दाङ। घोराहीको एक बैंकमा कार्यरत एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
सोमबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा घोराही १५ शहिद गेट नजिकै रहेको कर्णाली डेभलपमेन्ट बैंकमा कार्यरत २२ वर्षीय एक पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको हो।
उनी घोराही निवासी हुन।
ती कर्मचारीलाई सेवाग्राहीबाटै भाइरसको संक्रमण भएको अनुमान गरिएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिए।
ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुद्ध हस्पिटलमा उपचारका लागि पुगेका उनलाई कोरोनाको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो।
त्यही उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको थियो।
कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंक सिल गरिएको छ।
त्यस्तै तुलसीपुरका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण फेला परेको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित घरमा बस्दै आएका ती व्यक्ति केही समय पहिला काठमाडौंबाट फर्किएको तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिएका छन्। साउन २६ गते उनले कपुरकोटमा स्वाब दिएका थिए।
उनको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको केसीले जानकारी दिए।
उनी सल्यानको कपुरकोटस्थित अदुवा बालीका कर्मचारी हुन। कपुरकोटमा स्वाब दिएका उनी तुलसीपुरस्थित घर बस्दै आएका थिए।
यसले कोरोना संक्रमण समुदायसम्म पुगेको आशंका गरिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए।
तुलसीपुरमा अहिलेसम्म ७८ जनामा संक्रमण देखिएको छ भने ६२ जना निको भएर डिस्चार्ज भएका छन्।
राप्ती लाईफ केयर, सेन्टर मावि, होम क्वारेन्टाइनमा र होटल क्वारेन्टाइनमा गरेर उपमहानगरपालिकामा अहिले ५५ जना क्वारेन्टाइनमा रहेका छन् भने होम क्वारेन्टाइनमा ३० जना रहेको फोकल पर्सन केसीले जानकारी दिए। अहिलेसम्म दाङमा ७ सय १४ जनामा संक्रमण देखिएको छ।
६२ जना अहिले पनि आइसोलेशनमा उपचाररत रहेका छन्।