सुर्खेत : आफैँमा एउटा ब्राण्डेड नाम बोकेको कर्णाली अटल छ । अविराम छ । अविरल छ । जहाँ वर्षेनी नयाँ वर्ष आइरहन्छ । गइरहन्छ । जसरी कर्णालीको पानी बगिरहन्छ । गंगा हुँदै समुन्द्रमा मिसिरहन्छ । त्यसरी नै समयको गतिमा कर्णाली हिँडिरहन्छ । हिँडिरहेकै छ ।
तर कर्णालीको विकास गर्ने नयाँ सोच अहिले पनि उत्पादन हुन सकेको छैन । बजारमा किन्न र बेच्न मिल्ने सोच अझै तयार पार्ने ‘थिंक ट्यांक’ निर्माण भइसकेको छैन । यदि कही कतैँ भएको छ भने त्यो राजनीतिक दलको चुनाव केन्द्रित भर्ती केन्द्रमा सीमित छ ।
निकै थोरै नेताले कर्णाली विकास गर्ने प्रतिबद्धता मुटुमा राखेका छन् । दिमागमा नक्सा बनाएका छन् । उनीहरुको दिमागी नक्सा कर्णालीको माटोमा उभिन सक्ने वातावरण धेरै वर्षसम्म पनि तयार हुने छैन । किनकी कर्णालीको सबथोक परिवर्तन गर्न पहिला सोच परिवर्तन गर्नुपर्छ, त्यो सुर्खेत होस् वा काठमाडौँको सोच परिवर्तन हुन आवश्यक छ ।
कर्णालीलाई हेर्ने काठमाडौँको सोच पुरानै छ । रुढीवादी छ । विभेदकारी छ । अनि सुर्खेत कर्णाली प्रदेशको राजधानी भएपनि काठमाडौँसँग विकासका लागि लड्ने लडाई स्वार्थकेन्द्रित छ ।
सुर्खेत आफैँले कर्णाली बनाउन सक्छ । काठमाडौँको मुख ताक्नु पर्दैन । यदि कर्णालीको राजधानी सुर्खेत हो भन्ने दिमागी चेतना जिउँदै छ भने हुम्ला, मुगु र डोल्पाको विकटता देखेर तर्सिने होइन । असम्भव देख्ने होइन । त्यहाँको सम्भावनालाई हेरेर त्यहीँ माटोमा पैँसा फलाउने सम्भावना उजागर गर्नुपर्छ ।
त्यसको लागि कोही विज्ञ विदेशबाट खरिद गर्नुपर्दैन । जहाज र पानी जहाज चढाएर कसैलाई काठमाडौँ ओराल्नुपर्दैन । सुर्खेतकै बड्डीचौरमा रहेका जनज्योती उच्च माध्यामिक विद्यालयका शिक्षक नारायण सिग्देलले कर्णालीको माटोमा सुन फलाउन सक्ने आधुनिक र प्राविधिक ज्ञान बाड्न सक्छन् ।
उनी कर्णालीबासीसामू पूरा सिद्धान्त राखिदिन सक्छन् । सुर्खेतदेखि जुम्ला हुम्लासम्मका नागरिकलाई घरमै बसेर लाखौँ आम्दानी गर्न सक्ने बाटो देखाइदिन सक्छन् । स्कुल पढ्ने नानीलाई झोलामा किताब मात्रै होइन, पैँसा बोक्ने पर्स पनि बनाउनुपर्ने सीप सिकाउन सक्छन् ।
जसको ‘पढ्दै कमाउँदै’ कार्यक्रम अहिले देशभरका विभिन्न १४० विद्यालयमा लागू भइरहेको छ । जुन ज्ञान र सिद्धान्त उनी देशभर बाँडिरहेका छन्, त्यही प्राविधिक ज्ञान कर्णाली स्वयंमले आत्मसात गर्न सकेको छैन । कर्णालीको सबैभन्दा ठूलो बिडम्बना नै यही हो ।
उनी त एक प्रतिनिधि पात्र मात्रै हुन्, कर्णालीमा सबथोक सम्भव पार्ने धेरै जना विज्ञ छन् । विशेषज्ञ छन् । राजनीतिको फोहोरी र दोषी चश्माले हेर्न छाड्ने हो भने कर्णालीका सबै मानिस पौरखी छन् । सिर्जनशील छन् । सर्जक छन् । मेहनती छन् । सबै फरक छन् । मात्रै उनीहरुको सीप, क्षमता र सिर्जनशीलतालाई बुझेर सबैतिर सकारात्मक सन्देश फैलाउँदै हिड्ने उत्पादक नारायण सिग्देल जस्ता शिक्षाप्रेमीलाई बुझ्ने मानिस चाहियो ।
