पर्वत : पर्वतको महाशिला गाउँपालिकास्थित चिसापानी पदमार्ग, स्थानीय महेन्द्रज्योति माविमा बनेको आईसिटी कक्षा र महाशिला आधारभूत अस्पताल सेवाको शुभारम्भ गरिएको छ । त्यसैगरी गाउँपालिकामा विभिन्न क्षेत्रबाट योगदान पुर्याउने ७७ जनालाई सम्मान गरिएको छ । चारवटै संयुक्त कार्यक्रमको आज राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गरे ।
उद्घाटनपछि आयोजित समारोहलाई सम्बोधन गर्दै उनले ग्रामीण क्षेत्रको विकास र समृद्धिबाट नै समग्र मुलुकको समृद्धि हुने बताए । गाउँमै सबै नागरिकका सबै आवश्यकता उपलब्ध गराउन सकेमा बढ्दो पलायनदर न्यूनीकरण हुँदै जाने बताउँदै अध्यक्ष तिमिल्सिनाले गाउँको समृद्धि र विकासमा तीनै तहका सरकारको ध्यान जानुपर्नेमा जोड दिए । शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक पूर्वाधारमा लगानी बढाउनुपर्ने उनले उल्लेख गरे ।
अर्को प्रसङ्गमा आवधिक निर्वाचन स्वच्छ र निष्पक्ष हुनुपर्ने बताउँदै अध्यक्ष तिमिल्सिनाले नागरिकले स्वतन्त्र र निर्भयका साथ मतदान गर्न सक्ने वातावरण बनाउनुपर्ने बताए । उनले आउँदो स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लाका सरोकारवालालाई आग्रह गरे ।
कृषि क्षेत्रलाई व्यावसायिक बनाउनुपर्ने बताउँदै उनले कृषकलाई कसरी कृषि पेशाबाटै आत्मनिर्भर बनाउन सकिन्छ भन्नेतर्फ स्थानीय सरकारका योजना केन्द्रित हुनुपर्ने बताए । कर्मचारी, स्वास्थ्यकर्मी, उत्कृष्ट उपभोक्ता समिति, उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, सामुदायिक वन, शिक्षक, प्रद्यानाध्यापक, अभिभावक, अगुवा तथा नमूना कृषक गरी ७७ जनालाई सम्ममान पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।