हामी दाङको लमहीपछि होटेल खोज्नुभन्दा भाइ शिव ओलीको घर ताक्यौँ । त्यो दिनको हाम्रो बास त्यतै भयो । म बिहानै पाँच बजे उठेर हातमुख धोइ आजको यात्राको लागि तयार भइसकेको थिए । छाती गौरवले फुलेको थियो । मन औधी चञ्चल भइरहेको थियो । म त्यस स्थलमा पुग्दैछु जो इतिहासमा राज्य प्रशासन, संस्कृति तथा आर्थिक रूपमा समृद्ध थियो । जो विशाल खस साम्राज्यको केन्द्रबिन्दु थियो । मेरो मातृभाषा नेपालीको उद्गम भूमि थियो । मानव सभ्यताको एक हँगालो थियो ।
तर अहिले यहीँ कर्णाली विकटता, अभाव, रोग, भोक, गरिबी र बेरोजगारीले आक्रान्त प्रदेश भन्दै प्रचार गरिँदा म धर्मराइरहेको पनि छु । मैले कर्णालीको बारेमा जति पनि लेखरचनाहरू पढेको थिएँ त्यसमा निकै सुन्दर र कलात्मक ढङ्गले कर्णालीको कुरुप र कमजोर पक्षलाई कोट्याई–कोट्याई जोडतोडका साथ पस्किएको पाउँथेँ । वास्तविक कर्णाली टेक्नुपूर्व मेरो बनीबनाउ सोचाइ अर्को हुने कुरै थिएन ।
बिहान ६ बज्नुपहिल्यै शिवको परिवारसँग विदाबारी भएर गाडीको सिटमा बस्नेबित्तिकै म कौतुहलता पोख्छु – “हाम्रो आजको बास कहाँ होला सुनिल ? अचाक्ली कुदियो भने कालीकोटको मान्म पुगिएला कि सर ? बाटो निकै खराब छ ।” चालक सुनिलले संशय पोख्छन् ।
कालीकोट र खराब बाटोको नामले शरीरभरि काँडा जर्जरी उम्रिन थाल्छन् । साँच्चिकै कस्तो होला त कर्णालीको प्रवेशद्धार कालीकोट ? कस्तो होला कालीकोटको प्रथम बास ? कालो–कोटवाला थोरै हो र ? काली– कोटवाला । कालाकाला पत्थरहरूले बनेको ओढारभित्रको बास । काला जङ्गलभित्रका काला जङ्गली जन्तुसँगको बास । यात्राको अवसरभन्दा चुनौती झन् ठूला थिए ।
हाम्रो गाडीले पूर्वपश्चिम राजमार्गको घोडा चढेर पश्चिमतिर पैयाँ ठोक्न थाल्यो । मनमा भने एउटा अतितको बासले बुर्कुसी मार्न थाल्यो । भर्खर सडकले रुकुममा खुट्टा हालेको अवस्था थियो त्यो । काठमाण्डौदेखिको कठिन रात्रीयात्राबाट मुक्ति पाएर बिहानको नौ बजेतिर म दाङ झरेको थिएँ । मलाई दाङबाट रुकुम पुग्नु थियो । बसपार्कमा पुगी रुकुमका लागि बस खोज्दा थाहा पाएँ कि दश बजे मात्र रुकुम पुग्ने तेस्रो बस छुट्दै रहेछ ।
त्यसै दिन रुकुम पुगिने अभिलाषासाथ म बसमा कोचिइहालेँ । मान्छेको भारीभन्दा सामानको भारी बढ्ता खाँद्ने विशाल लक्ष्य लिएको झुत्रेझाम्रे खालको बस थियो त्यो । गाडीका आन्द्राभुँडी काम नलाग्ने भइसकेपछि यस्तै नयाँ गन्तव्यतिर लखेटिन्थ्यो क्यारे । त्यसैले हरेक बिसौनीमा बसको मर्मत गर्दै धकेलेर यात्राको काम चलाइएको थियो । पाङ्ग्राले एक एक पाइला चाल्दा पनि अत्यधिक लोडले ढलक ढलक ढल्किन्थ्यो ।
