खलंगा : हिमाली जिल्लाको गौरवको आयोजना धौलीगाड खानेपानीको शिलान्यास गरिएको छ । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्लामा रहेको गौरवको आयोजना धौलीगाड खानेपानी आयोजनाको शिलान्यास गरिएको हो । यसको शिलान्यास गर्नका लागी संघीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।
यस आयोजनाबाट नौ हजार १०८ घरधुरीका ४४ हजार १६३ जनसंख्या लाभान्वित हुने छन् । तत्काल चन्दननाथ नगरपालिकाको १–१० वडा, गुठीचौर गाउँपालिकाको ३–५ वडा र तातोपानी गाउँपालिकाको १–६ वडावासीले उपयोग गर्ने भएका छन् । योजना निर्माण लागत एक अर्ब २६ करोड आठ लाख ४९० रुपैयाँ रहेको संघीय खानेपानी आयोजना प्रमुख महेश न्यौपाने बताए ।
उनले भने, ‘जुम्ला सदरमुकाम खलंगादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रति सेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइनमा उल्लेख गरिएको छ। प्रतिव्यक्ति प्रतिदिन ६५ लिटर पानीको खपत अनुमान गरिएको छ भने ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुनेछ। संस्थागत तीन लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुनेछ ।’
त्यस्तै आरसीसी गरिएको पानी भण्डारण ट्यांकी तीन सय घनमिटरको एउटा, १५० घनमिटरको एउटा, १२५ घनमिटरको दुईवटा, एक सय घनमिटरको दुईवटा, ७५ घनमिटरको तीनवटा र ५० घनमिटरको चारवटा बन्ने डिजाइन इस्टिमेटमा उल्लेख छ।
त्यस्तै, पानी वितरण गर्ने ट्यांकी नौ वटा, क्लोरिनेसन प्रणाली १३ वटा र प्रेसर घटाउने ट्यांकी १७ वटा बन्नेछन् । भल्व राख्ने संरचना (पानी वितरण गर्ने ट्यांकी, भण्डारण गर्ने ट्यांकी र पाइपभित्रको फोहोर फाल्ने, बढी भएको पानी फाल्ने) ६२ वटा बन्नेछन् । हावा फाल्ने र पाइपभित्रको लेदो फोहोर फाल्ने संरचना ३० वटा निर्माण गरिनेछ।
जालीको तारबार १३ वटा गेटसहित आठ सय मिटर बन्नेछ । खोलाको क्रसिङ चारवटा, नदीको क्रसिङ सातवटा, स्टिल पाइपका लागि प्रेसर थाम्ने ब्लक १६५, टेका राख्ने ब्लक ६०, शौचालयसहित एउटा गार्ड बस्ने घर र एउटा पानी परीक्षण प्रयोगशाला बन्ने इस्टिमेटमा उल्लेख छ।
यस्तै, प्रेसर घटाउने संरचना ११ वटा, आगो निभाउन निकाल्ने ठाउँ १५ वटा, निजी धारा आठ हजार २९२ वटा, संस्थागत धारा ३१६ वटा, बाटोमा धारा जोड्ने संरचना १५० वटा, खोल्सा क्रसिङ २० वटा, सार्वजनिक शौचालय पाँचवटा बन्नेछन्। मुख्य पाइप लाइनको लम्बाइ ६९.२८ किलोमिटर रहनेछ भने वितरण शाखा पाइपलाइनको लम्बाइ २००.४ किलोमिटर रहनेछ। पानी महसुल प्रतिघरधुरी न्यूनतम मासिक ५५ रुपैयाँ लाग्ने बताइएको छ ।