वीरेन्द्रनगर : नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष तथा खबरहव डटकमका अध्यक्ष नरेश श्रेष्ठले उत्पादन खर्च खर्चिलो हुँदा उत्पादन वृद्धिमा समस्या आएको बताएका छन् ।
‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले भने – ‘ कर्णालीमा निजी क्षेत्रको लगानी धेरै कम छ । निजी क्षेत्रले लगानी गर्दा पनि खर्चिलो छ । उत्पादनमा कमी आउने गरेको छ । लगानी गर्ने ठाउँहरुमा पूवार्धार, विद्याुत, विमानस्थल छैन । त्यसले गर्दा पनि लगानीकर्ता कर्णालीमा नभित्रिएको अवस्था हो ।’
आवश्यक पूर्वाधार हुँदा व्यापारीले लगानी नगरेको उनको जोड छ । यसलाई संघ प्रदेश र स्थानीय सरकारले विषय महत्वका साथ राख्नुपर्ने श्रेष्ठको भनाइ छ । ‘व्यापारीले लगानी गर्छन्, ‘उनले भने, ‘त्यसका लागि पूर्वाधार चाहिन्छ ।’
कर्णालीको व्यापार व्यवसाय र रोजगार विषयकको सेसनमा श्रेष्ठले उत्पादन गर्ने लगानी खर्चिलो भएको बताएका हुन् । सुर्खेतको शुभ होटलमा सञ्चालन भइरहेको उक्त कार्यक्रममा कर्णालीको व्यापार, कर्णालीको रोजगार, कर्णालीको उत्पादन लगायतका विषयमा छलफल भइरहेको छ ।
श्रेष्ठले थपे – ‘कुनै पनि व्यापारीले जहाँ नाफा हुन्छ त्यहाँ नै उसको लगानी हुन्छ । यस्तो वातावरण छ । यसलाई नै सरकारले जिम्मा लिएर लगानी गर्न जरुरी देखिन्छ । त्यसमा मात्रै कर्णालीको मात्रै नभइ देशको व्यापार र रोजगारको अवस्था वृद्धि हुनसक्छ ।’
कर्णालीको व्यापार लगानी र रोजगार विषयमा दैलेखको भगवतीमाई नगरपालिका अध्यक्ष धनबहादुर थापा, खार्पुनाथ गाउँपालिका हुम्लाकी उपाध्यक्ष रुपा शाही, उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही वक्ता रहेका छन् । उक्त सेसनको सहजकर्ताका रुपमा पत्रकार दिपक बुढाले गरिरहेका छन् ।