सुर्खेत : २०५२ सालमा तत्कालीन मध्यपश्चिम अर्थात कर्णालीकै जिल्ला भनिने रोल्पाको होलेरीबाट नेपालमा नयाँ संविधान, संघीयता र गणतन्त्र ल्याउने उद्घोष गरेको माओवादीले जनयुद्ध थाल्यो ।
माओवादी अध्यक्ष प्रचण्डकै शब्दमा परिवर्तनका लागि गरेको जनयुद्ध अर्थात सशस्त्र द्वन्द्वले नेपालमा २४० वर्षे राजतन्त्र बिदाई गर्नमा ऐतिहासिक बल दिएकै हो । जसको नेतृत्व प्रचण्डले होइन, तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसादा कोइरालाले गरेका थिए । प्रचण्डले विद्रोहको नेतृत्व गर्दा माओवादीलाई शान्ति वार्तामा ल्याएर उसका सबै एजेन्डा स्थापित गर्ने कामको नेतृत्व गिरिजाले गरिदिएका हुन् ।
जसबाट नेपालमा गणतन्त्र, संघीयता र नयाँ संविधान ल्याउन गिरिजाले ऐतिहासिक नेतृत्वदायी भूमिका खेलेका थिए । प्रचण्डकै शब्दमा उनी स्वयंम राष्ट्रका अभिभावक थिए । जो नयाँ संविधान बनेको हेर्न नपाई स्वर्गीय भए ।
राजनीतिमा सहमति, सहकार्य र एक अर्काको अस्तित्व स्वीकार्ने संस्कारको शुरुवात कम्तीमा आधुनिक समयमा गिरिजाबाट भएको थियो । जसको व्यापक चर्चा प्रचण्ड आफैँ गर्छन् । हिजो जुन भूमिकामा गिरिजा थिए, आज राष्ट्रिय राजनीतिका एक्ला चतुर खेलाडीका रुपमा प्रचण्ड चिनिन्छन् । भलै प्रचण्ड बोलीमा अडिग रहँदैनन् । सहमति पुरा मान्दैनन् । सत्ता र स्वार्थका लागि प्रचण्ड बीचैमा धोका दिन्छन् । राष्ट्रिय राजनीतिका विभिन्न घटनाक्रमले त्यसलाई पुष्टि गर्छ ।
तर ठीक विपरित कर्णालीमा ऐतिहासिक प्रदेश र प्रदेशको पहिलो नेतृत्व पाएको माओवादीले भने सहमतीय संस्कारलाई स्थापित गरिदिएको छ । कर्णाली प्रदेशका पहिलो ऐतिहासिक मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकार ढल्ने निश्चित भएपछि पूर्व सहमतिअनुसार २०७८ कात्तिक १५ गते नै कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई मुख्यमन्त्रीको जिम्मेवारी सुम्पिने गरि राजीनामा दिएका थिए ।
उनले आफ्नो साढे तीन वर्षको कार्यकाल समीक्षा गर्दै गर्दा सहमति संस्कारलाई आत्मसात गरेर नेतृत्व हस्तान्तरण गर्न पाउँदा खुशी रहेको प्रतिक्रिया दिएका थिए । कर्णालीमा कांग्रेसको एक सिटमा हुम्लाबाट निर्वाचित जीवन शाही नयाँ मुख्यमन्त्री बन्दा माओवादी, एमालेबाट फुटेर बनेको नेकपा एकिकृत समाजवादी र कांग्रेस स्वयंम सरकारमा छन् । सबैभन्दा बढी बहुमत ल्याएर पनि सरकारको नेतृत्व गर्न नसकेको एमाले प्रतिपक्षमा खुम्चिएको छ ।
भलै यसबीच आफ्नो नेतृत्वको सरकार बचाउन पहिलो मुख्यमन्त्री शाहीकै पालामा कर्णालीमा पहिलोपटक ‘फ्लोर क्रस’ भयो । कर्णालीमा फ्लोर क्रस हुँदा एमाले फुट्यो । कर्णालीमा तत्कालीन एमालेका सांसद प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले २०७८ बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन ‘फ्लोर क्रस’ गरेका थिए । त्यसको भोलिपल्ट उनीहरुमध्ये प्रकाश ज्वालाबाहेक मन्त्री बने । यसरी फ्लोर क्रस गरेर पनि कर्णालीले राष्ट्रिय राजनीतिको ‘कोर्स करेक्सन’ गरेको थियो ।
जहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गर्दा त्यसको विपक्षमा उभिएका नेकपाकै प्रचण्ड, माधव नेपाल, कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय राजनीतिमा गठबन्धन गरेका थिए । पछि सर्वोच्चको परमादेशबाट देउवा प्रधानमन्त्री बन्दा माओवादी र एमाले फुटाएर नेकपा एकिकृत समाजवादी पार्टी खोलेका माधव नेपाल पनि सरकारमा सहभागि बने । अहिले पनि बनिरहेकै छन् । जुन गठबन्धनले एमसीसी पास गर्ने मात्रै होइन, स्थानीय तहको निर्वाचनसम्म गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरेको छ । जसको सुरुवात कर्णालीबाट भएको थियो ।
त्यति मात्रै होइन, नेपालको प्रदेश सरकारमा पहिलो पटक कर्णालीमै मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पनि दर्ता भएको थियो । तत्कालीन नेकपामै हुँदा यामलाल कँडेलले माओवादी निकट सांसद्हरुको समेत हस्ताक्षर गराएर मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । जुन पछि आफैँ तुहिएको थियो । संसद्मा टेबल हुन समेत सकेन ।
वर्ष २०७८ ले कर्णालीमा देखिएका धेरै परिदृश्य राष्ट्रिय राजनीतिमा पनि लागू भयो । राजनीतिक रुपमा मुख्य दलका नेताहरुलाई एक ठाउँमा उभ्यायो । एमालेलाई एक्ल्यायो । ओलीले सत्ताको बचाउका लागि संसद् विघटन गर्दा सिंगो पार्टीका लागि महंगो परिदियो । सातै प्रदेशमा एमाले सरकारबाट बाहिरियो । कर्णालीमा पनि बाहिरियो ।
कर्णालीमा झण्डै सरकारको नेतृत्वमा पुग्न लागेको एमाले ओलीकै दम्भको प्रभावले गर्दा फुत्कियो । एमालेका लागि वर्ष २०७८ प्रत्युत्पादक रहेपनि कांग्रेस, माओवादी र नेकपा समाजवादीका लागि फलदायी रह्यो । जसको सुरुवात कर्णालीबाट भएको थियो ।
हिजोसम्म कर्णाली शासन थोपरिने क्षेत्रका रुपमा परिचित थियो, तर आज राष्ट्रिय राजनीतिको पूर्वभ्यास हुने थलोका रुपमा चिनिन थालेको छ । भलै यो कच्चा र अस्थित राजनीतिको कुटिल खेल हो । तर विस्तारै पात्र र प्रवृत्ति सुधार भएमा कर्णालीले सबैलाई शासन र सुशासन दिने विश्वास गर्न सकिन्छ ।