खलंगा : मालपोत कार्यालय जुम्लाको सेवा सुधार हुँदै गएको छ । इन्टरनेट नहुने, जनशक्ति र उपकरण अभाव झेल्दै आएको जुम्ला मालपोत कार्यालय जुम्लाले पछिल्लो समय सेवा दिन सुधार गरेको हो । यसअघि सेवा ढिलोसँगै स्थानीयले मालपोतमा सास्ती खेप्दै आएका थिए । तर, अहिले जुम्ला मालपोतले सेवामा सुधार ल्याउने अभ्यास गरेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको पत्र अनुसार, बुधबार मालपोत कार्यालय जुम्ला, नापी कार्यालयले लिखित रजिष्ट्रेशन पारित भएको एक सय वर्ष पुगेको अवसरमा सरोकारवाला निकायबीच छलफलमा मालपोतका निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले चालु आर्थिक वर्षको हालसम्म भएका लिखत राजीनामा लगायतका आफ्नो कार्यलयले गरेका क्रियाकलापबारे जानकारी गराएका थिए ।
प्रमुख रोकायाले दलित ,अपांगता भएका व्यक्ति र महिलाका नाममा जग्गा पास गर्दा राज्यले नै छुटदिने व्यवस्था गरेको बताए । उनले भने – ‘यस वर्ष २ सय ६३ जना महिलाका नाममा जग्गा पास भएको छ । दलित ४५ र अपांगता भएका एक, एक वृद्धका नाममा पास भएको छ । उहाँहरुलाई लाग्ने खर्च केही छुट गएिको छ ।’
मालपोत कार्यालयमा उठेको राजस्व ५० प्रतिशत प्रदेश र ४० प्रतिशत सम्बन्धित स्थानीय तहमा जाने गरेको बताए । उनले भने – ‘‘चालु आर्थिक वर्षको २०७८÷२०७९को चैतसम्म १ करोड , ५१ लाख ७२ हजार ९सय ५४ रुपैयाँको राजस्व उठेको छ ।
मालपोतमा २ सय २७ मुद्दा
मालमोत कार्यालय जुम्ला नामसारीका लागि १ सय १३ मुद्दा परेको प्रमुख रोकायाले बताए । जसमा ९० वटा फर्छोट भएका छन् । यस्तै मोठ कायममा ७३ वटा ,लालपुर्जा सम्बन्धि ६ वटा, घर कायम ९ वटा, दाखिला, १६ वटा अदालतको दाखिला, ८ वटा, बैंकको लिलाम सम्बन्धी १, हक सफा १ वटा मुद्दा गरी २ सय २७ वटा मुद्दा परोको रोकायले जानकारी दिए ।
यस्तै कार्यालयमा इन्टरनेटको समस्या समाधानको लागि नेपाल टेलिकमबाट लिज–लाइन जडान गरिएको छ । हाल कार्यालयमा नायब सुब्बा ३, खरिदार ३, सलेपा १, कम्प्युटरमा ३ जना र कार्यालय सहयोगी ४ जना गरी जम्मा १४ जना जनशक्ति रहेको छ । त्यसैले पनि सेवा प्रवाहमा सहज भएको उनको भनाइ छ ।
सिञ्जा गाउँपालिका र कनकासुन्दरीले मालपोतको काममा सहजता गर्नको लागि एक जना कम्प्यूटर अप्रेटर पठाएकाले झनै सहज भएको उनले जानकारी दिए ।
तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले तातोपानीको तर्फबाट मालपोतको काममा सहजता गर्नको लागि एक जना कम्प्युटर अप्प्रेटर तत्काल पठाउने जानकारी दिए ।