सुर्खेत : कर्णाली भनेकै भेरी र कर्णाली नदीको पेरिफेरि हो । यी दुई नदीले कर्णालीका सायदै जिल्ला नछोएको होला । कतै भेरि त कतै कर्णाली नदी कर्णालीको परिचय हो । अभाव हो । गरिबी हो । समस्या हो । भोकमरी हो । धेरै धेरै समस्याको भीमकाय पहाड पनि कर्णाली नदी हो ।
त्यही कर्णाली नदीमा राज्यमन्त्री भएका बेला तप्त बिष्टले चार वटा पक्की पुल बनाए । जामु–तातोपानी, कुइने–घाटगाउँ, कुइने–सोल्टा र घाटगाउँ–सोल्टामा तप्त बिष्टले चार वटा पक्की पुल हाले । उनी सुर्खेत क्षेत्र नं. ३ बाट निर्वाचित संविधानसभा सदस्य पनि हुन् । २०७० सालमा उनले चुनाव जित्दा विकासको आश कमैले गरेका थिए ।
तर उनले आफ्नो कार्यकालमा चार वटै पुल हालेरै प्रमाणित गरिदिए । त्यसमध्ये घाटगाउँ र जामुको पुल उनी आफैले उद्घाटन समेत गरे । उनकै घर नजिकैबाट निर्माणाधीन आर्कब्रिज र सोल्टाको पुल भने उनले उद्घाटन गर्न पाएनन् ।
सञ्चार राज्यमन्त्री भएका बेला उनले पश्चिम सुर्खेतको सञ्चार समस्या पनि निराकरण गरेर चौबिसै घण्टा फोन लाग्ने बनाए । बाटोको समस्या पनि उनले केही हदसम्म हल गर्दै गएका थिए । पश्चिम सुर्खेतको कायापलट गरिरहेका बेला उनलाई २०७८ जेठमा कोरोना महामारीले छोयो ।
सुर्खेतमा भाइरसले संक्रमण हुँदा उनी सञ्चो भइहाल्ने सोचेका थिए । जटिल भएपछि उनलाई प्रदेश अस्पताल कालागाउँमा भर्ना गरियो । तर त्यहाँ अवस्था सुधार भएन । झन् जटिल बन्यो । उनलाई एयर एम्बुलेन्स भएको हेलिकोप्टरमा राखेर काठमाडौँ लगियो ।
मेडिसिटी अस्पताल भर्ना गरियो । मेडिसिटीमा उपचारकै क्रममा उनको मृत्यु भयो । यो खबर धेरैले पत्याएका थिएनन् । तर उनको मृत शरिर सुर्खेत पनि ल्याउन नपाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएपछि धेरैलाई नपत्याई सुखै भएन । असारमा उनको मृत्यु हुँदा नेपाली कांग्रेस सुर्खेत जिल्लाका धेरै नेता कार्यकर्ता स्तब्ध बनेका थिए । हक्की स्वभावका उनी विकास चाहन्थे । विकास खोज्थे । तर उनको त्यो गति भने बीचैमा रोकियो ।
सुर्खेतमा २२ वर्ष जिल्ला सभापतिको नेतृत्व हाँकेका उनी एकै वर्ष संघीय सरकारमा पुग्दा पश्चिम सुर्खेतको विकासमा कायापलट गर्ने गरि विकासको जग हालेका थिए । तर उनको निधनले पश्चिम सुर्खेतका जनताले विकासको मियो हराएको महसुस गरेका छन् ।
यस्तै गएको वर्ष सुर्खेतले गुमाएको अर्को होनहार हस्ति हुन्, डा.हरि सापकोटा । कोरोना संक्रमित बिरामीको उपचारमै आफूलाई समर्पित गरेका डा.सापकोटाको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको थियो ।
सापकोटा कर्णालीका बिरामीको उपचारमा परिचित नाम थियो । उनले थुप्रैको ज्यान बचाएका थिए । धेरैको उपचार गरेका थिए । तर कोरोना महामारीमा उनका सहकर्मी डाक्टरले उनको ज्यान बचाउन सकेनन् । उनको अन्त्येष्टिमा सुर्खेत प्रदेश अस्पतालका डाक्टर तथा नर्सलाई सम्हालिन गाह्रो परेको थियो ।
डा. सापकोटाको सम्झनामा सुर्खेतमा सालिक निर्माण गरिएको छ। अस्पताल प्रशासनले डा. सापकोटाको नामबाट अर्थोपेडिक वार्डको नामाकरण गरेको छ। तीन दशकसम्म कर्णालीमा सेवा गरेका डा. सापकोटाको २०७८ असोज १५ गते उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको थियो ।
पश्चिम सुर्खेतका दुई नदी भेरी र कर्णालीका जनताको जञ्जीर तोड्ने गरि पक्की पुल हालेर विकास गरेका नेता तप्त बिष्ट र कर्णालीको जनताको ज्यान बचाउने डा.हरि सापकोटा सँधै सँधै बाच्नुपर्ने थियो । जो अझै धेरै बाँच्नुपथ्र्यो भएपनि कोभिड महामारीले सम्झनामा सीमित भएर गए । वर्ष २०७८ मा कर्णालीले दुई होनहार व्यक्ति गुमाउँदा उनीहरुको क्षति वर्षौसम्म पूरा हुन असम्भव छ ।