ललितपुर : लुभूस्थित श्रीमहालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्व विद्यार्थीहरुको सङ्गठन महालक्ष्मी एल्मुनाई एशोसिएसनको तेस्रो साधारणभाले दिपककुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।एशोसिएशनको उपाध्यक्षमा प्रल्हाद विष्ट, सचिवमा ईन्द्रभक्त मास्के, सहसचिवमा प्रकाश खत्री, कोषाध्यक्षमा रिता श्रेष्ठ, तथा सदस्यहरुमा उत्सव केसी, पुष्पराज श्रेष्ठ, इन्द्रकमल श्रेष्ठ, सुरेश बस्नेत, सविता श्रेष्ठ र मदन गौतम निर्विरोध निर्वाचित भएका छन् ।
साधारणसभामा यसअघि पूर्व अध्यक्ष हरिरमण थापाले प्रस्तुत गरेको आगामी वर्षको कार्ययोजना र कोषाध्यक्ष रिता श्रेष्ठले प्रस्तुत गरेको आव २०७७/०७८को आयव्ययविवरण पारित गरिएको थियो । उक्त विद्यालयको कक्षा ११का उत्कृष्ठ छात्र निसान्त सापकोटा, र छात्रा देवीमाया वाइवालाई पूर्वविद्यार्थीद्वय भक्त बस्नेत र प्रल्हाद विष्टमार्फत उपलब्ध गराइएको वार्षिक अध्ययन शुल्क र उत्कृष्ठ ग्रेड लिन सफल गराउने उक्त विद्यालय र लुभू माविका शिक्षकलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरी रु दुईलाखको अक्षयकोष खडागरी पुरस्कारको व्यवस्था गर्ने पूर्व विद्यार्थी दुर्गालाल श्रेष्ठ र एशोसिएशनलाई भौतिक सामाग्री उपलब्ध गराउने पूर्व प्रधानाध्यापक पूर्णबहादुर श्रेष्ठका साथै आजिवन सदस्यलाई सम्मान पनि गरिएको थियो ।
ती पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएका उक्त विद्यालयका पूर्वप्रधानाध्यापक तथा पूर्व सहायकमन्त्री दिनबन्धु अर्यालले मानिसलाई आवश्यक परेको वस्तु दिनसक्ने शक्तिलाई देवाता भनिने चर्चा गर्दै आमा, बाबु र गुरु पनि देवतासरह भएकाले तिनको सम्मान गरिनुपर्नेमा जोड दिए । उनले हावा, पानी र वातावरणको प्रदुषणभन्दा पनि ठूलो मानिसको मनको प्रदुषण निवारण गर्न यस संस्थाले पहल गर्नुपर्ने आवश्यकता औल्याए । साँस्कृतिक र औद्योगिक नगरको रुपमा विकशित लुभूमा आजभन्दा ७४ वर्षअघि स्थापित उक्त विद्यालयअन्तर्गत चार वर्षअघि गठित एशोसिएशनमा हाल ८१ आजिवनसमेत गरी १७५ सदस्य छन् ।