सुर्खेत : मंगलबार सुर्खेतको गोठीकाँडास्थित बयलकाँडामा कर्णालीका पर्यटनबारे बहस भएको छ । दोभान मल्टिमिडियाको आयोजनामा उक्त बहस भएको हो ।
बहसमा, कर्णाली सरकारका पर्यटन मन्त्री लामा कार्चेन, पर्यटन मन्त्रालयका सचिव मोहनदेव जोशी, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी डा.धनन्जय रेग्मी, नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स नाट्टाका अध्यक्ष अच्युत गुरागाईँ, नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल, नेपाल उद्योग वाणिज्य संघ सुर्खेतका पूर्व अध्यक्ष प्रकाश अधिकारी, पर्यटन व्यवसायी चिन्तामणी पौडेल, पर्यटन व्यवसायी निरज केसी लगायतको उपस्थितीमा छलफल भएको थियो ।
पर्यटनबाट कर्णालीको विकास र यसलाई व्यवस्थित कसरी गर्ने ? भन्ने विषयमा बहस बढी केन्द्रित भएको थियो ।कर्णालीलाई हेर्ने दुई आँखा भएको बताउँदै पर्यटन मन्त्रालयका सचिव मोहनदेव जोशीले भने – ‘कर्णालीलाई हेर्ने दुई आँखा छ । एउटा सामाजिक र आर्थिक आँखा, दोस्रो भूगोल र प्रकृतिको आँखा । समाजिक र आर्थिक आँखाले जहिले कर्णालीलाई अभाव मात्रै भएको देखेको छ । अर्को भूगोल र प्रकृतिको आँखाले भन्छ कर्णाली अतुलनीय छ । आकर्षक छ । यो साहसिक छ । यसलाई सबैले दोस्रो आँखाबाट हेर्न जरुरी छ ।’ दोस्रो आँखाबाट हेरेर प्रदेशमा पर्यटन ऐन पास गरेर पर्यटनको विकासमा जोड दिएको उनको भनाइ छ ।
सुर्खेतकै हिमाबमा पनि पर्यटन मन्त्रालयद्धारा थुप्रै पर्यटन पूर्वाधारका काम भएको जोशीले बताए – ‘पर्यटन बोेर्डको परिकल्पना गरेका छौं । यसरी नै अगाडी बढेर पर्यटन पूर्वाधार निर्माणमा मन्त्रालय लागिरहेको छ । पूर्वाधारकै काम हेर्दा दशवटै जिल्लाहरुमा पर्यटनको ठूला आयोजनाहरु सञ्चालनमा छन् । सुर्खेतमा काँक्रेविहारको व्यवस्थापन ११ करोडमा भइरहेको छ । बुलबुले तालमा साढे ५ करोडको काम भइरहेको छ । प्रादेशिक सहिद पार्कको काम भइरहेको छ । यस्तै दशै जिल्लाहरुमा पर्यटनसम्बन्धीका ठूला योजनाहरु सञ्चालन छन् ।’ कर्णालीमा जलयात्रा, पदयात्रा, जनयुद्ध पर्यटनदेखि हनिमुन पर्यटन सम्बन्धी प्रदेश सरकार र पर्यटन मन्त्रालयद्धारा काम भइरहेको सचिवले बताए ।
यस्तै नाट्टा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलले पर्यटन भनेको हल्ला गर्नु भएको बताए । उनले भने – ‘पर्यटन भनेको हल्ला हो । हामीले जति हल्ला गर्न सक्यौं । त्यतिनै पर्यटन अगाडी बढ्छ भन्ने हो । कर्णाली आफैमा सम्भावना हो । यसलाई कर्णालीवासीले कम चिनेको अवस्था छ । यसलाई सबैले चिनेर अगाडी बढ्नुपर्छ । अनि, कर्णालीको पर्यटनमा विकास गर्न सकिन्छ । त्यसका लागि पर्यटन पूर्वाधारको विकास पनि उत्तिकै हुनुपर्छ ।’ कर्णालीको पर्यटनलाई उजागर गर्न हवाइ मार्गदेखि व्यवस्थित होटलहरु हुनुपर्ने उनको जोड छ – ‘अनि कर्णाली पर्यटनको विकास हुन्छ ।’
सन् २०११ देखि सुर्खेत लगायत कर्णालीका अन्य जिल्लाहरुमा पर्यटनबारे चर्चा सुरु भएको र पछि आएर राज्यले नै कर्णालीको पर्यटनलाई उजागर गर्न जोड नगरेको पर्यटन व्यवसायी चिन्तामणी पौडेलले बताए । पर्यटन बहसको कार्यक्रममा बोल्दै उनले भने – ‘सुर्खेतको पर्यटनको सन्दर्भमा जसको हातमा अधिकार थिएन । उनीहरुले नै पर्यटन प्रवर्द्धनका कुरा गर्यौँ । जससँग स्रोत साधन थियो पर्यटनबारे चिन्ता भएन । प्रदेश सरकारले पनि पर्यटन सम्बन्धी चार वर्ष केही गरेन । सुर्खेतदेखि रारासम्म पक्की बाटो र सुर्खेतमा व्यवस्थथित विमानस्थल भएको भए थुप्रै पर्यटनकलाई भित्र्याउन सकिन्छ । केन्द्रीय सरकारलाई चासो छैन । प्रदेश सरकारको लगानी छैन । जसकारण कर्णालीको पर्यटनमा विकास नभएको हो ।’ कर्णालीमा पर्यटन ल्याउनका लागि सबैबाट राम्रो प्रचार हुन पनि जरुरी रहेको उनको जोड छ ।
