दमौली : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकमा पुनःनिर्माण सम्पन्न भएको अकलादेवी मन्दिरको आज उद्घाटन गरेका छन् ।
अकलादेवी मन्दिर व्यवस्थापन समितिले पुनःनिर्माण गरेको मन्दिरको उनले उद्घाटन गरेका हुन् । सोअवसरमा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटनले गण्डकी प्रदेशको समृद्धिमा योगदान दिन सक्ने बताए । प्रदेशभित्र रहेका धार्मिकस्थलको प्रवद्र्धनका लागि प्रदेश सरकारले सहयोग गर्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता व्यक्त गरे ।
जगतगुरु शङ्कराचार्य, गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विश्वकर्मा, गण्डकी प्रदेशसभा सदस्य आशा कोइराला लगायतले अकलादेवी मन्दिरको धार्मिक महत्वबारे प्रकाश पारे । सो अवसरमा मुख्यमन्त्री पोखरेलले मन्दिरमा पूजाअर्चना समेत गरेका छन् ।
विसं २०७६ वैशाख १६ गतेदेखि पुनःनिर्माण थालिएको मन्दिरको काम हालै सम्पन्न भएको मन्दिर निर्माण समितिका अध्यक्ष रामभक्त घिमिरेले जानकारी दिए । रु ८० लाखको लागतमा मन्दिर निर्माण भएको छ । मन्दिरमा तामाको छानो राखिएको छ । छानो राख्नका लागि मात्रै रु १२ लाख भन्दा बढी खर्च भएको घिमिरेले बताए । यस ठाउँलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यसहित पूर्वाधार निर्माणको कामलाई पनि सुरु गरिएको छ । त्यहाँ शिवालय मन्दिर, मूल प्रवेशद्वार, वनभोजस्थल, हरित उद्यान, भजनकिर्तनको भवनका पूर्वाधार बनेका छन् ।
गण्डकी प्रदेश सरकार, म्याग्दे गाउँपालिका लगायतको सहयोगमा यहाँ पूर्वाधार निर्माणको काम गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राधिका पन्तले बताइन । मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उद्देश्यसहित गुरुयोजना बनाइएको र गुरुयोजना बमोजिम नै मन्दिरको पुनःनिर्माण गरिएको बताइएको छ । मन्दिर पुनःनिर्माणका लागि समितिले महायज्ञ गरेर रु एक करोड सङ्कलन गरेको थियो ।
मुख्यमन्त्री पोखरेलले आजै म्याग्दे–१ गुणादीस्थित महेन्द्र माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे । योङ लिभिङ फाउण्डेशनमा निर्माण सम्पनन दुई भवनको मुख्यमन्त्री उनले उद्घाटन गरेका हुन् ।