काठमाडौँ : लेखक एवं केश विन्यास उद्यमी पासाङ शेर्पाद्वारा लिखित संस्मरणात्मक कृति ‘कोरोना कथा’ सार्वजनिक भएको छ । ग्रन्थमा कोभिड–१९ (कोरोना भाइरस) महामारी प्रभावमा रहेका नेपाली र समग्र जनजीवनले भोग्नुपरेको समस्या र यसले पारेको असरलाई लिएर लेखिएको छ । कोरोना कथाको आज यहाँ आयोजित एक कार्यक्रमबीच वरिष्ठ आँखारोग विशेषज्ञ डा. सन्दुक रुइतले विमोचन गर्दै कोरोना महामारीसँग जुधेको सङ्घर्षशील कथालाई सम्बोधन गरेको पुस्तकले नेपाली लेखन क्षेत्रमा आयाम थपेको विश्वास व्यक्त गरे ।
नेपाल माउन्टेन एकेडेमीका अध्यक्ष लाक्पाफुटी शेर्पाले महामारीको सङ्घर्ष र भोगाइलाई सटिकरूपमा समेटिएको कृति धेरैका लागि सन्देशमूलक रहेको बताए । वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले कोरोना महामारीको सचित्र पुस्तक सङ्ग्रहणीय भएको बताए । नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्य माया ठकुरीले कोरोना महामारीको पीर, व्यथा र कथा समेटिएको कोरोना कथा नेपाली साहित्यका लागि थप उपहार भएको धारणा राखिन ।
पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले मार्मिक ग्रन्थले महामारीको प्रभाव र जनजीवनलाई उजागर गरेको उल्लेख गरे । पुस्तकका लेखक शेर्पाले भिडियो सन्देशमार्फत कोरोना महामारीबाट ग्रसित अमेरिकाको जनजीवन, नेपाली समुदायले भोगेको समस्या र सामाजिक विषयवस्तुलाई पुस्तकमा समेटेको बताए । वरिष्ठ चिकित्सक डा. राजेन्द्र बरालले कोरोना कहर विस्तारै सामान्य बनिरहे पनि अझै स्वास्थ्य सावधानी अपनाउन र स्वास्थ्य मापदण्डको परिपालना गर्न जरुरी भएको उल्लेख गरे ।
विगत लामो समयदेखि गीत, कविता र समसामयिक विषयवस्तुमा केन्द्रित रचनामार्फत दर्शक स्रोताहरुसँग जोडिनुभएका पासाङ शेर्पाका ‘नरोऊ तिमी भनौँ भने, सयौँ डाँडा काट्दै आएँ, साँझ ढलेको थाहै पाइनँ’ जस्ता चर्चित गीत सिर्जनामध्येका हुन् । हाल अमेरिका निवासी शेर्पाको लेखनका अतिरिक्त विभिन्न सामाजिक एवं सांस्कृतिक कार्यहरुमा पनि उत्तिकै सक्रियता रहेको छ ।
पासाङ–डोल्मा फाउन्डेशनले प्रकाशनमा ल्याएको उक्त पुस्तकको मूल्य नेपाली रु ५०० र अमेरिकी डलर २५ रहेको छ । कूल ५६६ पृष्ठको पुस्तकमा कोरोनाअघिको संसार, बन्दाबन्दीमा घर थन्किँदा, राहतको सेरोफेरो, बन्दाबन्दीपछिको जीवन शीर्षकमा विभिन्न विषयमा संस्मरण समेटिएको छ ।