आफैलाई चिन्न छोडिसकेकाहरु नै नेपाली समाजमा जीवित छन् । रतः समाजतिर बेला–बेला मानव अस्तित्वका प्रश्न तेर्सिन बेर गर्दैनन । समाज कस्तो हुनुपर्थ्यो ? मानव कस्तो हुनुपर्ने हो ? र, हुनुपर्छ !
यो निकै बहसको विषय पनि हो । यो बहस हिजो नै उठ्नुपर्ने थियो । विडम्बना ! आज एक प्रसङ्गमा मात्रै उठ्ने गरेको छ । त्यो प्रसङ्ग जातीय हिंसाकै हो ।
समाजमा जातीय हिंसा कति छ ? जसले गर्दा समाज कता डोरिएको छ ? भन्ने विषयलाई एकछिन पर राखौं । र, मानव अस्तित्वकै कुरालाई जोडौं । जब, जातीय हिंसाको लक्ष्मण रेखा भत्किन्छ तब मात्रै समाजको नयाँ रुप देख्न पाइनेछ ।
उत्पीडितले आत्मसम्मानको महसुस गर्नेछ । त्यसैदिन नेपाली समाजमा मानवीय आत्मसम्मानसहितको सद्भाव उदय हुनेछ । सबै मानव एकै ठाउँमा उभिएर नेपाली सद्भावलाई चिनाउन बल गर्नेछन् ।
होइन ! जातीय विभेदलाई यथावत् राख्न मेरो समाजले पनि बल गरिरहने अवस्था छ । यसविरुद्ध कसले बोल्ने ? बोलेपछि मानव अधिकार हनन हुन्छ ? कानुन मिचिने हो ? होइन भने हामी यस्ता कुप्रथा र कुसंस्कारविरुद्ध बोल्नैपर्ने हुन्छ ।
तर, बोल्ने समय चुकाएर बोलेका छौं । लाग्छ – समय चुकाएर बोले पनि हाम्रो आवाजले मानव अस्तित्वको एक नजिर स्थापित गरेरै छोड्ने छ । यसमा सबैले प्रतिवद्धता गर्नुपर्छ । समीक्षा गर्नुपर्छ ।
समयमा नबोलेकै कारण हाम्रो दायित्वमाथि पनि औंला उठिरहेका छन् । जसकारण नेपाली समाज आज पनि सोह्रौँ शताब्दीतिरको अभ्यास गरिरहेको छ । अझै मानव अधिकार र सामाजिक सद्भाव बुझ्नै सकिरहेको छैन ।
र, सरम नमानेर भन्न पुग्छौं – ‘जातीय विभेदविरुद्धका मुद्दा लड्दा सामाजिक सद्भाव भत्किन्छ ।’
अलि-अलि कालो अक्षर पढ्न जानेकै छौं । आफुले गरेको अपराधले अरुको मानवीय अधिकार हनन भन्ने कुरा पनि बुझेका छौं । र, पनि जानाजान यस्ता गल्ती हामीले समाजमा गरिरहेको अवस्था छ । त्यो पनि एकछिन् होइन जुगौंसम्म गरिरहेका छौं ।
फेरि भनौँ यहीँ हो सामाजिक सद्भाव ? जहाँ मानवीयता छैन । एक मानवले अर्कोलाई मानवलाई दास बनाइरहेको अवस्था छ । अनि, समाजिक सद्भावका कुरा !
भनिन्छ – ‘कसैले जातीय भेदभावविरुद्ध अन्यायको महसुस गरेर मुद्दा लड्दा सामाजिक सद्भाव भत्किन्छ ।’ जबकी एक मानवले सामाजिक सद्भावको अस्तित्व भुइँमा पुर्याइसकेको छ । र, पनि मेरो समाज अस्तित्वकै कुरा गरिरहेको छ ।
यस्ता कुतर्कले नै जातीय विभेदको पक्षपोषण भइरहेको अवस्था छ । उसो तः दैनिक रुपमा जातीय हिंसाका घटनाहरु घटिरहेकै हुन्छन् ।
जति पनि जातीय हिंसाका घटना घट्छन् – केही चर्चामा समेत पुग्छन् । न्यायको पक्षमा बोल्न केही मानिसहरु तातिन्छन् पनि । त्यसपछि केही दिनमै घटनाहरु सेलाएर जान्छन् ।
एक पटक समाजको यो दृश्यभन्दा पर बसेर नियालौं – हामी बस्ने समाज कस्तो छ ? हामी किन मानवताको उत्तराधिकारी हुन सकिरहेका छैनौं ? समाजमा बस्ने हामी सबै मानव हौं ? कसरी मानव भयौं ?
यदि मानव नै हौं भनेर जिकिर गर्ने हो भने कोही उच र कोही नीच कसरी भयौं ? कोही सानो कोही ठूलो कसरी भयौं ? त्यसको मापदण्ड कसरी निर्धारण भयो ? कसले गर्यो ? अहिलेको आधुनिक भनिने युगमा पनि ?
त्यसो होइन भने यसो होला – ‘विज्ञानले नै मानिसमाथि विभेद गर्नुपर्छ । उत्पीडित समुदायलाई चरम हिंसामा राख्नुपर्छ’ भनेर प्रमाणित गरेको होला !
