काठमाडौं : कार्यकर्ताको केही भर हुँदैन । कहिले आउँछ त कहिले जान्छ । त्यसले कुनै पनि पार्टीको विचारबाटोलाई असर पर्दैन । यसमा नेतृत्वकर्ताले पनि केही मानेका हुँदैनन । यसकारण उनीहरुको मानसिकता हुन्छ – ‘यो गयो त अर्को आउँछ ।’
तर, कुनै नेतृत्वदायी भूमिकामा रहेको लिडरले विचारबाटो भुल्नु भनेको उक्त पार्टी कमजोर मात्रै नभइ विपक्ष बलियो हुन्छ । उदाहरणका लागि नेपालमा थुप्रै छन् । त्यसमध्येको एक नेकपा माओवादी केन्द्र हो ।
०६४ को निर्वाचनमा देशकै ठूलो दल बनेको माओवादी आजसम्म आउँदा तेस्रो/चौथो दलका रुपमा गनिन्छ । त्यतिबेला जनयुद्धको रापताप थियो । मुद्दा थिए । समस्या थिए । नेपाली जनताले विकल्प पनि खोजिरहेका थिए ।
रतः माओवादी देशकै ठूलो पार्टी बनेको थियो । जनयुद्ध लडेर सत्ता र शक्तिमा पुगेको माओवादी यो अवस्थामा आउँला भन्ने कमैले कल्पना गरेका थिए ।
कुनैबेला देशकै ठुलो पार्टी आज यो अवस्थामा आउनुको कारण के हो ? कारक को हो ? यसको हिसाबकिताब अध्यक्ष प्रचण्डसँगै होला । रपनि, भनौं केही व्यक्तिगत स्वार्थ र गुटगत राजनीतिले आज माओवादीको शक्ति निर्बलियो भएको दुई मत छैनन ।
निर्वाचन मुखैमा आउँदा माओवादीसित न जनतासँग जाने गतिला नारा छन् न कार्यकर्ताको व्यवस्थापन नै । गठबन्धनको भरमा हिँड्ने कि आफ्नै रणनिति तयार गर्ने ? ढुलमुलमै छ ।
यसबीच नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक ठम्मर बिष्टले पार्टी छोँडे । नेकपा एमाले प्रवेश गरेको पनि दूईदिन मात्र भएको छ ।
उनीसहित सुर्खेतका दर्जनौं माओवादी केन्द्रका नेताले एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हातबाट टिका लगाएका थिए । यो अवस्था पनि माओवादी र प्रचण्डले निम्त्यिाएका हुन् ।
किन ! कर्णाली प्रदेशसभा भित्र जनताका मुद्दाका पक्षमा बोल्नेहरुको लिस्ट बनाउँदा माओवादी केन्द्रबाट ठम्मर विष्टको नाम सधैँ पहिलो हुन्थ्यो । त्यो महेन्द्र शाहीको पालामा होस् त जीवन शाहीको पालामा ।
सरकारलाई ट्रयाकमा ल्याउन बल गरेकै हुन् । त्यति गरेपनि पार्टी नेतृत्वमै परिवर्तन नआएपछि जनयुद्ध लडेको पार्टी छोँड्न बाध्य भए । माओवादीमा गरेको २० वर्षको राजनीतिलाई विराम लगाउन बाध्य भए । र, एमाले रोज्न पुगे ।
उसो त ठम्मर विष्ट नेकपा ओली नेतृत्वको केन्द्रीय कमिटीमा समेत मनोनित भएका हुन् । तर, माओवादी नेतृत्व परिर्वतन हुन्छ कि भनेर फेरि फर्किएका थिए ।
जनयुद्ध लडेँको पार्टी । त्याग गरेको पार्टी । तपस्या गरेको पार्टी । यसैमा योगदान गर्नुपर्छ भन्ने ध्येयले माओवादीमा फर्किएका विष्ट बेला–बेला नेतृत्वबाट प्रताडित हुन पुगे । उनी भन्थे – ‘प्रमुख सचेतकको पद दिइयो । काम होइन । कुनै पनि दलका निर्णय केन्द्रबाटै हुने गर्थे ।’
