कास्की : नेपाल पत्रकार महासङ्घको स्थापना दिवसका अवसरमा आज पोखराका क्रियाशील पत्रकार रविना आले ‘मीना सिर्जनशील समावेशी’ पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले महासङ्घमा आयोजित कार्यक्रममा उनलाई नगद रु २० हजार १११ र सम्मानपत्रबाट सम्मान गरे ।
महासङ्घ कास्की शाखाले सञ्चालन गर्दै आएको सो पुरस्कार पत्रकारिताका माध्यमबाट समाज रुपान्तरणमा योगदान गरेकामा यस वर्ष आलेलाई प्रदान गर्ने निर्णय गरिएको थियो । पुरस्कृत आले हाल रेडियो तरङ्ग र हिमदुत दैनिकमा आवद्ध छन् । विसं २०६३ देखि पत्रकारिता पेसामा क्रियाशील उनी नेपाल प्रेस युनियन कास्कीको कार्यवाहक अध्यक्ष समेत छन् । पुरस्कारले मिडिया क्षेत्रमानै क्रियाशील हुन प्रेरणा मिलेको उनले बताइन् ।
कार्यक्रममा सञ्चारमन्त्री थापाले लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवि पत्रकारको हकहितका लागि पत्रकार महासङ्घले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । प्रदेश सरकार पत्रकारमैत्री कानून निर्माण गर्न प्रतिबद्ध बताउँदै पत्रकारले पनि सत्य, तथ्य सूचना प्रवाह गर्दै आवाजविहिन जनताका आवाजलाई बुलन्द पार्नुपर्नेमा जोड दिए ।
उनले भने, “प्रदेशको आमसञ्चार विधेयक विद्यायन समितिमा गएको छ, पत्रकारका विज्ञ साथीसँग छलफल समेत गरिसकेका छौँ । विधेयकमा देखिएका समस्यालाई संशोधन गर्दै पत्रकारलाई सहज वातावरण बनाउने गरी कानून बनाउने छौँ ।”
पुरस्कारका संस्थापक एवं गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले पत्रकारिता क्षेत्रमा महिलाले भोग्नुपरेको पीडालाई कम गर्न र उनीहरूलाई हौसल प्रदान गर्न पुरस्कार स्थापना गरेको बताइन । पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेलले कोरोनापछि छापा पत्रकारिता क्षेत्र सङ्कटमा परेपनि न्यू मिडियाका क्षेत्रमा भने अवसर मिलेको बताए ।
महासङ्घका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पँगेनीले महिला पत्रकारलाई आफ्नो पेसामा अघि बढ्न घरपरिवारबाट सहयोगको खाँचो रहेको बताइन । प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले नेपालमा प्रजातन्त्र ल्याउन पत्रकारले गरेको कामको प्रशंसा गरे ।
पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले महासङ्घ नागरिक अधिकारको पक्षमा लड्दै आएको बताए । शाखा अध्यक्ष विमला भण्डारीले महासङ्घले कास्कीका पत्रकारको हकहित र क्षमता विकासका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिइन ।