१९ भदौ, काठमाडौं । कर्णली प्रदेशमा कोरोना महामारीकै बेला १ सय १९ जनाले आत्महत्या गरेका छन् । गएको चैत ११ देखि साउनको पहिलो हप्तासम्म कर्णालीमा १ सय १९ जनाले आत्महत्या गरेका हुन् । यो संख्या अरु प्रदेशको तुलनामा निकै कम हो ।
कोरोना भाइरसको महामारीबाट २ सय बढीको मृत्यु हुँदा देशभर २ हजारभन्दा धेरैले आत्महत्या गर्दा कर्णालीमा १ सय १९ जनाले आत्महत्या गरेको विवरण प्रहरीले सार्वजनिक गरेको हो ।
चैत ११ गतेदेखि सुरु भएको लकडाउनदेखि निषेधाज्ञासम्म २ हजार २ सय १८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । यो समयसम्म २ सय ५७ जनाको मात्रै कोरोनाले मृत्यु भएको छ ।
आत्महत्या गर्नेमा १ हजार १ सय ७२ जना पुरुष छन् । ९ सय ११ महिला छन् । यस्तै ९४ बालक र १४१ जना बालिका रहेका छन्। आत्महत्या गर्ने ७० प्रतिशत मानिसले झुण्डिएर आत्महत्या गरेका छन्। त्यो बाहेकले विष सेवन गरेर, आगो लगाएर, हातहतियार प्रयोग गरेर, डुबेर आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ।
आत्महत्याका घटना सबैभन्दा बढी प्रदेश ५ मा घटेका छन् । पाँच महिनाको अवधिमा प्रदेश ५ मा ४ सय २९ जनाले आत्महत्या गरेका छन्। प्रहरी तथ्यांकअनुसार प्रदेश नम्बर १ मा तीन सय ७१, प्रदेश नम्बर २ मा ३ सय पाँच, बागमती प्रदेशमा तीन सय ८५ जनाले आत्महत्या गरेका छन् ।
यस्तै गण्डकी प्रदेशमा दुई सय ४६ जनाले आत्महत्या गरेका छन् । कर्णालीभन्दा धेरै सुदुरपश्चिम प्रदेशमा दुई सय चार जनाले आत्महत्या गरेका छन् ।
कोरोना महामारी आउनुभन्दा पहिले बार्षिक ५ हजारले आत्महत्या गर्ने गरेका थिए । तर यो पाँच महिनामा मात्रै दुई हजार बढीले आत्महत्या गरेपछि अवस्था केही चिन्ताजनक रहेको नेपाल प्रहरीले जनाएको छ ।