फाइल फोटो
वीरेन्द्रनगर : सुर्खेतमा समृद्ध कर्णालीको विकासका बारेमा तीन दिने विशेष कार्यक्रम हुने भएको छ । दोभान मल्टिमिडियाको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयमा तीन दिने कार्यक्रम हुने भएको हो ।
कार्यक्रम सुर्खेतको शुभ होटलमा चैत २०, २१ र २२ गते हुन लागेको हो । शुभ होटलमा २० र २१ गते आयोजना हुने कार्यक्रममा कर्णालीका सबै स्थानीय तहका प्रमुख जनप्रतिनिधि, प्रदेश सांसद तथा मन्त्री र कर्णालीबाट प्रतिनिधित्व गर्ने संघीय सांसद तथा मन्त्री एवं नेताहरुको सहभागिता रहनेछ ।
कर्णालीका मुख्यमन्त्री जीवन शाही र अर्थमन्त्री बिन्दमान बिष्टले कर्णालीका स्थानीय तहका राम्रा र उपलब्धीमुलक कामबारे सबैमाझ जानकारी गराउनका लागि सुर्खेतमा आयोजना गर्न लागिएको कार्यक्रम उपयुक्त भएको बताएका छन् ।
कर्णालीका जनप्रतिनिधि, प्रदेश सरकारका प्रतिनिधि र संघीय सरकारका प्रतिनिधि एकै ठाउँमा आएर कर्णालीको विकासका बारेमा साझा चिन्तन र बहस गर्ने कार्यक्रम महत्वपूर्ण भएको पनि मुख्यमन्त्री शाहीले टिप्पणी गरेका छन् ।
‘संघीयताको कार्यान्वयनका क्रममा तीन तहका सरकारबीच समन्वयका रुपमा यो कार्यक्रम महत्वपूर्ण छ,’ उनले भने, ‘यस्ता कार्यक्रमले तीन तहका सरकारबीच आवश्यक समन्वय गराएर आगामी दिनमा यस किसीमका गतिविधिले कर्णालीको विकासमा टेवा पुग्छ ।’
तीन दिने कार्यक्रममा समग्रमा २० वटा जति सेसनमा छलफल हुने कार्यक्रम संयोजक पत्रकार विष्णु विवेकले बताए । उनका अनुसार २० वटामध्ये १८ वटा सेसन नियमित हुनेछन् भने दुई वटा विशेष हुनेछन् । तीमध्ये तीन वटा सेसन शुभ होटलभन्दा बाहिर हुनेछन् ।
शिक्षाको सेसन सुर्खेतको नमूना जनमाविको प्रांगणमा हुनेछ भने स्वास्थ्यबारेको सेसन प्रदेश अस्पताल र पर्यटनसम्बन्धीको सेसन सुर्खेतको नगरकोट भनेर चिनिने गोठीकाँडाको स्टेय होटल भ्याली भ्यु रिर्सोटमा हुनेछ ।
हरेक सेसनमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेश सांसद, संघीय सांसद, प्रदेश सरकारका मन्त्री तथा प्रतिनिधि, विज्ञ र सरोकारवालाको सहभागिता रहनेछ ।
यो कार्यक्रम कर्णालीखबर डटकम, इकागज डटकम, खबरहब डटकम, रेडियो क्यान्डिड लगायत मिडियाबाट प्रत्यक्ष फेसबुक लाइभ पनि हुनेछ ।
स्थानीय तहको पाँच वर्षको कार्यकाल सकिन लागेका बेला उनीहरुले गरेको राम्रा काम, संघीयताको कार्यान्वयन र तीन तहको सरकारबीचमा समन्वय तथा चुनौतिका विषयमा सातै प्रदेशमध्ये कर्णालीमा पहिलोपटक यो कार्यक्रम हुन लागेको हो ।
‘संघीयताको पहिलो निर्वाचित जनप्रतिनिधिको पाँच वर्ष कार्यकाल सकिन लागेको बेला तीन तहका सरकारबीच कस्तो समन्वय भयो ? कत्तिको सहयोग भयो ? कत्तिको सहकार्य भयो ? यसले नागरिकलाई कस्तो किसीमको सेवा सुविधा दियो भन्ने साझा बहसका रुपमा समृद्ध कर्णालीका लागि विकास बहस कार्यक्रम गर्न लागिएको हो,’ कार्यक्रमका आयोजकमध्येका एक पत्रकार विष्णु विवेकले कर्णालीखबरसँग भने, ‘स्थानीय तहको पाँच वर्षे कार्यकाल सकिन लागेका बेला नेपालमै पहिलोपटक गर्न लागिएको कार्यक्रमले कर्णालीको विकास र पूर्वाधारका विषयमा तीन तहका जनप्रतिनिधिबीच र विज्ञसँगको छलफल सार्थक तथा महत्वपूर्ण हुन्छ ।’
दोभान मल्टिमिडिया कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघ लगायत संघ संस्थाको पहलमा कार्यक्रम व्यवस्थित गर्न लागिएको छ ।