सबैभन्दा लामो नदी कुन हो ? कर्णाली । सबैभन्दा ठूलो ताल ? रारा । सबैभन्दा ठूलो जिल्ला ? डोल्पा । यस्तै सामान्य ज्ञानबारे प्राथमिक कक्षामा पढ्दाखेरि नै ज्ञात भएको थियो । तर, खासमा कर्णाली कति लामो छ ? रारा कति ठूलो छ ? भन्ने कुरा जीवनको आधा शतकसम्मै मेरो लागि अज्ञात रह्यो ।
कर्णालीको लम्बाइ र राराको विशालताको अङ्क जिब्रोले नापे पनि नजर र गोडाले नाप्ने अवसर पचासौँ वर्षसम्म प्राप्त भएको थिएन । त्यसो त अरू देश हेरी नेपाल सानो छ, अरू महादेश हेरी एशिया सानो छ, अरू ग्रह हेरी पृथ्वी सानो छ, अरू ब्रह्माण्ड हेरी सौर्य परिवारसहितको ब्रह्माण्ड निकै सानो छ भनी उति बेलै घोकाइएको थियो ।
उति बेला घोकियो सानासाना कुरा मात्र । ठूलो कुरा उति सिकिएन । सानो मान्छेलाई ठूलो कुरा के सिकाउनू भनेर थियो कि ? लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ? ’ भन्ने निबन्ध पढेपछि मात्र जेलाई पनि ठूलो देख्ने यी एकजोर नजर ठूल्ठूला हुन पुगेका थिए । नजर ठूला भैदिएपछि जे पनि ठूलै देखिने । मिहिन कुरालाई महान पारेर हेर्न कुतकुती लाग्ने ।
जब संविधानले नै आफूलाई कर्णाली प्रदेशीय तुल्यायो त्यसपछि कर्णालीप्रतिको आत्मीयता निकै गाढा भएर गयो । कतिखेर भेटेर आमातुल्य कर्णालीको काखमा लुट्पुटिऊँ भनी दिनरात छट्पटिन थालेँ ।
रूची मिल्दो जिम्मेवारी पाउनेबित्तिकै एकजोर नजर, एकजोर पाइताला र एकसरो मन उचालेर लागेँ कर्णाली यात्रामा । पाइताला चाल्न सघाए चालक सुनिलले । नजर उचाल्न मद्दत गरिन् पत्नी देवकुमारीले र मन उचाल्न उकासेका थिए छोरा परिक्षीतले ।
२०७८ साल फागुन २० गतेको दिन थियो त्यो । चालक सुनिल बाहेक यो यात्रा विशुद्ध पारिवारिक हुन पुग्यो । पहिलो दिनको यात्रा कर्णाली बाहिरका दश जिल्ला टेक्दैमा सकाइयो । ती जिल्लाहरू थिएः क्रमशः भक्तपुर, काठमाण्डौ, धादिङ, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची र दाङ ।
त्यसबीचमा नवलपुरको मध्यबिन्दुमा आइपुग्दा सडकमा उल्टो हिँडिरहेका एक्लो यात्री भेटिए । मान्छेको उल्टो लहड ठानेर सुनिल भुँडी फुट्ने गरी हाँस्न थाले, जसबाट हामी समेत प्रभावित भएर खिलखिलाउन थाल्यौँ । अबिर, खादा र मालाले ढपक्कै ढाकिएकोले कुनै उल्टो नेता जस्तै लाग्थे ती ।
उनी एक्लै त थिएनन् । वरिपरि एकजोर सुरक्षाकर्मी पनि थिए जो सुल्टो यात्री थिए । जो उल्टो हिँड्दै थिए उहीँ फुक्क देखिन्थे । जो सुल्टो हिँड्दै थिए उहीँ दिक्क देखिन्थे । ती यात्रीको नाम रहेछ ऋषि परियार । दुईदुई पटक गिनिज बुकमा नाम लेखाइसकेका यिनी पनि हामीजस्तै राप्ती क्षेत्रवासी अर्थात् तुल्सिपुरवासी रहेछन् । राप्ती क्षेत्रका आधा मान्छे लुम्बिनीवासी हुन पाउनु र आधा मान्छे कर्णालीवासी हुन पाउनुमा उल्टा र सुल्टा कुराहरू थुप्रै छन् ।
