८ भाद्र, सुर्खेत । हिमा गाउँपालिका जुम्लामा अप्रत्यासित रुपमा कोरोना सङ्क्रमितहरु बढ्दै गएपछि अहिले गाउँ–गाउँमा पुगेर प्रहरीले माइकिङ्बाटै सचेतना जगाउन थालेको छ । गएको साता आठ र यही साता हिमा गाउँपालिकामा ५१ जनामा कोरोना सङ्क्रमण देखिएपछि अहिले उक्त गाउँपालिकामा ठूलो त्रास फैलिएको छ ।
गाउँपालिकामा निषेधाज्ञासमेत गरिएको छ । प्रहरीले गाउँ तथा टोल–टोलमा पुगेर कोरोना भाइरसबारे सचेतना जगाउने गरेको छ । स्थानीय नागरिकलाई सचेत हुन चार दिनदेखि माइकिङबाटै प्रहरीले पहरा दिएको छ । कोरोना सङ्क्रमण थप हुन नदिन तथा अनावश्यक काममा भिडभाड गरेर आउने समस्याबाट मुक्त गराउन गाउँपालिकाको कार्यालय जुँगाडदेखि आचार्यलिहीसम्म माइकिङ गरेर सचेत गर्न थालिएको बड्की प्रहरी चौकी जुम्लाका प्रहरी सहायक निरीक्षक दिलेन्द्रराज पन्तले जानकारी दिए ।
“जिल्ला प्रशासन कार्यालयले गरेको आदेशअनुसार प्रहरीले सम्पूर्ण गाउँपालिकाको एक गाउँबाट अर्को गाउँ अनावश्यक काममा नजाउँ, भिडभाड नगरौ भन्दै पहरा दिईरहेका छौ,” प्रसनि पन्तले भने, “पछिल्लो समयमा सङ्क्रमित बढेपछि अहिले स्थानीय आफै सचेत भईरहेका छन् ।” गाउँपालिकाका जोगिवाडा, देवारगाउँ, आचार्यलिही, मोफ्लासहितका केही गाउँका स्थानीय र गाउँपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, व्यापारीहरु गरी सङ्क्रमण भएका ५९ जना कोरोना सङ्क्रमतिमध्ये १२ प्रतिष्ठानमा छन् भने बाँकी सबै गाउँकै विद्यालयको आइसोलेसनमा राखिएको छ ।
जुम्लामा राजनीतिक पार्टीको भेला र धार्मिक मेलाले सङ्क्रमण बढाएको स्थानीय सरोकारवालाहरुले बताएका छन् । हिमामा एक्कासी सङ्क्रमित देखिएपछि प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापासहितको कोभिड नियन्त्रण व्यस्थापन समितिको टोली सङ्क्रमित क्षेत्रमा पुगेर दुई स्थानमा आइसोलन तयार गरी सङ्क्रमतिलाई राखेर फर्किएको थियो । अहिले गाउँपालिकाका सङ्क्रमितका सम्पर्कमा रहेका व्यक्तिको खोजी गरेर स्वाब लिने काम भईरहेको गाउँपालिकाका अध्यक्ष रजबहादुर शाहीले जानकारी दिए ।
हाल भैरव आधारभुत विद्यालय जोगिबाडा र कालिका मावि कुडुमा सङ्क्रमित बिरामीलाई बसालिएको अध्यक्ष शाहीले बताए । यता प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाभर बढी भिडभाड हुने क्षेत्रमा पिसीआर परीक्षणको दायरा बढाईएको बताउनुभयो । गाउँपालिकामा बढेको कोरोना सङ्क्रमणका कारण आजभोलि त्यहाँका सबै धार्मिक कार्यक्रम पनि रद्ध गरिएको स्थानीय खम्बा शाहीले जानकारी दिए। उनका अनुसार यस समयमा अनिवार्यरुपमा गरिने धार्मिक पूजाआजाका सम्पूर्ण काम सामान्य तरिकाले सम्पन्न गरिँदै आएको छ । प्रहरीको माइकिङ्ले स्थानीयलाई हरेक कुरामा सचेत गराएको उनको भनाई थियो ।