खलंगा : जुम्लाको तातोपानी गाउँपालिका–७ सर्मी किसानलाई मेशिनबाट राडीपाखी बनाउने सिकाइएको छ । त्यहाँका स्थानीयको आम्दानीको स्रोत भेडाको ऊनबाट उनीहरुलाई आत्मनिर्भर बनाउनका लागि उक्त सीप प्रदान गरिएको हो ।
त्यहाँका स्थानीयको अहिले पनि आम्दानीको स्रोत भेडा पालन हो । त्यसैले पनि उनीहरुलाई मेशिनबाट राडीपाखी बनाउने सीप प्रदान गरिएको हो । उनीहरुलाई ऊनबाट राडीपाखी, स्वीटर कोट लगायतका सामग्री बनाउन सीप प्रदान गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले बताए । उनले भने, ‘यसअघि यी सबै सामग्री बुन्नका लागि पुरानो परम्पराको चादको प्रयोग हुँदै आएको छ ।’
राडीपाखी, लिउ र कोट बुन्न करिब एक हप्ताको समय लाग्ने गरेको थियो । प्रमुख देवकोटाका अनुसार, कर्णाली प्रदेश सरकारद्धारा मेशिन उपलब्ध गराएर ऊनबाट विभिन्न सामग्री कसरी निर्माण गर्ने रु सिकाइएको छ ।
मेशिनबाट राडीपाखी बुन्ने २१ जनाले सिकेका छन् । उनीहरुलाई उक्त सीपको प्रमाण–पत्र समेत दिइएको थियो । पहिलो पटक मेसिनबाट राडीपाखी बन्ने सीप पाउँदा निकै खुसी भएको सीप सिकेका बताउँछन् – ‘खुसी छौँ । जीवन निर्वाह गर्ने सहज बाटो हुनेछ ।’
राडीपाखी बुनेर आत्मनिर्भर हुन प्रेरित गरेको तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानले बताए । उनले भने, ‘अब राडीपाखी पर्याप्त बुनेर बजारसम्म लैजाने वातावरण बनाउँछौं । सीप भत्तामा सीमित भएका थुप्रै उदाहरण देखिन्छन् । तर सीप थन्काउनु राख्नु राम्रो होइन । राज्यले पछाडी परेका वर्गको जीवनस्तर उकास्न सीप दिएको हो ।’
त्यस्तै पहिले एक हप्तामा एउटा राडी बुन्दै आएका भेडा पालक किसानले अहिले मेशिनको प्रयोगले सहजै रुपमा राडीपाखी बुन्न थालेका छन् । हातले राडीपाखी बुन्दै आइरहेका जुम्ला तातोपानी गाउँपालिका–७ सर्मीगाउँका स्थानीय चन्द्रबहादुर कुँवर मेहिनले बुनेर आत्मनिर्भर बन्ने सपना देखेको बताए ।
उनले भने, ‘सर्मीका स्थानीयको आम्दानीको स्रोत भेडा पालन हो । हामीले लिएको दुई महिने तालिमले ठूलो उपलब्धि सिकाएको छ । खाली पुरानै शैलीको सीपले बजार पाउँदो रहेनछ । अब मेशिनबाट सबै छिनो हुने भयो ।
ऊन केलाउन, डोरी बाट्न तथा राडीपाखी बुन्न सीप सिकेकी कलाकोसे कुँवरले मेशिनबाट बुन्न सहज हुने गरेको बताइन् । उनले भनिन्, ‘यो सीप आत्मनिर्भर हुने आधार हो । चुलोचौकोमा र घरायसी काममा व्यस्त देखिने महिलाको लागि जीवन झन् उपयोग भयो ।’
भत्तामुखी र अनुदानमुखीको मानसिकता हटाउनुपर्नेमा उनको जोड छ । भन्छिन् – ‘पहिला घरमै उत्पादन भएको ऊन फाल्ने काम गरेका थियौं । अब सीप सिकेर सदुपयोगसँगै कमाइ पनि हुने भएको छ । सीप महिलाको हितमा छ ।’
यस्तै प्रशिक्षक धनपति बुढा सीप लिनु र दिनु सजिलो नभएको बताए । उनले भने – ‘यसमा राज्यले ठूलो लगानी गर्नुपर्छ । अझै जुम्लामा कच्चा पदार्थको समस्या छ । राज्यको लगानी धेरै गर्नुपर्ने देखिन्छ । सीप छिटो र छरितो छ । फाइदा गर्न सकिने छ । यो हिमाली क्षेत्र तः अनिवार्य छ ।’
सीपको उपयोग गर्नु सबैको कर्तव्य भएको उनको जोड । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख श्रीकृष्ण देवकोटाले राज्यले गरेको लगानी खेर जान नदिन आग्रह गरेका छन् । उनले भने – ‘सीपको उपयोग राम्रोसँग गर्नुपर्ने हुन्छ । यस्तै अवसर थुप्रै आउँछन् । अनुदानको मुख ताक्ने प्रवृत्तिले प्रगति हुँदैन । सीप सिकौँ । उद्यमी बनौँ ।’
कार्यक्रम संयोजक रविन्द्र रावलले तालिमको उद्देश्य भनेको दिगो सीप आर्जन गर्नु रहेको बताए । ‘सधैंभरि सरकारको सहयोग दिँदैन । आफुले नै यसको जोड गरेर सीपको प्रयोग गर्नुगर्ने हुन्छ’ उनले भने, ‘योसँगै हामीले माछा मार्ने जाल बुन्ने सीप सिकाएको छौं । अब लाभदायक बनाउने तपाईंको हातमा हुन्छ ।
सीप सिक्नु नै दिगो विकासको एउटा पाटो भन्दै हरेक नागरिकले सीप सिक्न आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।