सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले प्रथम पञ्चवर्षीय योजनाको कार्यक्रम र नतिजा खाकाबारे सम्बन्धित मन्त्रालय तथा सरोकारवाला विज्ञहरुबाट सुझाव लिइरहेको छ । आयोगले हरेक दिन भर्चुअल बैठकबाट सुझाव लिँदै आएको हो ।
आयोगको यसअघि प्रकाशित आधारपत्रमा पञ्चवर्षीय योजनाको विषयगत पृष्ठभूमि, प्रमुख समस्या, चुनौती तथा अवसर र सोच, लक्ष्य, उद्देश्य, रणनीति तथा कार्यनीति ल्याइएको थियो ।
यसको विस्तृतीकरणमा कार्यक्रम तथा नतिजा खाका प्रस्तुत गरिएको कर्णाली प्रदेश योजना आयोगका कार्यवाहक उपाध्यक्ष डा दीपेन्द्र रोकायाले जानकारी दिए । सुझाव सङ्कलन बैठकमा आयोगका कार्यवाहक उपाध्यक्ष डा रोकायाले विषयगत कार्यक्रम, कार्यक्रम अवधि, कुल अनुमानित लागत, अपेक्षित उपलब्धि र नतिजा खाकाका सूचकहरु प्रस्तुत गर्ने र त्यसैका आधारमा विज्ञहरुबाट सुझाव लिँदै आएको बताए।
प्रत्येक दिन सञ्चालन हुने बैठकमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा आयोगका अध्यक्ष महेन्द्रबहादुर शाही, सम्बन्धित मन्त्रालयका मन्त्री, योजना आयोगका पदाधिकारीहरु, सम्बन्धित मन्त्रालयका सचिव, विज्ञ समूह र योजना महाशाखा प्रमुख सहभागी हुने गरेको कार्यवाहक उपाध्यक्ष डा रोकायाले जानकारी दिए ।
बैठकबाट आएका सुझावलाई समावेश गरी परिमार्जन गरेर कर्णाली प्रदेशसभाका विषयगत समितिसँग छलफल गर्ने र प्राप्त सुझावलाई समावेश गरेर कर्णाली प्रदेशको पञ्चवर्षीय योजना प्रकाशन गरिने उनले बताए । यही भदौ २१ गतेदेखि शुरु गरिएको बैठक भदौ २७ गतेसम्म सञ्चालन हुने आयोगले जनाएको छ ।