बसको प्रत्येक ढल्काइमा यात्रीको सातो जान्थ्यो । यात्री झुत्रेझाम्रेदेखि कालीपारेसम्मका थिए । यस प्रकारका यात्री र सामानको दोहोरो खँदाइले जीउ पाकेर गलिसकेको अवस्थामा बल्लतल्ल बेलुका सात बजे सल्यानको बाङ्गेलाँकुरी पुगियो । बसवालाले आज यतै बास बस्नुपर्ने उर्दी फिरायो । अनचिनारु ठाउँमा अनपेक्षित उर्दीले यात्रीहरूको होस् उडाइदियो । हामीभन्दा अगाडि छुटेको बस पनि त्यतै बास बसिसकेको रहेछ । भारी लोडवाला ट्रक, ट्याक्टरहरू पनि धमाधम आउँदै बास बस्ने जमर्को गर्न थाले । हामीभन्दा पछि छुटेको बस पनि आइपुगेर बासको खोजी गर्न थाल्यो ।
भर्खरै मोटरबाटो पुगेकोले आधा दर्जनभन्दा कमै संख्यामा कामचलाउ होटेलहरू खुलेका थिए । अतः गासबासको पनि कामचलाउ व्यवस्था थियो । अघि पुग्नेले खाट र तातो भात पाए । खाट भेटाउनेले दफल्ला भेटाए । त्यसपछिकाले दालको गेडाबिहीन झोल, साँघुरो बेन्च र एकसरो तन्ना भेटाए ।
अन्तिममा पुग्नेले तातो या चिसो चियाको भरमा धुलौटे भुइँमा यत्तिकै सुत्नुपर्ने भयो । म बेन्चमा सुत्न पाउने मध्यमवर्गमा परेँ । बस चढेर पहिल्यै लामखुट्टे पुगिसकेका थिए भने होटेलका उपियाँ उडुसले पनि थात छोड्न मानेका थिएनन् । त्यो बास अविस्मरणीय हुन पुगेको थियो ।
मैले त्यही बाससँग कालीकोटको आगामी बासको तुलना गर्न थालेँ । लाग्यो अझै विकट स्थानको बास त्योभन्दा पनि खराब नहोला भन्न के बेर ? ९ बजे कोहलपुरबाट कर्णाली राजमार्ग पछ्याउँदै सुर्खेततिर लाग्यौं । बर्दिया राष्ट्रिय निकुञ्जको घना कुन्जभित्र छिरेपछि कर्णालीले हामीलाई चुम्बकसरी तनतनी तान्न थालेको थियो । यहीँ निकुञ्जले छेउमै त छिन् कर्णाली ।
केही बेरको समथर भूभागको यात्रापछि वरिपरिका सुन्दर वृक्षलतासँग हल्लिँदै उकालो चढ्न थाल्यौँ । माथितिर झुन्डिएका थिए वन माहुरीका चल्लेपोलाजस्ता पहाडहरू । वनमाहुरीलाई भेरी नाम दिन्छौँ हामी । भेरी नदीको भीरमा झुन्डिएकोले वन माहुरीले भेरी नाम पाएको हो कि भेरी माहुरी छपक्कै ढाकिएकोले यो नदीले भेरी नाम पाएको हो भन्ने कुरा प्रकृतिले नै जानून् । इतिहासलाई सोध्ने हो भने त मुगलको आक्रमणबाट बच्न हिन्दुस्थानबाट भागेका भेरी नामका सम्राट दशौँ शताब्दितिरै यतातिर उक्लिएको जानकारी पाइन्छ ।
उनकै रगतले अहिलेसम्म खस जगत ढाकेको पनि सुनिन्छ । तर यो फगत इतिहास पनि हुनसक्छ । म अहिले इतिहास बुझ्ने मुडमा छैन । योगी नरहरिनाथले पार लगाउन नसकेको कर्णालीको इतिहास यो पूर्णालीले के पार लगाउन सक्दो हो । उहिलेको खस साम्राज्य त अहिलेको नेपालभन्दा पनि विशाल थियो रे ।
