कर्णाली : नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले खानेपानी, सरसफाइ र स्वच्छताको विषय देशैभरि पुर्याउने अभियान थालिएको बताएका छन् ।
युनिसेफ नेपालको सहयोगमा नेपाल नगरपालिका सङ्घद्वारा वीरेन्द्रनगर सुर्खेतमा आयोजित तीन दिने ‘खानेपानी गुणस्तर जाँच तथा सुरक्षित खानेपानी समुदाय’ घोषणासम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन अवसरमा उनले सो अभियान थालिएको बताएका हुन् ।
कार्यकारी निर्देशक देवकोटाले सहरी क्षेत्रमा खानेपानी सरसफाइ तथा स्वच्छता अभियानलाई संस्थागत गर्ने हेतुले एकल अधिकार कार्यान्वयन गर्ने सवालमा नगरपालिकाले जुन प्रकारको व्यवस्थापन गर्नुपर्ने हो, त्यसको व्यवस्थापन पूर्णरुपमा भइ नसकेको अवस्थामा सहयोग पुर्याउन यो कार्यक्रम अगाडि बढाइएको बताए ।
यसलाई सुशासनसँग जोडेर नगरपालिकाबाट व्यवस्थित गर्ने पहल भइरहेको उल्लेख गर्दै उनले खानेपानी सरसफाइलाई प्राविधिक विषयका रुपमा लिइएको जानकारी दिए । कार्यकारी निर्देशक देवकोटाले युनिसेफलगायतका साझेदार संस्थाले गरेका सहयोगलाई अझ बढी कसरी व्यवस्थित गर्ने र त्यसलाई नगरपालिकाले आफ्नो वार्षिक कार्यक्रमभित्रै राखेर जनतालाई दिने सेवाका हिसाबमा प्राथमिकता दिन सहजीकरण गरिएको हो भने ।
“प्रशिक्षक प्रशिक्षणबाट नगरपालिकाका कर्मचारीलाई ज्ञान, सीप उपलब्ध हुन्छ”, उनले भने, “अब स्वच्छ पानी परीक्षण गर्ने कार्यक्रम रहेको छ । यद्यपि देशैभरि यो कार्यक्रम गर्न सकेनौँ ।” हाल २५ नगरपालिकामा प्राथमिकता तोकेर काम भइरहेको जनाउँदै कार्यकारी निर्देशक देवकोटाले मुलुकका २९३ नगरपालिकाको साझा सङ्गठन भएकाले सबै पालिकामा अभियान विस्तार गरेर लैजाने बताए ।
युनिसेफ नेपालका प्रतिनिधि राजेश सारु मगरले दिगो विकास लक्ष्य प्राप्त गर्न सुरक्षित खानेपानी पनि महत्वपूर्ण रहेको बताए । उनले पानीको प्रदूषणका कारणले पानीजन्य रोग लाग्ने गरेकाले पानीको गुणस्तर अनुगमन गर्न आवश्यक रहेको छ भने ।
नेपाल नगरपालिका महासङ्घका खानेपानी तथा सरसफाइ व्यवस्थापक उमाशङ्कर यादवले खुला दिसामुक्त अवस्थाको दिगोपना, सुरक्षित खानेपानीयुक्त समुदाय, पूर्ण सरसफाइ र हात धुने बानीको विकासका लागि प्रशिक्षण सञ्चालन गरिएको बताए । पालिकाको खानेपानी तथा सरसफाइ (वास)को दिगोपनाका निम्ति यससँग सम्बन्धित नीति, ऐन, निर्देशिका र योजना निर्माणमा महासङ्घले प्राविधिक सहयोग गर्दै आइरहेको उनले जनाए ।
प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका दशरथचन्द, पुर्चौडी, कमलबजार, बडिमालिका र त्रिवेणी तथा कर्णाली प्रदेशका खाडाचक्र, रास्कोट, छायानाथ रारा, चन्दननाथ र वीरेन्द्रनगर नगरपालिकामा कार्यरत खानेपानी तथा सरसफाइ सम्पर्क व्यक्ति, स्वास्थ्य संयोजक, स्थानीय गैरसरकारी संस्थाका प्रतिनिधि गरी ३१ जनाको सहभागिता रहेको थियो ।