उदयपुर : आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वर्तमान सरकारका सत्ता गठबन्धन पाँच दलका राजनीतिक नेताहरुले उदयपुर जिल्लाको आठ पालिकामा चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
शुक्रबार जिल्लाको सदरमुकाम गाईघाटमा बसेको सत्ता गठबन्धन पाँच दलका नेताहरुले चैत २६ गतेसम्ममा जिल्लाको आठवटै पालिकाहरुमा गठबन्धन दलहरुले चुनावी तालमेलका लागि अन्तिम निष्कर्षसहितको निर्णय गर्ने सहमति भएको नेपाली कांग्रेसका जिल्ला सभापति तथा प्रदेश १ का सदस्य हिमाल कार्कीले बताए ।
जिल्लाको सदरमुकाम गाईघाटमा नेपाली कांग्रेसका सभापति हिमाल कार्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष विनोद कटुवाल, नेकपा समाजवादीकका अध्यक्ष राममणि पोखरेल, जनमोर्चाका अध्यक्ष लिलकुमार राई, जनता समाजवादीका केन्द्रीय सदस्य राहुल यादवसहितका सत्ता गठबन्धन दलका जिल्ला नेताहरुले छलफल गरेका थिए ।
वर्तमान सत्ता गठबन्धनका सबै दलका नेताहरुबीच जिल्लाको आठवटै स्थानीय पालिकाहरुमा चुनावी तालमेल गरेर जाने सहमति भएको जनता समाजवादीका केन्द्रीय सदस्य राहुल यादवले बताए ।
कुन पालिकामा कुन दलका नेतालाई नगरप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष दिने लिने भन्ने विषयमा अन्तिम निष्कर्ष यही चैत २६ गते बसेर संयुक्तरुपमा टुङ्गो लगाउने सहमति भएको नेपाली कांग्रेसका सभापति कार्कीले बताए ।
निर्वाचनमा जिल्लाको आठवटै स्थानीय तह तथा पालिकाहरुको निर्वाचनमा गठबन्धन दलहरुबीच चुनावी तालमेल निश्चित भएको माओवादीका अध्यक्ष कटुवालले जानकारी दिए ।
जिल्लामा चारवटा नगपालिका र चारवटा गाउँपालिका छन् । यसअघिको निर्वाचनमा चौदण्डीगढी नगरपालिकामा नेपाली कांग्रेस र लिम्चुङबुङ गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको थियो भने बाँकी छ पालिकामा नेकपा एमाले विजयी भएको थियो ।
आगामी स्थानीय तहको निर्वाचनमा सबै पालिकामा दलहरुले एक पालिका एक दलको उम्मेदवारका दरले चुनावी तालमेल गरेर आफ्नो दलको उम्मेदवारहरु चुनावमा उठाउने तयारी गरिरहेको गठबन्धन दलका जिल्ला नेताहरुले बताए ।