बर्दिया र सुर्खेतको सिमाना देउराली उक्लिएपछि देखियो पारितिर निष्कण्टक कर्णाली राज्य । पहाडका भित्ता, कुना, कन्दरा र चुलीहरू । नदीनाला, खोँच तथा ज्यूलाहरू । एकैछिनमा सानो उपत्यका छिन्चु भेटियो । छिन्चु त मेरो लागि मज्जैले ‘चिन्छु’ नै भैदिएको थियो । मलाई यतातिर लुखुरलुखुर बरालिएको देखेपछि यसले मलाई ‘चिन्छु चिन्छु !’ भन्दो हो ।
४५ सालदेखि नै नजरले चिनेको र पाइतालाले बारम्बार छिनेको ठाउँ थियो यो । हामी छिन्चु खोलालाई देब्रे पारेर किनारै किनार सालघारीको सुन्दर काखमा बयाली खेल्दै पश्चिमतिर कुद्छौँ । भेरी नदी साँगुरिएको ठाउँमा पुल हालिएको थियो र हामी सुर्खेतसँग जोडिन पाएका थियौँ । उहिले भेरीउपर फेरी हुँदा फेरीमा बेरिएर भेरीपारिसँग जोडिएको सम्झना ब्यूँतियो । केही बेरमै हामी सुर्खेत उपत्यकाको प्रवेशद्धार सुब्बाकुना पुग्यौँ ।
पहाडभित्रको विशाल उपत्यकालाई नजर नटट्टाउन्जेल फट्टाई फट्टाई हेर्न थाल्छौँ । कर्णाली प्रदेशको राजधानी पदले विभूषित सुर्खेत । कर्णालीका पहाडभित्रको विशाल उपत्यका । क्षेत्रीय सदरमुकामको दर्जा पाएदेखि विकासमा उहिल्यैदेखि दाँतेनङ्ग्रे गरिरहेको छ ।
देब्रेतिर पर्ने लाटीकोइली मन्दिर, काँक्रेबिहार तथा बुलबुल ताल खोजिरहेका थिए हाम्रा नजरहरूले । सुर्खेतमा भेट्नुपर्ने आत्मीय व्यक्तिहरूको सूची लामै थियो । तीमध्ये भेषराज रिजाल, भरत शर्मा, तुलाराम ओली, गोपाल शर्मा आदिलाई फोन सम्पर्क गर्ने कोशिस गर्दै थिएँ ।
आजै नेटवर्क के भएको थियो कुन्नी ? फोन कसैको सम्पर्क हुन सकेन । यहीँ मौका छोपेर सुनिलले गुराँसे जाने सर्टकट खोज्न थालिहाले । बाङ्गेसिमल भएर जानुभन्दा गुराँसे भएर जाँदा एकडेढ घण्टाको बाटो छोटो पर्छ भनेर ।
“यहाँ नभेटी नहुने आफन्तहरूलाई भेट्नुछ है सुनिल ! ” सुर्खेत प्रवेशपूर्व नै सुनिललाई सम्झाइरहेको थिएँ । “मान्छे भेट्न थाले कहाँ पुगिएला सर आजै कालीकोट ? सुर्खेतबाटै फर्किने भए मेरो भन्नु केही छैन । बरू उहाँहरूलाई फर्कँदा भेटम्ला नि सर ।“ सुनिलले मेरो प्रस्तावलाई टेरपुच्छर लगाएका थिएनन् । आखिर उनकै खुट्टाको भरमा थियो हाम्रो कर्णालीजत्तिकै लामो यात्रा । दिउँसोको बाह्र बज्न थालिसकेको छ ।
हामी खास बजारतिर नलागी एरपोर्टतिरबाटै सुर्खेतलाई चिरा पार्न थालिसकेछौँ । ठाउँठाउँ पिचबाटो भत्काइएको छ । हामी घरीघरी यता जाऊँ कि उता जाऊँ बनाइरह्यो । यहाँको सडके विकास पनि हामीले व्यहोरेका बाग्मती, गण्डकी वा लुम्बिनी प्रदेशकोजस्तै धुलाम्मे र कष्टसाध्य विकास थियो ।
