काठमाडौँ : काठमाडौँको लैनचौरमा रु ४७ लाखको लागतमा नारायण मन्दिर निर्माण गरिएको छ । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पले क्षति पुर्याएको काठमाडौँ महानगरपालिका–२६स्थित लैनचौरको पीपलबोटमा रहेको उक्त मन्दिर काठमाडौँ महानगरपालिका सम्पदा महाशाखाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।
नारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर (रम्बा) रजकले एकतले मन्दिरलाई तला उठाएर भजनकीर्तन र नाचगान गर्ने ठाउँ पनि निर्माण गरिएको जानकारी दिए । “दुईतल्ले मन्दिरको तल्लो भागमा भजन कीर्तन र नाचगान गर्ने ठाउँ छ भने माथिल्लो भागमा १० अवतार र अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन्,” उनले भने ।
उक्त मन्दिरमा प्रत्येक दुई वर्षको असार महिनामा १०८ कन्यालाई पूजा गर्दै आइएको अध्यक्ष रजकले बताए । त्योबाहेक प्रत्येक वर्षको दसैँमा नवकन्याको पूजा, शिवरात्रिमा पूजा एवम् धुनी बाल्ने काम पनि हुँदै आएको छ । प्यागोडा शैलीमा निर्माण गरिएको उक्त मन्दिरको काठमा कुँदिएका झ्याल तथा ढोकाहरु हालिएका छन् ।
काठमाडौँ महानगरपालिका–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले भूकम्पले क्षति पुगेका वडाभित्रका भौतिक संरचना सांस्कृतिक सम्पदाको स्थानीय सरकार आएसँगै क्रमशः पुनःनिमाण हुँदै गएको बताए । “मेलम्ची खानेपानी आयोजना र विद्युत् प्राधिकरणको तार अन्डरग्राउन्डका कारण वडाभित्रको बाटो कालोपत्र गर्न समय लागेको छ, अन्य भौतिक पूर्वाधार भने निर्माण भइरहेको छ,” उनले भने । काठमाडौँ महानगरपालिका–२६ अन्तर्गत ठमेल, लैनचौर, गल्कोपाखा, सामाखुसी, म्हैपी, नयाँबसपार्क, रानीबारी, कपुराधालगायत क्षेत्र पर्दछन् ।