१८ भदौ, सुर्खेत । बर्षाले बर्षौदेखि जनतालाई सास्ती दिइरहेको पश्चिम सुर्खेतको सडक बनाउन कर्णाली प्रदेशकी उपसभामुख पुष्पा घर्तीले अग्रसरता देखाएकी छिन् । बुधबार मुख्यमन्त्रीका सल्लाहकार, यातायात मन्त्रालयका निर्देशक, चौकुने गाउँपालिकाका जनप्रतिनिधिसहित उनले पश्चिम सुर्खेतका सडकलाई सबैभन्दा धेरै क्षति गर्ने विभिन्न खोलाहरुको निरीक्षण गरेकी छिन् ।
कच्ची सडकमा हल्का बर्षा हुँदा पनि हिलाम्मे हुँदा पनि सास्ती हुने गरेको छ भने बर्षाले खोलामा बाढी आउँदा आवतजावत नै ठप्प हुने गरेको छ । बाटो बनाएपनि पनि बर्षाले खोलाको सडक जहिले भत्काउने समस्या छ । धेरै खोलामा पक्की पुल नहुँदा समेत समस्या उत्पन्न भएको हो ।
बर्षौदेखि जनताले सास्ती भोगेको भन्दै केही दिन यता युवाहरुले सामाजिक सञ्जालमा नेताहरुको आलोचना गरेका थिए । पूर्वमन्त्री तप्त बिष्ट, वर्तमान राज्यमन्त्री नवराज राउत, पूर्वसभाषद नरबहादुर बिष्ट, पूर्व सांसद तथा मन्त्री शिवराज बिष्ट लगायतको युवाहरुले चर्को आलोचना गरेका थिए ।
आफ्नै श्रीमान् एवम नेकपा सुर्खेतका अध्यक्ष नरबहादुर बिष्ट पत्नी समेत रहेकी उपसभामुख घर्तीले सडक बनाउनैपर्ने बाध्यताका माझ सम्बन्धित कार्यालय प्रमुख र जनप्रतिनिधिलाई लिएर पहिलो चरणमा समस्या बुझ्ने काम गरेकी छन ।
घर्तीका स्वकीय सचिव गंगाराम विश्वकर्माका अनुसार पश्चिम सुर्खेतको ब्युरेनी खोला, विद्यापुर खोला, गुटु खोला, कोकली खोलाको निरीक्षण गरिएको छ । उपसभामुख घर्तीका साथमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख सल्लाहकार भीमप्रसाद शर्मा, भौतिक पूर्वाधार निर्देशनालय सुर्खेतका निर्देशक बासुदेव पौडेल, चौकुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाही रउपाध्यक्ष निर्मला राना पनि सहभागि थिए ।
साथै बाबियाचौरदेखि कुइनेसम्मको कच्ची बाटोलाई मर्मत गर्ने विषयमा पनि छलफल भएको घर्तीका स्वकीय सचिव विश्वकर्माले जानकारी दिए । पश्चिम सुर्खेतकै नेतृत्व गरेर प्रदेशसभा सांसद निर्वाचित भएपछि विकासे गतिविधिलाई खासै वास्ता नगरेको आरोप घर्तीमाथि छ ।
सोही आरोपका बाबजुत उनी पछिल्लो समय विकास निर्माणका काममा समेत चाँसो दिन थालेकी हुन् । कोरोना महामारी बढेका बेला मास्कको समेत बेवास्ता गरेर उनले सडक निर्माण तथा मर्मतका लागि चाँसो दिनु जनताका लागि थोरै भएपनि राहतको विषय हो ।