“बाटो सोध्दा पनि यताका मान्छेले बोल्दा पैँसा पर्लाजस्तो पो गर्छन् ! ” भन्दै गुनासो गर्छन् सुनिल । मूल बाटो भेटाउनेबित्तिकै हामी डाँडोको पाउबाट मास्तिर सर्न थाल्छौँ । हातको फेर नपुग्ने सालहरूको बाक्लो जङ्गललाई छिचोलेपछि त सल्लाको गल्ला सुरू भइहाल्यो । भोकले जीउ नै ढल्लाढल्लाजस्तो हुँदाहुँदै पनि देवकुमारी, परिक्षित र सुनिलले हल्लाखल्ला उत्पात बढाइरहेका छन् – “उहिले राजा वीरेन्द्र शीतल खान यहाँसम्म आइपुग्थे रे । त्योभन्दा पहिले सुर्खेत मच्छडले मात्र घरजम गरेको सिर्फ एक कालो तलाउ थियो रे । सुर्खेत झरेका कोही जीवित नफर्किएकोले जो कोही पनि सुर्खेत झर्न डराउँथ्यो रे । आसपासमा कतै बस्ती थिएनन रे । आदि आदि ।“
हामी घरी पूर्व र घरी पश्चिम फर्किँदै उकालो मोडहरूमा हुइँकिँदै छौँ । ठूला बस र भारी बोकेका ट्रकहरूलाई निषेध गरिएकोले पिचले आफ्नो अस्तित्व जोगाउन पाएको जस्तो देखिन्छ । अलिकति माथिबाट सुर्खेतको विशाल उपत्यका नजरभरि छताछुल्ल हुन्छ ।
सुर्खेततिर नजरको जाल हान्दै हामी उक्लिँदै छौँ । छेडा नामको बस्तीलाई पछाडि पारेर थोरै मात्र के उक्लिएका हुन्छौँ जङ्गललाई नै राताम्मे पारेर लालीगुराँसहरू ढकमक्कै फुलेका भेटिन्छन् । नामै गुराँसे भएपछि बाँकी बखानको के आवश्यकता । गुराँस फुलेका लटरम्म गुराँसे डाँडाले हामीलाई अलमल्याउन खोजिरहेको थियो ।
गुराँसको झाङमा बसेर देवकुमारीलाई टिकटक बनाउने उग्र तलतल छ । गुराँसको हाङ्गो भाँचेर फूलको रस चुस्ने परिक्षीतको धोको छ । तथापि हाम्रो आजको गन्तव्य त्योभन्दा निकै माथिको थियो । हामी कहीँ कतै नरोकिएर लगातार उक्लेका छौँ । निकै उच्च शिखरको थाप्लोमा पुगेपछि रातानाङ्लेनाम पाएको सानोबजार मुखैनेर आइपुग्छ । दिउँसो भूतले खाजा खाने बेलाको खाना कम्ता स्वादिष्ट लाग्दैन ।
लेकाली भातको स्वादले लठ्ठिएर सुनिलले होटेल साउनीसँग फेरि भात खान आइपुग्ने वाचा गर्दछन् । खानापछिको यात्राको सुरूवात गर्दा एक बजिसकेको छ ।
हामी केही बेरमै गुराँसे नामको दैलेखको सिमानामा पुग्यौँ । पारिपट्टि दैलेखको सर्वाङ्ग देखिन्छ । बाक्ला बस्ती, हरिया डाँडाकाँडाहरू र हिमालका लहर छर्लङ्गै देखिन्छन् । उत्तरपूर्वबाट पश्चिमसम्मै लामवद्ध हिमश्रृङ्खलाबाट चलेको शीतल बतासले हाम्रो यात्राको थकान सर्लक्कै मेटिदिन्छ ।
दैलेख जिल्ला खस साम्राज्यको एक महत्त्वपूर्ण ऐतिहासिक स्थल पनि हो । प्राचीन अभिलेख, स्तम्भ, वीरखम्बाहरू, मठ–मन्दिरहरू, देवलहरू, गढी, दरबार, पौवा, धारा तथा नाउलीहरू जस्ता पुरातात्विक महत्त्वका सम्पदाले समृद्ध जिल्ला हो यो ।
