फाइल फोटो
खलंगा : नेपालमा लागूऔषधको कारोबार पनि बढ्दै गएको छ । लागूऔषधबाट बेलैमा यूवालाई जोगाउन नकेमा भविष्यमा ठूलो जनशक्तिलाई सुधारगृहमा राख्नु पर्ने अवस्था आउने गृह मन्त्रालय लागूऔषध नियन्त्रण महाशाखाका उप-सचिव गोकर्ण प्रसाद उपाध्यायले बताए ।
उनले भने – ‘मुलुकका ७७ वटै जिल्ला लागूऔषधको कारोबार भइरहेको अवस्था छ । नेपालमा (अफिम,कोकेनर गाँजा लगायतलाई लागूऔषधका रुपमा लिने गरिएको छ । लागूऔषध नियन्त्रण ऐन २०३३ छ । तर नेपालको ७१ प्रतिशत यूवा यस्तो कुलतमा फसेको तथ्यांक छ । फसेका मध्ये ७० प्रतिशत बेरोजगारी छन् । यसलाई अन्त्य गर्न युवाका लागि नीति निर्माण, रोजगारको व्यवस्था र चेतनाको विकास गर्न जरुरी छ । यसको विकल्प छैन ।’
उनका अनुसार, औसतमा १९ देखि २५ वर्ष उमेरका यूवा युवतीले धेरै प्रयोग गरिरहेको तथ्यांक छ । नेपालका २६ हजार कैदी मध्ये २१ प्रतिशत कैदी लागूऔषधको कारोबारको कसुरमा सजाय भोगिरहेको उपाध्यायले बताए ।
हाल नेपालमा १ लाख ३० हजार ४ सय २४ जना लागूऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । हाल नेपालमा दुइ सय सुधार गृह सञ्चालित छन् । जसले कुलतमा फसेका यूवालाई परामर्श दिने गरिरहेका छन् । तर, सरकारी लगानीका एक पनि सुधार गृह छैनन् ।
तीन तहका सरकारले लागूऔषधविरुद्धका कार्यक्रम नगरेमा २०३० सम्म नेपालमा ४३ प्रतिशत लागुऔषधको प्रयोग बढ्ने र ठूलो जनशक्ति कुलतमा फसेको गृह मन्त्रालयको तथ्यांकको प्रतिवेदनमा उल्लेख छ ।
अब माग घटाउने, उपचार तथा पुर्नस्थापना, जोखिम न्यूनिकरण, सोध र विकास र सहकार्य साझेदारी, स्रोत परिचालन लगायतका कार्यक्रम गर्नुपर्ने उपाध्यायले बताए ।
कर्णालीका १० वटै जिल्ला लागुऔषध जोखिम रहेको बताइएको छ । रुकुम पश्चिम र जाजरकोटमा अवैध अफिम खेती हुने गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार, लागुऔषध ब्यूरोमा छ जना मात्रै जनशक्ति छन् । लागूऔषध नियन्त्रणमा परिणामुखी काम जनाइएको कछ ।
यद्यपी सीमित स्रोत साधनबीच मुद्दा दर्ता, पक्राउ लगायतका काम गरिरहेको जानकारी दिइएको छ । त्यस्तै प्रदेश प्रहरीको तथ्यांक अनुसार, आव २०७६/७७ कर्णालीका ७ जिल्लाबाट १ सय २३ जनालाई पक्राउ गरिएको र ६५ वटा मुद्दा दर्ता भएका छन् ।
यस्तै आव ०७७/७८ मा १ सय ३६ जना पक्राउ र ७० वटा म्द्दा दर्ता भएका छन् । ०७८ देखि हालसम्म १ सय ३० जना पक्राउ र ३० वटा मुद्दा दर्ता भएका छन् ।
जाजरकोट र रुकुम पश्चिमा भइरहेको अवैध अफिम खेतीले कर्णालीमा लागुऔषधको प्रयोग बढेको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी गणेशबहादुर बमले बताए । हाल कर्णालीमा ५ वटा सुधार केन्द्र सञ्चालनरत अवस्थामा भएको उनले जानकारी दिए ।
सबैको सहयोगबाट मात्र लागूऔषध नियन्त्रण हुन्छ : मन्त्री शाही
कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध रोकथाम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बुधबार जुम्लामा आयोजित ‘लागूऔषध तथा मदिरा नियन्त्रण’ सम्बन्धी प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शाहीले लागूऔषध रोकथाममा कर्णाली सरकार प्रतिवद्ध भएको बताएका हुन् ।
लागूऔषधविरुद्ध नीति निर्माण, यूवा परिचालन, स्रोत साधनसहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाइ, र चेतनामुलक कार्यक्रममा जोड दिएर यसलाई नियन्त्रण गर्नमा सरकार प्रतिवद्ध उनको दाबी छ ।
यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईँले पाँच वर्षको अवधिमा जुम्लामा २० वटा लागुऔषधविरुद्धको मुद्दा दर्ता भएको बताइन् । नागरिकको सहयोग विना प्रहरी एक्लैले जनशक्ति, स्रोत साधन अभावबीच पनि कुनै पनि घटना न्यूनिकरण गर्न नसक्ने भएकाले हातेमालो गर्नुपर्ने प्रजिअको जोड थियो ।