वीरेन्द्रनग : कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ ।
दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघ लगायतका संघसंस्थाको सहयोगमा उक्त कार्यक्रम हुन लागेको हो ।
शनिबार वीरेन्द्रनगरस्थित शुभ होटलमा पत्रकार सम्मेलन गरेर आयोजकले कार्यक्रमबारे जानकारी दिएको थियो । कर्णाली प्रदेश सरकारदेखि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल कस्तो रह्यो भन्ने विषयमा बढी छलफल गरिने भएको छ ।
यस्तै छलफलमा तीन तहका सरकारबीच कस्तो समन्वय भयो ? कत्तिको सहयोग भयो ? कत्तिको सहकार्य भयो ? यसले नागरिकलाई कस्तो किसिमको सेवा सुविधा दियो भन्ने साझा बहसका रुपमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयकको कार्यक्रम तय गरिएको कार्यक्रम संयोजक दोभान मल्टिमिडियाका अध्यक्ष विष्णु विवेकले जानकारी दिए ।
कार्यक्रममा स्थानीय तहका प्रमुख जनप्रतिनिधि, प्रदेश सांसद, संघीय सांसद तथा मन्त्रीको उपस्थित रहनेछ । कार्यक्रम संयोजक विवेकका अनुसार, कर्णालीको पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र पर्यटनबारे बढी बहस हुनेछ ।
यसमा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारको लगानी कति रह्यो ? भन्ने विषय पनि छलफलमा आउने छ । आइतबारदेखि सुरु हुने कार्यक्रम मंगलबारसम्म जारी रहनेछ । कार्यक्रमका धेरै जसो सेसन शुभ होटलमा हुने छन् भने केही सेसन सुर्खेत उपत्यका बाहिर हुने छन् ।
शिक्षा सम्बन्धीको सेसन नमूना जनमाविको प्रांगणमा हुनेछ । स्वास्थ्य सम्बन्धीको सेसन सेसन प्रदेश अस्पतालमा हुनेछ । पर्यटन सम्बन्धीको सेसन सुर्खेतको नगरकोट भनेर चिनिने गोठीकाँडाको स्टेय होटल भ्याली भ्यु रिर्सोटमा हुनेछ ।