गुराँसेमा धमाधम रिसोर्टहरू बनिरहेका छन् । प्राकृतिक भ्यूटावरको थाप्लोमा चढेर मान्छेले अप्राकृतिक भ्यूटावर पनि बनाइसकेको रहेछ । मान्छेले मान्छेलाई नै झुक्याएर मान्छे कहलिन कम्ता जानेको छैन । केही तल ओर्लँदै गर्दा गुराँसेपछि परेर अब गाईबान्ना भन्ने ठाउँ आइपुगेको छ ।
पारिपट्टिको दृश्यहरू नजरमा खाँद्दै गर्दा हामी यस्तो ठाउँमा आइपुगेका छौँ कि अगाडि बढ्ने जम्मै सडक त ढुङ्गे रेलोले पुरिएको पो रहेछ । तल छङ्गाछुर भीर माथितिर पहर । न अब अगाडि बढ्न सकिन्छ न पछाडि हट्न । तर पछि नफर्केनुको उपाय थिएन ।
हिजो मात्रै उल्टो हिँडेर कतै पुगिन्न भन्ने सुनिलले उल्टो हिँड्ने काइदा पनि जानेकै रहेछन् । सुनिलकै गाडीसँग मुस्किलले उल्टो सर्न थाल्छौँ हामी । झन्डै गुराँसेसम्म पछाडि सरेपछि डाइभर्सन बनाइएको ठाउँ फेला पर्छ । हामी मुक्तिको लामो सास फेर्दै अर्को बाटो समात्छौँ ।
हामी रिठ्ठा, चिसापानीका घुम्तीहरूमा घुम्दै तलतिर झरिरहेका छौँ । बाटो साघुरिँदै गएको छ । तलबाट बत्तिँदै आउने गाडीहरूलाई बाटो छोड्लिन घरीघरी हाम्रो गाडी पछि सरिरहेको छ । “हामी मात्रै उल्टो किन सुनिल ? ’ गुनासो पोख्छौँ सुनिलसँग ।
सुनिलको व्यथा बेग्लै छ । उनले आफ्नो ज्यान फालेर पनि गाडी जोगाउनु छ । । चाहे हामी सबैको ज्यान जावस् उनले कुनै हालतमा पनि गाडीलाई जसको तस काठमाण्डौमा गाडीधनीलाई फर्काउनुपर्नेछ । आफ्नो ज्यान त जेसुकै होस् उनको तीन वर्षको छोरो छ । त्यो छोरो जिम्मा लिएकी गुराँसजत्तिकै सुन्दर सहयात्री छिन् ।
उनीहरूको लागि भए पनि उनले आफ्नो प्राण हत्केलामै राखेरै भए पनि बडो होसियारका साथ गाडी जोगाउनु थियो । गाडी नजोगाई ज्यान जोगिँदैन । कति गहन अर्थ लुकेको रहेछ सुनिलको मुस्कानमा ? उनको अनुहारमा मुस्कान गुराँसजस्तै हरबखत फुलिरहेको छ । उनी यति होसियार देखिएकैले हामी पनि यात्राको सुरक्षादेखि ढुक्क हुन सकेका छौँ ।
सियालकोटको जिरो प्वाइन्टमा दैलेखको सदरमुकामतिर जाने बाटोलाई पूर्वतिर जान दिएर पूर्वतिरबाट आएको खोलाको किनारै किनार हामी पश्चिमतिर हानिन्छौँ । उत्तरै उत्तरतिर लाग्नुपर्नेमा पश्चिमतिर हानिँदा म संशय पोख्छु, “सुनिल ? हामी जाने त्यता होइन होला हौ ? त्यता गए त फेरि फनक्कै घुमेर सुर्खेत नै पुगिएला नि फेरि ! ” उनी मुस्काउँछन् मात्र ।
अलि पर पुगेपछि पुल तरेर पारिपट्टिको बजारमा पुग्छौँ । तल्लो डुङ्गेश्वर रहेछ । डुङ्गेश्वरको छेउमा अजिङ्गर जस्तो विशाल काय लिएर हाम्रो सामु कर्णाली नदी देखा पर्छिन् । उहिल्यैदेखि किताबका पानाहरूमा मात्र देखेको सबैभन्दा लामो नदीः कर्णाली । यो यात्राकी लक्ष्य हाम्री कर्णाली हाम्रै नजरसामु साक्षात्कार भएकी छिन् । मन तीनबित्ता उफ्रन्छ । सबैभन्दा विकट क्षेत्र कर्णालीको रगत, पसिना, धुलो, मैलो बोकेर यहाँसम्म हाम्रै स्वागतार्थ टुपुल्किएकीजस्ती लाग्छ । आहा कति सुन्दर छ यिनको आभा । कति कर्णप्रिय छ यिनको कर्णालजस्तो कलकल ध्वनि । कर्णालीको सुन्दर काया देखेर म मन्त्रमुग्ध हुन्छु ।