उनलाई माओवादीमा फर्काउँदा कर्णाली सरकारमा मन्त्री बनाउने प्रचण्डले बचन समेत दिएको अवस्था थियो । पछिल्लो समय कर्णाली सरकारमा मूर्ति चोरीको अभियोगमा दुई सजाय काटेकादेखि गुटबाट मन्त्री हुँदा ठम्मर नजरमा परेनन ।
हो – राजनीतिमा स्वार्थ हुन्छ । सम्झौता हुन्छ । सहकार्य हुन्छ । ठम्मर विष्टमा पनि थियो । तर, कुन हदसम्मको ? समीक्षा गर्नैपर्ने हुन्छ ।
कर्णालीमा महेन्द्र शाही नेतृत्वको सरकार हुँदा पार्टीभित्रै गुट खेतीपाती भने सानो थिएन । काठमाडौंबाट मन्त्री हुने योजनाले कर्णाली पुगेका ठम्मर बिष्टलाई प्रमुख सचेतकको पद दिएर थन्काइयो ।
नेकपा हुँदा एमाले लाइनमा गएका बिष्टलाई मन्त्री बनाउने पक्कापक्कीको बचन दिएपछि माओवादीमा फर्किएका थिए । उनीसँगैका एमालेमा लागेका धर्मराज रेग्मी एमालेमै रहे । यद्यपी रेग्मीको सांसद पद भने रहेन ।
२ जेठ ०७८ मा कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन भयो । उक्त पुनर्गठनमा चर्चामा रहेका ठम्मर बिष्टको लिस्टमै नाम परेन । उनले माओवादी नेतृत्वबाट यस्ता उपहार धेरै पाएका छन् । जसले गर्दा आफुसहित कमान्डमा रहेका नेता कार्यकर्तालाई एमालेको हातबाट टिका लगाउन लगाए ।
यति भनेपछि ठम्मर बिष्टले केही पनि गरेनन भन्ने होइन । आफ्नै पार्टीको सरकारलाई ढाल्न बल समेत गरेकै हुन् । तर यसमा स्वार्थ र गुट राजनीति बलियो हुँदा यस्तो अवस्था सिर्जना भएको हो ।
हालै केही महिनाअघि जीवन शाही नेतृत्वको सरकारमा पनि यसको चर्चा भने चलेकै छ । १२ जना सांसद हुँदा हुँदै गैरसांसद त्यसमाथि मूर्ति चोरीको अभियोगमा जेल बसेकालाई मन्त्री बनाएर माओवादीले आफ्नो धज्जी आफै उडाएको पनि आरोप छ ।
कार्चेनलाई मन्त्री सिफारिस गर्दा स्वमं दलको प्रमुख सचेतकलाई समेत थाहा नभएको अवस्था थियो । यो प्रतिनिधि घटना हो । यस्ता धेरै घटना घटेका छन् । जसले माओवादीको निर्बलियो दिशा प्रस्ट हुँदै गएको छ ।
अन्ततः ठम्मरले विष्ट एमालेमा प्रवेश गर्न बाध्य भए । उनको प्रवेशले माओवादीका केही नेता कार्यकर्ताको तर्क छ – ‘हिजो विप्लवदेखि बाबुराम हुँदै आज रामबहादुर थापासम्मले पार्टी छोडेका त हुन् । ठम्मर विष्टले छोड्दा के भयो र ? ।’
हो तः कसलाई के फरक पर्ने हो र ? तर एक पटक पछाडि फर्केर हेरौं त । हिजोको माओवादी र आजको माओवादी । देशकै ठूलो दल बनेको माओवादी कुन स्थानतिर छ ? अहिले गठबन्धनको बैसाखी किन चाहिरहेको छ ? माओवादी कस्तो अवस्थामा छ ?
कर्णालीमा माओवादी केन्द्रका लागि ठम्मर एक व्यक्ति मात्रै थिएनन माओवादी जोगाउने विचार समेत थिए । त्यो विचार माओवादीले गुमाएको छ ।
यसबारे माओवादी नेतृत्वले समीक्षा गरेर अगाडि बढ्न जुरुरी छ । नत्र, योभन्दा आगामी निर्वाचनमा माओवादी कुनस्तरमा पुग्ने हो ? भविस्यवाणी गर्न सकिँदैन ।