यातायात र पर्यटनका अन्य पूर्वाधारहरु निर्माण भए पर्यटक भित्र्याउन सकिने पर्यटन व्यवसायी निरज केसीले बताए । उनले विमानस्थलदेखि पर्यटक बस्ने होटलको सुरुआत गरेपनि भने जस्तो पर्यटनको विकास गर्न नसकिएको बताए । यसमा सरकारले जोडबल गरे कर्णालीको पर्यटनमा विकास हुने उनको सुझाव छ ।
नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा.धनन्जय रेग्मीले देशभर पर्यटन बोर्ड खोलेर अगाडी बढियो भने पर्यटनको विकास गर्न सकिने बताए । उनले भने – ‘देशको सबभन्दा राम्रो पर्यटन कर्णालीमा छ । यसमा लगानी गर्न सकियो भने पर्यटनमा विकास हुन्छ । पर्यटनको विकास गर्न केन्द्रको बजेट एकातिर । प्रदेशको बजेट एकातिर । बोर्डको बजेट एकातिर । विभागको बजेट एकातिर भइरहेको अवस्था छ । यस्तो नहुने हो भने लगानी गरेर पनि कर्णालीको पर्यटन विकास गर्न सकिन्छ ।’
कर्णालीको पर्यटन विकासको विकास गर्न बोर्ड लगानी गर्न तयारी भएको उनले बताए । पर्यटन विषयमा सबैको चासो र चिन्ता हुनुपर्ने उनको जोड छ – ‘बोर्डले लगानी गर्न तयार छ । कर्णालीको पर्यटन पूर्वाधार निर्माण गरेर यसको विकास गर्न सकिन्छ ।’ पर्यटन पूर्वाधार निर्माण भए पर्यटन कर्णालीमा थुप्रै पर्यटक भित्र्याउन सकिने उनले जानकारी दिए ।
कर्णालीका सबै पर्यटक व्यवसायीले सरकारको लगानी पर्यटनमा कम भएको बताएका छन् । पर्यटन विकासमा प्रदेश सरकारको लापरबाही छ । कर्णालीको पर्यटन क्षेत्र अहिले पनि भर्जिन भएको र यसबारे धेरै चर्चा नभएको पर्यटन व्यवसायीको जोड छ ।
कर्णालीमा – पद यात्रा पर्यटन, साहसिक पर्यटन, खेलकुद पर्यटन, धार्मिक पर्यटन, कृषि पर्यटन, जल यात्रा पर्यटन, साँस्कृतिक पर्यटन, हनिमुन पर्यटन, युद्व पर्यटन, शैक्षिक पर्यटन, मेडिकल पर्यटन, गाउँ पर्यटन, आन्तरिक तथा वाह्रय पर्यटन, साइकल तथा मोटरसाइकल पर्यटन, शोध तथा अनुसन्धान लगायतका कर्णालीको पर्यटनलाई प्रचारप्रचार गर्न पनि जरुरी भएको पर्यटन व्यवसायीको माग छ । यो नै कर्णालीको समृद्धिको आधार हो ।
पर्यटन सम्बन्धी उठेका प्रश्नको जवाफ दिँदै कर्णालीको पर्यटन विकासमा प्रदेश सरकार प्रतिवद्ध भएको मन्त्री कार्चेन लामाले बताए । उनले आगामी दिनमा पर्यटन व्यवसायीसँग छलफल गरे विकासका लागि पहल तथा लगानी गर्ने बताए । यस्तै कार्यक्रमका वक्ता तथा सहभागीले कर्णाली विकासको आधार पनि पर्यटन भएको सुझाएका थिए । यसका लागि आवश्यक पूर्वाधार निर्माण हुन जरुरी देखिन्छ ।
‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’को यो महत्वपूर्ण र अन्तिम सेसन हो । उक्त सेसनको सञ्चालन कार्यक्रमका संयोजक विष्णु विवेकले गरिरहेका थिए । यसमा पर्यटन व्यवसायी, सरकारका प्रतिनिधि र अन्य सरोकारवालबीच छलफल भएको हो ।
पर्यटनका हिसाबले कर्णाली स्वीट्जरल्याण्ड हो । कर्णालीको पाउदेखि शिर अहिले पनि भर्जिन देखिन्छ । पर्यटनको भरिभराउ छ । पर्यटनबाटै सम्भावना मात्र नभइ समृद्ध छ । तर, यसको प्रचार प्रसार नहुँदा कर्णालीको असीमित पर्यटन सम्भावना ओझेलमा परेका छन् ।