तल्लो डुङ्गेश्वरभन्दा उता बाटो तेर्पायँ हुँदै उकालो लागेको छ । जति अगाडि बढ्यो उति बाटो नराम्रोसँग बिग्रिएको छ । उत्तिकै साँघुरिँदै गएको छ पनि । कर्णाली हामीदेखि धेरै तल परिसकेकी छिन् । खोँचमा लुकेकी कर्णालीलाई म निज्याइनिज्याई हेरिरहन्छु ।
आफ्नो बाटो साँघुरिएको देखेर निकै साँघुरो भएकी छिन् कर्णाली । यहाँ मन लागि खेल्न पाएकी छैनन् । यतिखेर उनको अनुहारबाट नदीमा हुनुपर्ने सौन्दर्य हराएको छ । उनी निकै अँध्यारिएकी छन् । धमिराको गोलाजस्तै अग्ला अग्ला डाँडाका उस्तै थुम्काहरू पारिपट्टि लाम लागेका देखिन्छन् । उनीहरू पनि कर्णाली साँघुरिएको मौका छोपेर निकै साँघुरिएका छन् ।
तिनीहरू साँघुरिँदा पहाडमा हुनुपर्ने सौन्दर्य छिपेको छ । तिनीहरू पनि अँध्यारिएका देखिन्छन् । सधैँ मुस्कुराइरहने सुनिलको अनुहार पनि निकै साँघुरिएको छ । अनुहार साँघुरिँदा उसको मुस्कानको सौन्दर्य नै गायब भैदिएको छ । उसको अनुहार साँघुरिँदा हामी तीन यात्रीका अनुहार झन् साँघुरिएर अँध्यारिएका छन् । मान्छेबाट मान्छेको सौन्दर्य नै हराउनु कदापि राम्रो लक्षण होइन ।
उखडखाबड धुले सडकमा कन्दै गाडी बेसरी हल्लिन थालेपछि मुटु पनि कन्दै उसरी नै हल्लिन थाल्छ । बाटोमा आक्कलझुक्कल देखिने बाँदरहरू हाम्रो दशा देखेर हाँसिरहेकाजस्ता छन् । उनीहरू स्वतन्त्ररूपमा फुत्रुक फुत्रुक गरिरहेका छन् । हामी मोटर नामको मेशिनरीमा बाँधिएर फुत्रुकफुत्रुक उफ्रिरहेका छौँ । आफै उफ्रिन पाउनु र अरूले उफारेर उफ्रनुमा कति अन्तर छ ? बाँदरको हाँसोको जवाफ हामी अँध्यारिएर फर्काइरहेका छौँ ।
अरू जेजस्तो भए पनि सुनिलको अनुहार अँध्यारिनु हुँदैन भन्ने लागेको छ यतिखेर । नराम्रोसँग बिग्रिएको बाटो हेर्न छोडेर म उसको अनुहार चियाइरहन्छु । मुस्कान उदाइरहने उसको मुखबाट दिक्क लाग्दो ‘हाइहाइ‘ निस्किरहेको छ । हामी स्याँलाको पाखोबाट तलतिर घिस्रिरहेका छौँ । बिचबिचमा चल्ने बतासले अगाडिको बाटो नदेखिने गरी कुइरीमण्डल पारेर बीचबीचमा अवरोध उत्पन्न गरिरहेको छ ।
“सुनिल निद्रा लाग्यो कि ? निद्रा लागेको भए एकछिन बिसाऊँ न त है ? ।” म सुनिललाई फकाउँछु । “यस्तो साँघुरो बाटोमा कहाँ बिसाउनू ? बाटोमा बिसाउन थालेपछि त सक्किगो नि ! आज कालिकोटको मान्मसम्म जुनसुकै हालतमा पुग्नैपर्छ । मान्म पुगिएन भने बाटोमा बास बस्ने ठाउँ कतै छैन । जसरी पनि बाटो काट्नुपर्छ । यस्तो बाटोमा बिचमै रात पर्लाजस्तो छ !” उनको अँध्यारिएको अनुहारबाट निस्किएको जवाफ पटक्कै प्रीतिकर छैन ।
