रत्ननगर : नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवस तथा भरतपुर अस्पतालको ५९औँ वार्षिकोत्सवका अवसरमा आज चितवनका पत्रकारको स्वास्थ्य परीक्षण गरिएको छ । महासङ्घ चितवन शाखाको आयोजना, भरतपुर अस्पतालको प्राविधिक सहयोग र नेपाल औषधि व्यवसायी सङ्घ चितवनको सहकार्यमा कार्यक्रम गरिएको हो ।
स्वास्थ्य परीक्षणको उद्घाटन कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पत्रकार तथा चिकित्सक दुई टाउको र एउटै पेट भएको चराको संज्ञा दिए । उनले भरतपुर अस्पतालले मेडिकल सिटीको नेतृत्व गर्ने गरी विकास गर्नुपर्नेमा जोड दिए ।
भरतपुर अस्पतालको विकासका लागि पत्रकारले स्वच्छ आलोचना गर्नुपर्ने उल्लेख गर्दै अस्पताललाई अगाडि बढाउन सबै लाग्नुपर्ने बताए । केन्द्रीय अस्पताल भनिए पनि एकाडेमिक र विशिष्टिकृत सेवाका लागि सङ्घीय सरकारबाट पर्याप्त सहयोग नभएको उनको गुनासो छ ।
भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले सरकारले क्षमता नै नहेरी बीमा गराउँदा अस्पतालमा सेवाग्राहीको भीड बढेको बताए । उनले बीमा कार्यक्रम नै असफल हुने खतरा रहेको जनाउँदै अनावश्यक रुपमा होलबडी चेकअप, रिफर र औषधिका लागि मात्रै पनि ठूलो सङ्ख्यामा बीमा गरेका आउने गरेको बताए ।
कार्यक्रममा पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष नारायण अधिकारीले स्वास्थ्य परीक्षण कार्यक्रमलाई वार्षिकरूपमा नियमित क्यालेण्डरमा राखेर लैजानुपर्ने बताए । गत सोमबार १६६ पत्रकारको रगतको नमूना सङ्कलन गरिएकामा सोही नमूनाको रिपोर्ट हेरेर चिकित्सकले परीक्षण गरेका थिए ।
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष एवं फिजिसियन डा अधिकारी, मेडिकल सुपरिटेण्डेण्ट अर्थोपेडिक सर्जन प्रा डा पौडेल, मुटुरोग विशेषज्ञ डा मणि गौतम, फिजिसियन डा गोविन्द कँडेल, फिजिसियन डा नवराज लामिछाने, फिजिसियन डा प्रमोद पौडेल, फिजिसियन डा प्रतिक्षा श्रेष्ठलगायत चिकित्सकले पत्रकारको स्वास्थ्य परीक्षण गरेका थिए ।