काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गरेका छन् ।
आज बिहान (मंगलबार) वीर अस्पतालमा उपचारत काभ्रे महाभारत गाउँपालिका-६ का पूर्वजनमुक्ति सेनाका सेक्सन कमान्डर भक्त रानालाई भेटेका प्रचण्ड लगत्तै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका हुन्।
प्रचण्डले सशस्त्र द्वन्द्वका कारण अपाङ्गता भएका व्यक्तिको 'अपाङ्गता प्रतिशत' निर्धारण तथा पुनरावलोकन कार्यविधि – २०७४ लाई संशोधन, सशस्त्र द्वन्द्वमा घाइते भइ अपाङ्गता भएका व्यक्तिहरुको लागत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपाङ्गताहरुलाई सूचीकृत गर्ने लगायतका माग राखेका छन्। आसन्न स्थानीय तहको निर्वाचनको मुखैमा प्रचण्डले घाइतेसँग भेट्नु र प्रधानमन्त्रीसँ यस्ता माग राख्नुलाई महत्वका साथ हेरिएको छ।
सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिको लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगताहरुलाई सूचीकृत गर्ने, सुविधासहित गणतान्त्रिक सेनानीको परिचय पत्र र सम्मान पत्र वितरण गर्नुपर्छ,’ प्रचण्डले प्रधानमन्त्री देउवासँग भने।
'जनयुद्ध', जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलन लगायतका आन्दोलनमा सहिद भएकाको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पुरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन पनि प्रचण्डले माग गरेको उनको स्वकीय सचिव रमेश मल्लले बताए।
‘सशस्त्र द्वन्द्वका क्रममा जेल जीवनयापन गरी यातनाले पीडित भएका व्यक्तिलाई सम्मान पत्रसहित राहत उपलब्ध गराउनेलगायत विषयमा कुराकानी भएको छ,’ उनले भने।