विराटनगर : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले ‘विराट राजवंशी महोत्सव मेला–२०७८’ को आज एक समारोहको बीच उद्घाटन गरे । विराट राजवंशी समुदायको खानपान, पहिरन, भाषा, संस्कृति संरक्षणका लागि विराटनगरमा ‘विराट राजवंशी महोत्सव मेला–२०७८’ को आयोजना भएको हो । विराट राजवंशी प्रगतिशील समाज विकास समिति विराटनगरले गरेको मेला चैत १५ गतेसम्म लाग्नेछ । महोत्सवमा राजवंशी समुदायको मौलिक खानपान, वेषभूषा र संस्कृतिक प्रदर्शन गरिनेछ ।
महानगरपालिकाका प्रमुख पराजुलीले राजवंशी समुदायलाई शिक्षा र राजनीतिक क्षेत्रमा राज्यले पछाडि पारेको प्रसङ्ग उल्लेख गर्दै अहिले यो समुदाय विस्तारै जुर्मुराएर उठ्न थालेको बताए । उनले कुनै एक जात र समुदायलाई पछाडि पारेर देशमा कहिले पनि समृद्धि नआउने भन्दै राज्यले यस्ता समुदायलाई उकास्न गम्भीर हुनुपर्नेमा जोड दिए ।
समाजका अध्यक्ष किरण राजवंशीले आदिवासी समुदायका रूपमा राजवंशीको संस्कृतिलाई रक्षा एवं जगेर्ना गर्ने दायित्व अब युवाहरुको काँधमा आएको चर्चा गरे । उनले कोरोनाकालमा समाज शिथिल बनेको र यस्ता क्रियाकलापले समाजमा गतिशीलता आउने विश्वास व्यक्त गरे ।
महोत्सवस्थलमा समुदायका मौलिक खानपान, पहिरनलगायत बालबालिका तथा युवाहरूको मनोरञ्जनका लागि झुला, रोटेपिङ र सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रदर्शनीका लागि ६० वटा स्टल रहने बताइएको छ ।
महोत्सवमा चर्चित गायक कलाकार सुगम पोखरेल, शिव परियार, इन्दिरा जोशी, प्रमोद खरेल, मेलिना राई, प्रवलदीप विश्वास र लक्ष्मण राजवंशीले आफ्ना गीत तथा नृत्य प्रस्तुत गर्ने समाजका सचिव गोपी राजवंशीले बताए । महोत्वसवका लागि जनस्तरबाट रु ३० लाख सहयोग सङ्कलन भएको बताइएको छ ।