भोलि बुधबारदेखि विद्यालयमा स्वास्थ्यकर्मीको टोली पठाएर चेकजाँच तथा उपचार सुरु गरिने वडाध्यक्ष बिरबहादुर खड्काले बताए ।
बालकक्षादेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ५० विद्यार्थी रहेको जनाइएको छ । गर्मी सुरु भएपछि विद्यार्थी विभिन्न किसिमका स्वास्थ्य समस्या देखिने गरेको छ ।