तनहुँ: स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ । अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो ।
नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र छ गाउँपालिकामा पालिकास्तरीय सुझाव सङ्कलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । “गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव सङ्कलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ ।
पालिकास्तरमा बैठक राखेर सुझाव सङ्कलन गर्छौ ।” कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन् । बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादी केन्द्रका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की लगायतको सहभागिता थियो ।
माओवादीद्वारा उम्मेदवार छनौट स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी म्याग्दे कमिटीले उम्मेदवार सिफारिस गरेको छ । माओवादीले अध्यक्ष, उपाध्यक्ष र सबै वडा कमिटीमा सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो । गाउँपालिकाको अध्यक्षमा दिलीपकुमार श्रेष्ठ र उपाध्यक्षमा जमुना अधिकारी सिफारिस भए ।
यस्तै वडा नम्बर १ मा टेकबहादुर रसाइली, २ मा तिलक थापा, ३ मा शोभाकर दाहाल, ४ मा राजु राना, ५ मा विशाल विक, ६ मा प्रकाश भण्डारी र ७ मा बालकृष्ण श्रेष्ठ सिफारिस भएका छन् ।