हामी कर्णाली बनाउन पुरानो सोच र शैलीले सक्दैनौँ । सिँजा राज्य जोगाउन नसकेको कर्णालीले त्यही सोचबाट त्यसको उत्खनन् गर्न सक्दैन । त्यो सभ्यता जोगाउन सक्दैन । यसका लागि नयाँ सोच चाहिन्छ । नयाँ संकल्प चाहिन्छ । जुन सोच केवल नेताहरुको चुनावी भाषणजस्तो होइन, हरेक दिन गरिने कामको निखारता र निरन्तरताबाट मात्रै कर्णाली बनाउन सकिन्छ ।
भौतिक पुर्वाधार निर्माण गर्न सकिन्छ । सोच र शैली बदल्न सकिन्छ । राम्रो गरिरहेकाहरुलाई प्रोत्साहन गरेर थप राम्रो काम गर्न सकिन्छ । प्रोत्साहन गर्न सकिन्छ । राम्रो गर्नेहरुले जमात बढ्दै गयो भने नराम्रो गर्ने, सोच्ने सबै पाखा लाग्दै जान्छन् ।
नयाँ संविधान र संघीयताले कर्णाली विकासको जग हालिसकेको छ । स्थानीय तहले त्यो जग बलियो बनाइसकेको छ । भलै सबै स्थानीय तहका जनप्रतिनिधिको काम सन्तोषजनक नहोला । तर पाँच वर्ष धेरै जनप्रतिनिधिका काम उदाहरणीय छन् ।
उनीहरुका कुरा सुन्न जरुरी छ । उनीहरुका काम हेर्न जरुरी छ । उनीहरुका कामको मूल्यांकन गर्न जरुरी छ । सबै नराम्रा काम नराम्रो दृष्टिकोणले होइन, राम्रो दृष्टिकोणले हेर्न आवश्यक छ । अब कर्णालीमा हरेक सम्भावनालाई आँखामा चश्मा लगाएर होइन, दिमागमा सकारात्मक सोच र विकासशील दृष्टिकोण राखेर हेर्न आवश्यक छ । यहाँ बिग्रियो भत्कियो भनेर होइन, नयाँ बनाउनका लागि पुरानो भत्काइएको हो । नयाँ जग हालिएको हो भनेर बुझ्न आवश्यक छ ।
कर्णालीको अशिक्षा, गरिबी र भोकमरीको फाइदा उठाएर आफ्नो र संस्थागत स्वार्थ हेरेर होइन, भविष्यको लागि आफ्ना कामको आफैँ लेखापरीक्षण गरेर थप कदम चाल्न आवश्यक छ । अहिले विदेशी पैँसा खन्याइएको कर्णालीमा किन केही कुरा उत्पादन हुन सकेन ।
त्यो सबै अध्ययनका लागि मात्रै खर्च भएको थियो वा स्वार्थपूर्ति गर्ने एनजीओ र आइएनजीओकेन्द्रित मौसमी कार्यक्रम थियो । अब यस किसीमका दुष्टिकोण आम नागरिकसमक्ष ल्याउन ढिलाई गर्न हुँदैन ।
हरेक वर्ष आउँछ, जान्छ । यो वर्ष पनि आयो । अर्को वर्ष आउँदासम्म यो वर्ष जान्छ । तर यो एक वर्ष अर्थात ३६० दिनमा के गर्नुपर्छ ? कसले कहाँ कहाँ काम गर्नुपर्छ ? त्यहाँ भएका निकायले गरेका कामको हिसाबकिताब राखेको खण्डमा मात्रै पनि धेरै विकास हुन सक्छ । त्यसका लागि अब हरेक वर्ष संकल्प गर्नुपर्छ ।
नयाँ सोच लिएर कर्णाली समृद्ध बनाउने संकल्प गरेपछि कर्णालीकै जनताले कर्णाली बनाउँछन् । कर्णालीका विकास गर्न कुनै दाताको बजेट चाहिँदैन । कुनै नेताको भाषण चाहिँदैन । कुनै विश्वविद्यालयको सिद्धान्त चाहिँदैन । बस् हाम्रा प्रयास सकारात्मक र इमान्दार हुनुपर्छ ।
कम्तीमा कर्णाली समृद्ध बनाउने हाम्रो सोच र संकल्प इमान्दार बनोस् । नयाँ वर्ष सबै कर्णालीबासीका लागि फलदायी रहोस् । समृद्ध कर्णाली बनाउने सपना देख्ने सबै कर्णालीबासीलाई नयाँ वर्षको शुभकामना । अब कर्णाली समृद्ध बनाउने संकल्प गरौँ ।