काठमाडौं : बुधबार बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजबाट एक पोस्टर सार्वजनिक भयो । जुन, पोस्टरमा अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो छ ।
क्याप्सनमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निशुल्क बिजुलीको’ लेखिएको छ । त्यसकै तल ह्याजट्याग गरेर #VoteForCPNMaoist लेखिएको छ । अर्थात् नेकपा माओवादीलाई भोट गर्नुहोस् । अनि, पोस्टर सार्जजनिक गरिएको हो ।
पोस्टरमा लेखिएको छ – ‘अँध्यारोबाट उज्यालोको यात्रा’ । यसको आशय भनेको – ‘देशमा लोडसेडिङ अन्त्य माओवादीले नै गरेको हो अब जनतलाई निःशुल्क बिजुली पनि माओवादीले नै दिन्छ त्यसका लागि आगामी निर्वाचनमा माओवादीलाई भोट दिनुहोस् ।’
जनार्दन शर्मा उर्जामन्त्री भएको बेला कुलमान घिसिङलाई विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो । फलस्वरुप १२ घण्टासम्म हुने लोडसेडिङ अन्त्य भयो । उनको पहिलो चारवर्षे कार्यकाल सकिएपछि फेरि उनलाई नै ल्याउन जनस्तरको माग बढ्दो थियो ।
तर, तत्कालिन सरकार नेकपा एमाले नेतृत्वको भएका कारण घिसिङलाई ल्याइएन । त्यतिबेला प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भए । यद्यपी सडकमा घिसिङलाई ल्याउन, शाक्यलाई हटाउन नाराबाजी नै भयो । त्यति हुँदा पनि शाक्य हटेनन ।
पछि आएर ओली नेतृत्वको सरकार ढल्यो । अर्को गठनबन्धन नेतृत्वको सरकार गठन भयो । सरकारको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा भए । उर्जामन्त्री माओवादी केन्द्रबाट पम्फा भुसाल भइन् ।
फेरि शाक्यलाई आउट गरेर प्राधिकरणको निर्देशकमा पुनः कुलमान घिसिङ नियुक्त भए । काम सुरु गरे । पहिलो कार्यकालबाट चर्चा कमाएका कुलमानको दोस्रो कार्यकाल कस्तो रहन्छ ? हेर्न बाँकी नै छ ।
लोडसेडिङ अन्त्य गराएर चर्चामा रहेका घिसिङको फोटो पोस्टरमा राखेर माओवादीले चुनावी नारा बनाएको छ । पहिलो कुरा यो निर्वाचन आचारसंहिता विपरित छ । कि कुनै पनि कर्मचारी राजनीतिक दलको प्रचारप्रसारमा संलग्न पाइँदैन ।
तर, माओवादीले निर्देशक कुलमानको फोटो राखेर माओवादी केन्द्रलाई भोट गर्नुहोस् भनेको छ ।
कुलमानकै फोटो राखेर माओवादीलाई भोट माग्नुपर्ने त्यस्तो के बाध्यता आयो ? के माओवादीसँग अरु नारा छैनन ? माओवादी अजेन्डाविहीन भएको हो ? एउटा कर्मचारीको फोटोमाथि राजनीति सुरु गर्यो भनेर टीकाटिप्पणी भइरहेको छ ।
माओवादी जनयुद्धको मुद्दा र चित्कार उस्तै छ । गाउँको दर्द उस्तै छ । विभिन्न जिल्लामा स्वास्थ्यदेखि पूर्वाधारसम्म विकास भएको छैन । लाखौँ युवाहरु विशेशिएका छन् । दुर्गमका विद्युतको पहुँच छैन ।
यिनै हुन् जनताका साझा समस्या । जनताले अहिले गाउँमै उपचार खोजिरहेका छन् । खानेपानी खोजिहेका छन् । रोजगार खोजिरहेका छन् । बाटोदेखि विद्युतसम्म खोजिरहेका छन् ।
यसलाई ध्यानमा राखेर समाधानतर्फका नारा गर्नुछैन । एउटा कर्मचारीको फोटो राखेर भोट माग्ने अवस्थासम्म पुगेको छ माओवादी ।
माओवादीलाई यो अवस्थासम्म पुर्याउने हर्ताकर्ताले एक पटक सोच्न जरुरी देखिन्छ । कि ! कुलमान घिसिङलाई अहिले पनि कर्णालीवासीले चिन्दैनन । कर्णालीको विद्युतीय समस्या उस्तै छ ।
केही महिनाअघि सांसद तथा माओवादी केन्द्रका नेता गजेन्द्र बहादुर महतसहित जुम्लाका स्थानीय प्राधिकरण कार्यालयमा पुगेर कर्णालीलाई बत्ती दिनुहोस् भनेका बाजागाजा गरेको पनि छन् ।
समस्याको सामाधानतर्फ गतिला अजेन्डा बनाउन छोडेर माओवादीले एउटा कर्मचारीको पोस्टरमाथि राजनीति सुरु गरेर आफ्नो धज्जी आफै उडाउने गरेको छ ।
फोटो राखेको चारैतिर टीकाटिप्पणी भएपछि ‘प्रचण्ड’को आधिकारिक फेसबुक पेजमा त्यस्तै अर्को पोस्टर राखेर अर्थमन्त्री जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइएको छ ।