तनहुँ । नाबालिग गायिकालाई जबरजस्तीकरणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाह जिल्ला अदालत तनहुँकाे थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जाने भएका छन् ।
जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले उनले आज मंगलबार उच्च अदालत पोखरामा पुनरावेदन दिन लागेका हुन् ।
पल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेका अनुसार सोमबार नै उच्च अदालत जाने तयारी थियो । ‘समय अभावका कारण हिजो जान सकेनौं । आज उच्च अदालत पोखरा पुगेर पुनरावेदन निवेदन दिँदैछौं’, उनले भने ।
जाहेरवाला र प्रतिवादीको तर्फबाट थुनछेक बहस भएपछि १० चैतमा जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेश जारी गरेको हो ।
७ चैतमा अनुसन्धान सकेर जिल्ला प्रहरी कार्यालय तनहुँले सरकारी वकिलको कार्यालय तनहुँमा प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनको आधारमा ८ चैतमा सरकारीको वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा मुद्दा दायर गरेको थियो ।
थुनामा राख्न गरिएको तनहुँ जिल्ला अदालतको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको पल शाहको अधिवक्ताको दाबी छ।
घटना भएको लामो समय पछि मात्रै उजुरी दिइएको, बलात्कार भएको भनिएको भोलिपल्ट बिहानै बलात्कृत भनिएकी बालिका पलसँगै ढोरवाराही मन्दिर दर्शनमा गएको र उमेर शङ्कास्पद भएकाले कानुनसम्मत नभएको वरिष्ठ अधिवक्ता वाग्लेको जिकिर छ।