“उल्टो हिँडेर कतै पुगिँदैन !” सुनिलको जिकिर थियो ।
“उल्टो हिँड्नु भनेको पछि सर्नु हो । पछि सर्न जानेमा सुल्टो हिड्नेहरूभन्दा पहिल्यै गन्तव्यमा पुग्न सकिन्छ ! ” मेरो तर्क थियो । देवकुमारी र परिक्षितले आधा समर्थन र आधा विमर्थन गरिरहेका थिए ।
उल्टो यात्रा भनेको के ? म उल्टो पाइला चाल्ने ‘ किचकन्नी’ सम्झन पुग्छु । हाम्रो रुढीवादिता भित्रकी एक भ्रमित महिला पात्र । किचकन्नीलाई म साहित्यकारको प्रतीक मान्छु । बाटो उहीँ तर चालमा फरक । पाइला उल्टो चाल्नुलाई हामी उल्टो यात्रा ठान्छौँ भने त्यो उल्टो सोचाइ हो ।
उल्टो हिँड्दा यात्राको गन्तव्य नियाल्दै दगुर्ने नजरलाई आफ्नै शरीरले छेकिदिन्छ । नजर एकातिर कुद्छ गोडा अर्कोतिर चल्छन् । कहिल्यै नदेखेको वा नपुगेको ठाउँमा पुग्न खोज्नु पनि त एक प्रकारको उल्टो यात्रा नै हो ।
भित्री नजर एकातिर डुल्छ यथास्थिति अर्कोतिर साक्षात्कार हुँदै जान्छ । यस्तो यात्रामा नजर र यथार्थताको जम्काभेट कम रोमाञ्चकारी हुँदैन । यस हिसाबले कर्णाली यात्रा हाम्रो लागि उल्टो यात्राजस्तै थियो ।
यात्रालाई छिटो तुल्याउने हेतुले नारायणघाटदेखि बुटवलसम्मको बाटो भस्मेइसँग भताभुङ्ग पारिएको थियो । फलस्वरुप केही वर्ष पहिलेदेखि पूर्वपश्चिम लोकमार्गको यात्रा निकै ढिलो, धुलाम्मे र कठिन बन्न पुगेको छ ।
हामी बर्दघाटको भूमही पुग्नेबित्तिकै पट्यारलाग्दो यात्राको विकल्पको रूपमा हुलाकी मार्गको बाटो समात्न बाध्य हुन्छौँ । हामीलाई चिन्नेले भन्ठाने होलान् सुल्टो बाटो छोडेर यिनीहरू उल्टो बाटो हिड्न थाले । हामी भने हुलाकी मार्गको फराकिलो सडकमा स्वतन्त्र हुइँकिँदै भैरहवा पुगेपछि बहिनी रीता यादवको परिवारसँग भेटघाट गर्ने र बातचित मार्ने मौका छोप्छौँ ।
रीता यादवको परिवार जो छ वर्ष पहिले हाम्रो तराई बसाइलाई सहज तुल्याइदिन प्रमुख भूमिका खेलेको थियो । त्यताबाट लुम्बिनी, तौलिहवा र तिलौराकोट हुँदै गोरूसिङ्गे पुगेर पहिलेकै पूर्वपश्चिम लोकमार्गमा मिसिन पुग्छौँ । यति गर्दा पनि हामी ढिला छैनौँ र धुलाम्मे पनि छैनौँ ।
ऋषि परियार नामका उल्टो यात्री र भैरहवातिरको उल्टो यात्रालाई पछाडि छोडेर अबेरतिर मात्र हामी दाङको लमही पुग्यौँ । लमहीमा होटेल खोज्नुभन्दा भाइ शिव ओलीको घर ताक्यौँ ।
शिवले हाम्रो ईच्छालाई बुझेर आतिथ्यताको कर्णालीमा भुसुक्कै डुबाए । हाम्रो लम्बाइ कर्णालीतुल्य लम्बिन पुग्यो । हाम्रो छाती रारातुल्य फराकिन पुग्यो । यात्राको पहिलो दिनको यो आतिथ्यतालाई देवकुमारीले कर्णाली यात्राको शुभसाइत ठहर्याइन् ।
ओलीको यो ब्लग पहिलो हो । उनको दोस्रो देउखुरीदेखि दैलेखसम्म छ भने तेस्रो दैलेखदेखि कालिकोटको सदरमुकाम मान्मसम्म छ । क्रमशः