काठमाडौं : नेपालमा नेकपा माओवादी केन्द्रले दश वर्षसम्म गरेको सशस्त्र विद्रोह मामुली थिएन । त्यो तत्कालिन राज्य व्यवस्था परिवर्तनका लागि थियो । जनताको जीवनस्तर बदल्नका लागि थियो । र, रुढीवादी परम्पराविरुद्ध थियो । जसको विचार बाटोमा लाखौँ लामवद्ध भए ।
विद्रोह गरे । सहिद भए । घाइते भए । बेपत्ता भए । भनिन्छ – ‘त्यसैको परिणाम देशमा गणतन्त्र आयो । संघीयता आयो । आवश्यक व्यवस्था बदलियो । निरंकुश सत्ता ढल्यो ।’
माओवादीले सुरु गरेको जनयुद्धलाई शान्ति प्रक्रियासम्म पुर्याउन ‘जनवादी कलाकार’को पनि उत्तिकै भूमिका रह्यो । जतिबेला, जनतालाई बटुलेर क्रान्तिको बिगुल नफुकेको भए युद्धमा जनस्तरकोे लाम लाग्ने थिएन ।
तत्कालिन राज्य पक्षले आतंककारी भनेर प्रतिवन्ध लगाउँदा पनि ‘जनवादी कलाकार’ले दुर्गमका बस्तीमा गएर क्रान्तिको बिगुल भोकभोकै फुकेका हुन् ।
‘कसले भन्छ क्रान्ति यहाँ सफल हुँदैन’देखि ‘आधा संसार’सम्मलाई जनवादी कलाकारले नै गाउँको कानमा पुर्याए । जसकारण, मजदुरका छोरा–छोरीले स्कुल छोडेर बम र बारुद्धको झोला भिरे । १० वर्षकै उमेरमा युद्धमा हिँडे । व्यवस्था र अवस्था परिवर्तनका लागि क्रान्तिमा लामवद्ध भए ।
तिनै बस्तीहरुमा क्रान्तिको बिगुल फुक्ने र युद्धमा सयौँलाई लामवद्ध गराउने मध्ये आकाश पनि हुन् । घर जाजरकोटको बारेकोट । नाम हरिचन्द्र विक । पार्टीको नाम कमरेड आकाश ।
माओवादी युद्धमा कक्षा दश पढ्दापढ्दै लागे । पढेलेखेकै कारण भूमिगत हुँदा पनि पार्टीको विभिन्न तहमा बसेर काम गरेको अनुभव छ कमरेड आकाशसित ।
विद्यार्थीबाट युद्धको राजनीतिमा प्रवेश गरेका आकाश कलाकारितामा पनि उत्तिकै अब्बल थिए । र, छन् । जसकारण जनयुद्धका लागि उनले थुप्रै गीतहरु लेखे । नाटकहरु लेखे । कथाहरु लेखे । त्यसमध्येको एक हो महासमर ।
भूमिगत राजनीति सुरु गरेबाटै लेख्न सुरु गरिएको नाटक ‘महासमर’ अहिले कमरेड आकाशको डायरीमा थन्किएको छ । ‘महासमर’ आकाशको डायरीमा थन्किएको दशौँ वर्ष भयो । उक्त डायरीमा किरा लागिसके । उनी भन्छन् – ‘क्रान्तिका कार्यभारहरु पुरा भएनन । त्यसकारण पनि महासमर अलपत्र छ । पुरा भएको छैन ।’
‘महासमर’मा बालीनालीबाट क्रान्ति सुरु गरिएको छ । कमरेड आकाशले सुनाए अनुसार ‘महासमर’मा जंगे भन्ने गाउँको शासक हुन्छ । त्यसको घरमा धेरै अन्नपात हुन्छ । त्यहीँ अन्नपात समाजको पिँधमा बसेका समुदायलाई पाथीका रुपमा दिन्छ ।
आकाश भन्छन् – ‘त्यहीँ पाथीको साटो उक्त समुदायले जंगेको घरमा वर्षौ काम गर्नुपर्ने हुन्छ । त्यसकाविरुद्ध गाउँकै एक शिक्षक जन्मिन्छ । बेलुका–बेलुका हलिहरुलाई जम्मा गरेर जंगेविरुद्ध लड्नुपर्छ भन्ने कुरा सुनाउँछ । त्यो जंगेलाई थाहा हुँदैन । शिक्षक र पिँधमा बसेकाहरुले अनि सुरु गर्छन् क्रान्ति । क्रान्ति जंगेको पाटोबारी र भैंसीहरुबाट सुरु हुन्छ । ‘महासमर’मा क्रान्तिकारी भनिएका तिनै मजदुर र पिँधमा बसेका समुदायहरु हुन्छन् । जसले रातिराती जंगेको घरमा गएर उसको भैंसी मकैबारीमा छोड्दिन्छन् । त्यसले गर्दा जंगेको आम्दानी कम हुँदै जान्छ । अनि, अन्त्यमा जंगेलाई नै खाना नपुग्ने अवस्था आउँछ । पछि जंगेले यो करा थाहा पाउँछ । थाहा पाइसकेपछि गाउँमा शिक्षकलाई यातना दिन सुरु गरिन्छ । अनि क्रान्ति सुरु हुन्छ ।’
