काठमाडौँ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रा. डा. शशाङ्क कोइरालाले चिकित्सकले उपचार मात्रै गरेर नहुने भएकाले बिरामीको भावना पनि बुझ्नु जरुरी रहेको औल्याए । उनले सहरमा मात्रै बसेर चिकित्सकले समाज बुझ्न नसक्ने जानकारी गराउँदै गाउँगाउँमा सेवा दिन चिकित्सकलाई अनुरोध गरे । “जबसम्म डाक्टरले गाउँ घुम्दैन तबसम्म जनताको भावना बुझ्न सक्दैन, घुमेपछि मात्रै समाजको अङ्ग बुझ्नसक्छ,” उनले भने ।
फरक प्रसङ्ग जोड्दै नेता डा. कोइरालाले राजनीति सही ढङ्गले नचलेको बताए । राजनीतिलाई ठीक ठाउँमा पु¥याउनका लागि आफू चिकित्सा पेसा छाडेर राजनीतिमा आएको उनको भनाइ थियो । उनी नेपाली कांग्रेस सही मार्गमा नरहेकाले कांग्रेसको बाटो सच्याउने चाहना आफ्नो रहेको बताए । उनले चुनाव महँगो भएकामा चिन्ता व्यक्त गर्दै भने, “पहिलो चुनावमा ६० लाख खर्च भयो दोस्रोमा रु तीन करोड गत चुनावमा त्योभन्दा झन् बढ्यो ।”
उनले आफू प्रधानमन्त्री भए कृषिलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने वचनबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री भएको खण्डमा कृषिमा परिवर्तन ल्याउँदै ल्यान्ड बैंकको योजनामार्फत प्रतिजमिनलाई भाडामा दिई प्रयोग गर्नुपर्नेमा जोड दिए ।
नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन भट्टराईले कतिपय समाचारकै कारण चिकित्सक र बिरामीको दूरी बढेको जिकिर गर्दै त्यसलाई सही मार्गमा अघि बढाउन सबै सरोकारवालाहरुसँग मिलेर करिकुलम आवश्यक रहेको बताए । उनले नेपालका चिकित्सक सक्षम रहेको तर यहाँको नीति राम्रो नभएकाले धेरै चिकित्सक बाध्य भएर विदेशिएको जानकारी गराए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले सामाजिक सङ्घसंस्थाको सिफारिसमा यसरी चिकित्सकलाई सम्मान गर्नु फरक र महत्वपूर्ण रहेको उल्लेख गर्दै मिडियाले गलत मात्रै लेख्दैन राम्रो पनि गर्छ भन्ने उदाहरण आजको कार्यक्रम हो भने ।
नकारात्मक खोजी भयो भने पनि त्यो सच्याउनका लागि हो भनेर बुझ्नुपर्नेमा उनको जोड थियो । नेपाल प्रेस युनियनका सल्लाहकार शिव लम्सालले मिडियाससँग विषयगत रुपमा समन्वय गर्न सके धेरै असमझदारी हटेर जाने भएकाले पत्रकारिता बुझन् चिकित्सकलाई आग्रह गरे । चिकित्सकले कुरा बुझाउन नसक्दा केही समस्याहरु आएको उनको भनाइ थियो ।
नेपाल औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले कोभिडले स्वास्थ्य के हो र यसको कसरी विकास गर्नुपर्छ भन्ने सन्देश दिएको बताए । सम्मानितका तर्फबाट मन्तव्य राख्दै मिर्गौला रोग विशेषज्ञ प्रा. डा. माधव घिमिरेले आफूले गरेको कामलाई समाजले हेर्दोरहेछ भन्ने महसुस आजको कार्यक्रमबाट भएको बताए ।