होइन भने एक पटक आफैँलाई प्रश्न गरौं । समाजमा किन यस्तो भइरहेको छ ? यो विभेदकारी नियतले समाज कसरी परिवर्तन हुन्छ ? र, हामीले गर्ने भनेका छौं ।
जसकारण, ‘जात व्यवस्था’ले समाज कता गइरहेको छ ? भन्ने विषयलाई सहज अनुमान गर्न सकिन्छ ।
यसो त चेतना भएकाको लागि यति साह्रो विषय पनि होइन । रपनि विभेदको संरक्षण गर्ने भूमिकामा बाँधिरहन तत्पर छौं । के यो मानव अस्तित्व र सामाजिक सद्भावको सवालमा कायम रहने कुरा सही छ ? कुन हदसम्म सही हो ?
हामी वीर नेपालीहरुले यत्ति पनि सोच्न नसकिरहेको अवस्था छ । विश्व जगतले मानव क्षमताको प्रयोग गरेको छ । त्यहीँ क्षमताले विश्व हाक्ने प्रयत्न भइरहेको छ ।
यता नेपाली समाज भने कोठा भाडा दिँदा पनि थर सोधिरहेका छन् । अन्तरिक्षमा पुग्ने त्यो क्षमता पनि कुप्रथाको दलदल भन्दामाथि नआएको अवस्था छ ।
लिच्छविकाल शासनबाट भित्रिएको तानाशाही प्रवृत्ति भित्रको जात व्यवस्था कार्यान्वयनले दमन, शोषण, विभेद र थिचोमिचो स्वीकार गर्दै आफु बहादुरी सावित भएको प्रमाण–पत्र देखाइरहेको अवस्था छ । यो बहादुरी विश्वको कुन शक्तिसँग तुलना गरेर प्रदर्शन गर्न सकिन्छ ?
र, पनि भन्छन् – ‘जातीय विभेद विस्तारै अन्त्य हुन्छ ।’
विस्तारै कसरी हुन्छ ? सोचौँः कुसंस्कारको अन्त्य गर्ने कुनै प्रयत्न गरेकै छैन । त्यसको अन्त्य कसरी हुन्छ ? यस्ता धेरै तर्फ छन् । भन्छन् – ‘जातीय विभेद पुस्तान्तरण हुँदै जाँदा पुराना पुस्ता सकिन्छन् र विभेद अन्त्य हुन्छ । नयाँ पुस्ताले विभेद गर्ने छैन । मत मान्दिनँ मेरो आमाबाबा मान्नुहुन्छ ।’ अब, एकै छिन् सोचौँ त कस्तो आधुनिक तर्क !
जुन तर्कले जातीय विभेदको संरक्षण गरिरहेको हुन्छ । यस्ता तर्क कति सुन्ने होला ?
संविधानको धारा १६ मा सम्मान पूर्वक बाँच्न पाउने अधिकारलाई मौलिक अधिकारको रुपमा प्रदत्त गरेको छ । त्यति मात्रै नभइ संविधानकै प्रस्तावनामा सबै किसिमका विभेद अन्त्य गर्ने उल्लेख समेत गरिएको छ । अनि, हामी ‘भोली’ अन्त्यको कुरा गछौं ।
कति वर्ष भयो संविधान आएको ? कति कार्यान्वयन भए ? यसको लेखाजोखा समाजले बेला–बेला गरिरहेको अवस्था छ । बाँकी मेरो समाज भित्र दलन र जलन त उस्तै छ । यहीँ समाजको एक हिस्सा बनौं । हामी मान्छे हौं भनेर आजाव उठाइएको हो ।
हिजो उत्पीडितले आत्मसम्मानका साथ समाजमा बाँच्न नपाएर जीवनको अन्त्य गरे । अझै पनि बद्लिएको राज्य व्यवस्थामा पनि आत्मसम्मान गुमाएर बस्नु परेको छ ।
यो कतिसम्म न्यायिक र न्यायोचित छ ? कानुनले दिएको अधिकार आज पनि लागू किन भइरहेको छैन । समाजतिर बारम्बार तेर्सिएका प्रश्न हुन् ।
हिजो पुर्खाले अधिकार बुझेनन । फलतः उनीहरुको पुस्ता त्यसैगरि गयो । यो पुस्ताले छुवाछुतको सीमाभन्दा बाहिर आएर अधिकारका विषयकाबारे लडिरहेको अवस्था छ ।
यहीँ पुस्ताले आत्मसम्मान खोजिरहेको छ । समाजमा अन्य जस्तै दलित समुदायले पनि बाँच्न खोजिरहेको छ । संविधानले दिएको अधिकारमा अपनत्व खोजिरहेको छ ।
हजारौं वर्षदेखि लगाइएको जातीय विभेदको जञ्जिर तोड्न चाहिरहेको छ । जातको जालबाट निस्किन चाहिरहेको अवस्था छ । आफ्नो पहिचानको महत्व बुझ्न र अध्ययन गर्न चाहिरहेको अवस्था छ ।
त्यसैले हामी मानव नै हौं ? त्यो मानवलाई पनि अधिकार दिन सिकौँ । मानव अधिकारबारे बोलौं । अन्याय, अत्याचार, विभेद र थिचोमिचोको विरुद्ध लड्ने प्रयत्न गरौं ।