उनले थपे, ‘सबै भनेर साध्य छैन । यति नै भयौं । बालीनालीको पाथीबाट क्रान्ति सुरु हुन्छ । यसबीच थुप्रै सिनहरु छन् । जुन जनयुद्धमा आधारित छन् । यो नाटक चारदेखि पाँच घण्टाको हो । बालीनालीदेखि सुरु गरिएको क्रान्ति जंगेको शासन ढालिन्छ । शान्ति प्रक्रियासम्म पुगेका हुन्छौं । विचमा हृदयविदारक सिनदेखि क्रान्ति कसरी सुरु गर्नुपर्छ ? विचारबाटो कसरी निर्माण हुन्छ ? राज्य व्यवस्था कसरी ढाल्न सकिन्छ ? क्रान्तिकारी भनेका कस्ता हुन्छन् ? भन्नेसम्म छ । पछि पार्टी शान्ति प्रक्रियामा गएपछि गयो । अनि, ‘महासमर’मा पनि शान्ति प्रक्रियासम्म लेखिएको छ ।’
कमरेड आकाशको नाटक ‘महासमर’ करिब तीन डायरी भनिएको छ । दश वर्ष लगाएर लेखिएको महासमर अहिले डायरीमा थन्किन बाध्य छ । यसलाई निर्माण गरेर प्रदर्शन गर्न के कति लाग्छ ? भन्ने प्रश्नमा आकाश भन्छन् – ‘यो नाटक हो । त्यसले माओवादी युद्ध कसरी सुरु भयो ? कसरी जनयुद्धको थालनी गरियो ? भन्ने विषयलाई प्रस्ट पारिएको छ । सर्ट एक दुई घण्टाको फिल्म बनाउन पनि करोडौं लाग्छ । मेरो त्यो सपना मात्रै हो । मसँग त्यति पैसा पनि छैन । यस विषयमा पार्टीलाई चाँसो पनि छैन । कुनैबेला पैसा जुट्यो भने बाहिर पनि ल्याउने सोच छु ।’
कमरेड आकाशको ‘महासमर’ मात्रै नभइ ‘जीवनको दोस्रो अनुभुति, दलितका दुःख, ऐतिहासिक लम्वि मार्च, यो हाम्रो रातो झण्डा, मुटुमा गनेशपुर’ लगायतका नाटक र सयौं गीतहरु डायरीमा थन्किएका छन् ।
उनी भन्छन् – ‘इतिहासमा पार्टीले खोज्छ कि ! दश वर्षको समयमा थुप्रै संघर्षमा आधारित दस्तावेज हुन् । नाटकहरु छन् । गीतहरु छन् । फिल्महरु छन् ।’
‘पार्टी नेतृत्वले क्रान्तिलाई अर्का दिशामा पुर्याइदियो हामीले सोचेका थिएनौं’, उनी भन्छन् ‘मैले कति भाइबहिनीहरुलाई गीतहरु लेख्नदेखि गाउनसम्म सिकाए । नाँच्न सिकाए । सिकेका पनि थिए । मञ्चहरुका कति धेरै राम्रो नाच्ने भइसकेका थिए । पार्टी शान्ति प्रक्रियामा आयो । त्यसपछि पनि रिम्नाको रोडमा काम गरेर पनि मैले हुर्काएका कलाकार भाइबहिनीहरुलाई केही महिना जोगाए । पछि पार्टीले पनि कुनै सहयोग नगरेपछि कोही कतै गयौं । कोही कतै गयौं । सारा सपनाहरु चकनाचुर भए ।’
अझै पनि कमरेड आकाशलाई आफ्ना सिर्जनाहरु बाहिर ल्याउन मन छ । पार्टीलाई देखाउने मन छ । क्रान्ति कसरी भएको थियो ? कसरी सुरु गरिएको थियो ? कसरी लडियो ? कसरी विजयी प्राप्त गरिन्थ्यो ? भन्ने विषयलाई जनमानससम्म पुर्याउने मन छ । तर, आर्थिक नभएपछि उनका सिर्जनाहरु डायरीमै छन् ।
केही सिर्जनाका डायरीहरु किराले खाइसकेका छन् । भन्छन् – ‘नेतृत्वले क्रान्तिलाई अधुरो बनायो । क्रान्तिको कार्यभार पुरा भएको छैन । त्यसैले डायरीका पाना पनि जोगाउनै मुश्किल भएको छ ।’
र, यो पनि पढौं...