काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अनेकौँ षडयन्त्र भइरहेकाले नेपालमा आजै पनि लोकतन्त्र सुदृढ र सुनिश्चित हुन नसकेको बताएका छन् ।
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको प्रथम स्मृति दिवसका अवसरमा प्रकाशित ‘नवीन्द्रराज जोशी : व्यक्तित्व र योगदान’ पुस्तकको लोकार्पण गर्दै नेता पौडेलले लोकतान्त्रिक, प्रतिबद्ध र निष्ठावान् शक्तिलाई कमजोर तुल्याउने खेल भइरहेको उल्लेख गरे । उनले भने, “निष्ठाको राजनीति, सङ्घर्ष, दूरदर्शी र लक्ष्यमा अडिक नवीन्द्रराज असङ्ख्य गुणले भरिएको सद्गुणको पुञ्ज थिए । समाजमा असल र निष्ठावान् मानिसमाथि अप्ठेरो र दबाब सिर्जना गर्ने काम भइरहेको छ । जोशीले गलत कुरामा कहिल्यै कसैसँग सम्झौता गर्नुभएन, बरु चुनौती दिएर आन्दोलनकारीको कित्तामा खडा भए ।”
पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक सङ्गठन र लोकतान्त्रिक आन्दोलनलाई कसरी अघि बढाउने भन्ने अद्भुत कल्पनाशील शक्ति भएका जोशीको निधनबाट पार्टीले मात्र होइन भावी पुस्ताले असल नेता गुमाएको बताए । उनले भने, “आजको राजनीतिलाई आत्मनिर्भर बनाउनुपर्छ, पञ्चायतकालमा पनि कांग्रेसमाथि राजनीति निर्भर थियो, हाम्रो पार्टीको नीतिमा देशको राजनीति चल्नुपर्छ, पार्टी पर निर्भर नहोस् भन्ने जोशीको धारणा रहन्थ्यो ।”
पार्टीका महामन्त्री गगनकुमार थापाले कुनै पद पाउँदा होस् वा नपाउँदा बुझाइ, व्यवहार, सम्बन्ध र प्रस्तुतिमा कहिले फरकपन नदेखिने जोशी हाम्रो राजनीतिले जनतालाई छोएको छ वा छैन भन्नेमा चिन्तित थिए भने । उनले भने, “सहजतामा मात्तिने, अप्ठेरोमा आत्तिने नभई नेपाली राजनीतिमा नवीन्द्रदाइ क्रियाशील, विवेकशील र कर्मठशील थिए ।”
पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सङ्घर्षमा शालीन, पराजयमा संयम र सत्तामा सिर्जनशीलताको छवि बनाएका नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री जोशीको निधनले पार्टीले ऊर्जावान् नेता गुमाएको बताए ।
नेकपा (एकीकृत समाजवादी)का नेता जीवनराम श्रेष्ठले मुलुकमा भएका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान दिएका जोशीको निधन विश्वास गर्न कठिन मात्र नभई सहन र स्वीकार्न अप्ठेरो भएको बताए ।
स्व जोशीका धर्मपत्नी सपना राजभण्डारी र दाजु राजुराज जोशीले लोकतन्त्रका बारेमा नेताहरुबाट हुने गरेका टीकाटिप्पणीलाई नवीन्द्रले जनतामा विश्वास राख्नेले प्रजातन्त्रमाथि खतरा देख्न नहुने प्रतिक्रिया दिने गरेको घटना सनाए ।
कांग्रेसका केन्द्रीय सदस्य, पूर्वमन्त्री, संविधानसभा सदस्य, काठमाडौँ महानगरपालिकाको संस्थापक उपमेयर, नेपाल विद्यार्थी सङ्घको पूर्वमहामन्त्री, गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशीको गत वर्ष मस्तिष्कघातका कारण आजकै दिन निधन भएको थियो ।
नवीन्द्रराज जोशी स्मृति प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा वरिष्ठ नेता पौडेल, पूर्वउपसभापति निधि, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता बलबहादुर केसी, वरिष्ठ पत्रकार होमनाथ दाहाल, समाजसेवी नरोत्तम वैद्य, राजनीतिज्ञ नीलाम्बर आचार्यलगायतले जोशीसँगको सापीप्य र राजनीतिसँग जोडिएका लेख समावेश छन् ।