तर के गर्नुहुन्छ ? उनको कुरा नपत्याउनुको विकल्प छैन । उहिले आमाले जाँतो पिस्न लगाउँदा आधा घण्टामै पाखुरा फत्रक्क गल्थे । औँलाभरि फोका उठ्थे । सुनिल भने बिहानैदेखि जाँतोजस्तो स्टेरिङ ननस्टप घुमाउँदा पनि विश्राम लिन चाहँदैनन् । हामीलाई कुनै हालतमा पनि गन्तव्यमा पुर्याउने उनको लक्ष्य देखेर द्रवीभूत हुन्छु म ।
स्याला, पादुका, पालतडा आदि सानासाना गाउँहरू पार गर्दै अगाडि बढिरहेका छौँ । सडक किनारको वस्तीमा उस्तै सानासाना झुप्राहरू छन् । प्राकृतिक कपाल खौरेर खिया परेको टिनको टोपी भिरेका । फलामे रडको करङमाथि सिमेन्टी पहिरनमा तन्किएका केही अग्ला घरहरू पनि देखिन्छन् फाट्टफुट्ट ।
एउटा खोलाको पुल तरेपछि कर्णाली नजिकिन्छिन् ।
उनी नजिकिँदा उष्ण मन त्यत्तिकै शीतल भइहाल्छ । र्णाली नजिकिनुको परिणाम हुन्छः बजार भेटिनु । सानो बजारको प्रवेशद्धारमा लेखेको छ आठबीस नगरपालिका, दैलेख ।
दुरुस्तै रुकुमकै गाउँहरूका जस्तै नाम छन् यता पनि । रुकुममा पनि छ आठबीसकोट नगरपालिका । उता घना बस्ती र फाँटहरू रहेका छन्, तर, यता भने कतै पनि बाक्ला बस्ती र फराकिला फाँट देखिँदैनन् । बाटो साँघुरिएकै छ, नदी साँघुरिएकै छ, पहाड साँघुरिएकै छन् ।
सायद कालीकोट पुग्दासम्म पहाड र बाटो साँघुरिएर ब्ल्याकहोलजस्तै गुफा बन्नेछ । हामी कहिल्यै फर्किन नपाउने गरी साँघुरिँदै साँघुरिँदै त्यही कालो प्वालभित्र छिर्दै छौँ कि रु? मनलाई अत्यास र उच्चाटले बेसरी अँठ्याइरहेको छ ।
दिउँसोको साढे तीन बजिसकेको छ । खोला किनार र सियाँल परेको ठाउँबाट घाम अस्ताउन थाल्दा अझै वातावरण अँध्यारिँदै छ । ूअब कति टाढा छ सुनिल कालीकोट ? यात्राको सकसबाट आत्तिँदै सोध्छु ।
राकम आइपुगेकै छैन सर । राकमबाटै लाग्छ तीनघण्टा त । उनले अपेक्षाविपरीतको जवाफ दिन्छन् । मन झनै आत्तिन्छ तर मन बुझाउनुको विकल्प छैन ।
वारिपारिको अँध्यारो वातावरणलाई नियाल्दै अँध्यारो मात्र कल्पिइरहेको बखत अकस्मात हाम्रो गाडी चिच्याउँदै घच्याक्क रोकिन्छ । हाम्रो सातोपुत्लो उड्छ । हाम्रो अगाडिको बाटो ढाकेर एउटा गाई मरेको अवस्थामा भेटिन्छ ।
कठै यो अँध्यारोको नियति ! कुन गाडीले कतिखेर हानेर भागिदियो ? गाईको खोजखबर गर्ने कोही छैन ? न्याय दिने कोही छैन । गाईलाई छेउमा सारेर बाटो खोलिदिने वरपर कोही पनि देखिँदैन ! क्रमशः
ओलीको कर्णाली यात्रा ‘ब्लग’