काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनौटको मापदण्ड बनाएको छ।
बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकले निर्वाचन परिचालन समितिका संयोजक तथा महामन्त्री भुवन पाठकले प्रस्तुत गरेको निर्देशिका पारित गरेको हो।
पार्टीको केन्द्रीय पदाधिकारीहरुको बैठकले निर्वाचन केन्द्रित कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्यसमितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट, विभिन्न अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको हो ।
त्यसैगरी पार्टीको सक्रिय सदस्य नरहेको तर कुनै राजनीतिक दल राप्रपामा समाहित भएको, एकीकरण भएको, अन्य राजनीतिक दलमा सक्रिय भइ निर्वाचनका बेला राप्रपामा प्रवेश गरि निर्वाचनमा उमेदवार बन्न चाहेको अवस्थामा सम्बन्धित स्थानीय तह परिचालन समितिले निर्णय गरेबमोजिम हुने व्यवस्था गरिएको छ।
राप्रपामा उम्मेदवार छनोट तीन तरिकाले हुने छ। वडा तहको उम्मेदवार सम्बन्धित जिल्ला अध्यक्षको नेतृत्वमा गठित समितिले छान्न पाउने छन्।
नगरपालिका प्रमुख, उप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष उम्मेदवार प्रदेश अध्यक्षको नेतृत्वमा गठित समितिले छनोट गर्ने छ। यसैगरी, उपमहानगरपालिका र महानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रले छनोट गर्ने निर्णय रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।